२२ असार, विर्तामोड : यसवर्षको ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट अम्बिका भण्डारी सम्मानित भएकीछन् । नारी सञ्चारगृह युवा पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी चिरञ्जीवी घिमिरेलाई प्रदान गरिएको छ । नारी सञ्चार गृहद्वारा स्थापित पुरस्कार पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा प्रदान गरिएको हो । निर्वाचित समितिको नाम संस्थाका संस्थापक अध्यक्ष एवम् निर्वाचन समिति संयोजक सावित्रा दाहालले घोषणा गरेकी थिइन् ।

‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारको राशी नगद १ लाख रुपैयाँ र नारी सञ्चारगृह युवा पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार रुपैयाँसहित सम्मान पत्र रहेको छ । पुरस्कृत तथा सम्मानित दुवै व्यक्तित्वहरुको जीवनीमाथि संस्थाका पूर्व अध्यक्ष भीमा शिवाकोटीले प्रकाश पारेकी थिइन् ।

राष्ट्रिय समाचार समिति (रासस)की झापा जिल्ला संवाददाता, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष भण्डारी र नयाँ पत्रिकाका संवाददाता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका निवर्तमान कार्यसमिति सदस्य घिमिरेलाई आइतबार झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगदसहित सम्मानपत्र प्रदान गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष केशव आचार्य देशसञ्चारमा कार्यरत पत्रकार उमाकान्त खनाललगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईं, नेपाल पत्रकार महासंघ झापा शाखाक अध्यक्ष एकराज गिरी, सम्मानित तथा पुरस्कृतहरुकातर्फबाट अम्बिका भण्डारीलगायतले बोलेका थिए ।

नारी सञ्चारगृह झापा जिल्लामा सक्रिय पत्रकारितामा संलग्न महिला सञ्चारकर्मीको संगठित संस्थाका रूपमा स्थापना भएर काम गर्दै आएको छ । संस्थाले महिला नेतृत्व, समावेशीता र सामाजिक न्यायमा आधारित पत्रकारिताको प्रवद्र्धन तथा पत्रकारको हकहितका पक्षमा गर्दै आइरहेको छ । संस्थाको हाल ५२ लाख ३० हजार रुपैयाँ अक्षय कोष सञ्चालनमा रहेको छ ।

नारी सञ्चारगृहकी अध्यक्ष रेजिना रोदनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मायामितु न्यौपानेले र सहभागी सवैलाई सहसचिव जोस्ना श्रेष्ठ शब्दमार्फत स्वागत गरेकी थिइन् । कार्यक्रममा सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थयो ।

















