बागडोगरामा नेपाली कार भयानक दुर्घटना: बिर्तामोडका २५ वर्षीय युवा व्यवसायी अमित चौधरी गम्भीर घाइते, अवस्था चिन्ताजनक

मेचीनगर / सिलिगुडी । नेपाल-भारत सीमावर्ती क्षेत्र काँकरभिट्टाबाट करिब २३ किलोमिटर टाढा भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी नजिकै बागडोगरा क्षेत्रमा आज साँझ एक नेपाली कार भयानक दुर्घटनामा परेको छ। तीव्र गतिमा रहेको नेपाली नम्बर प्लेटको कार अनियन्त्रित भई दुर्घटना हुँदा झापाका एक युवा गम्भीर घाइते भएका छन् र उनको पहिचान खुलेको छ।

बिर्तामोडका अमित चौधरी गम्भीर घाइते दुर्घटनामा बाग्मती प्रदेश ०१ ०३२ च १६८० नम्बरको कारका चालक झापा बिर्तामोड-५ निवासी २५ वर्षीय अमित चौधरी गम्भीर घाइते भएका हुन्। उनी झापाका प्रतिष्ठित व्यवसायी भरत चौधरीका छोरा हुन्।

कार झण्डै दुई टुक्रा, अवस्था चिन्ताजनक आज साँझ करिब ५ बजे बागडोगरा क्षेत्रमा गुडिरहेको उक्त कार तीव्र गतिका कारण अचानक अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटना यति भीषण थियो कि कार बज्झिएर झण्डै दुई टुक्रा भएको छ। दुर्घटना लगत्तै स्थानीय बासिन्दा र भारतीय प्रहरीको सक्रियतामा घाइते अमितको तत्काल उद्धार गरिएको थियो।

उनलाई उपचारका लागि बागडोगरास्थित ग्यालेक्सी अस्पताल (Galaxy Hospital) मा भर्ना गरिएको छ। अस्पताल प्रशासनका अनुसार अमितको शरीरमा गम्भीर चोट लागेको र उनको अवस्था हाल चिन्ताजनक रहेको छ। घटनाको खबर पाउनासाथ घाइते अमितका बुबा भरत चौधरीसहित परिवारका अन्य सदस्यहरू झापाबाट बागडोगरा पुगिसकेका छन्। भारतीय प्रहरीले कार दुर्घटना हुनुको वास्तविक कारणबारे स्थलगत अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

Exit mobile version