६ साउन, मेचीनगर : झापाको हल्दीवारी गाउँपालिका —४ ओली चोकमा मंगलबार विहान भएको आगलागीमा परी एउटै घरका चारजना घाइते भएका छन् । घरको भान्सा कोठामा मात्र आंशिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विहान ८ः४० बजे स्थानीय पुण्य प्रसाद ओलीको घरमा आगलागी भएको थियो ।
इटाले बनेको तीनतले पक्की घरको दोस्रो तल्लाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यासबाट अचानक आगो सल्कन गएर भान्सा कोठामा आगलागी हुँदा ६० वर्षीय पुण्यप्रसाद ओलीसहित उनका ३३ वर्षीय छोरा सन्तोष ओली , बुहारी ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका हुन् । । आगो निभाउने क्रममा घाईते उनीहरुको शरीरको विभिन्न भागमा पोलेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
उपचारको लागि तत्काल ओमसाई पाथीभारा अस्पताल भद्रपुर पठाइएकोमा थप उपचारको लागि बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोस्ट कञ्चनश्रीवाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा ९ः१५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको र थप अनुसन्धान भइरहेको छ ।