२५ असार, मेचीनगर : झापा जिल्ला बाह्रदशी गाउँपालिका—१ खैरबारीमा बुधबार अपरान्ह भएको सवारी दुघर्टनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ३ः४० बजेको समयमा झापा जिल्ला बाह्रदशी गाउँपालिका —११ खैरबारी स्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ ए जेट ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशावाट आउदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुघर्टना भएको थियो ।
दुघर्टनामा घाइते भएका सवैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको थियो । उपचारका क्रममा ४ः४० बजे मोटरसाइकल र स्कुटर चालक दुवैको मृत्यू भएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका — ३ बस्ने ६० वर्षीय श्रीप्रसाद राजबशी रहेका छन् । अर्काे मोटरसाइकलका मृतक चालकको नाम वतन नखुलेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा कचनकवल गाउँपालिका —३ बस्ने २७ वर्षीया उर्मिला राजवंशी मृतक राजवंशीको बुहारी र सोहि ठाउँका ३ वर्षीय आयुष राजवंशी रहेको प्रहरीको भनाई छ । दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा पठाइएको छ । दुबै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा छन् ।
