६ साउन, मेचीनगर: झापाको मेचीनगर नगरपालिकाले मंगलबार विपद्का बारेमा सरोकारवालाहरुसँग छलफल गरेको छ । नगरकार्यकालिकाको बैठक कक्षमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको छलफल बाढी, पहिरोलगायत अन्य विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनिकरण, राहत र उद्धार कार्यलाई प्रभावकारी ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भन्नेमा केन्द्रीत थियो ।
मेचीनगर नगरपालिका नगरस्तरीय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम मेचीनगरमा गठित समितिको संयोजक समेत रहेका नगरप्रमुख बुढाथोकीले विपदको पूर्व तयारी, राहत, प्रतिकार्य र सहकार्यबारे विभिन्न महत्वपूर्ण विषयमा छलफल गरेको बताए ।
विगत वर्षझै यसवर्ष पनि मनसुनजन्य प्रकोपले ठूलो प्रभाव पार्ने भएकोले बाढी, पहिरो, डुबान, सडक अवरोध जस्ता सम्भावित घटनाका लागि दमकल, एम्बुलेन्स, स्काभेटर, डोजरलगायतका साधनहरू तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालय, संघ–संस्था र सरोकारवाला निकाय सकरातमक देखिएका छन् ।
सरकारी, गैरसरकारी तथा संघ–संस्था लगायत सबैलाई समन्वयमा रहेर सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न समेत बैठकले अनुरोध गरेको छ ।

साथै सम्भावित जोखिम नियन्त्रणका लागि तारजाली, बोरा, ह्यामपाइप लगायत तत्काल विपद्मा प्रयोग गरिने अत्य—आवश्यक सामग्रीहरु खरिद गरिने भएको छ । त्यसका लागि २०८१÷८२ को बजेटमा रकम विनियोजन भएको छ ।
विपद् व्यवस्थापन सम्पर्कव्यक्तिबीच ‘म्यासेज ग्रुप ’बनाई प्रभावकारी रुपमा सूचना आदान प्रदान गर्ने, विपद् सम्बन्धी हालसम्म भएका राहत वितरण अनुमोदन, विपद् व्यवस्थापन पूर्व तयारी सामग्री खरिद तयारी अवस्थामा राख्ने, विपद् व्यवस्थापन पूर्व तयारीका लागि सरोकारवाला निकायहरुसँग रहेका श्रोत, साधनको प्रयोग गर्ने, नगर क्षेत्रभित्र सम्भावित विपद् जोखिम क्षेत्र÷स्थानहरुको स्थलगत अनुगमन, निरीक्षण गर्ने, तत्काल विपद् व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली (आरआरटी) गठन लगायतका विषयमा छलफल भएको थियो ।
छलफलमा मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमला, वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हाद ओली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्की, सशस्त्र प्रहरी बल नेपाल प्रहरी सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रहरी निरीक्षक रोशन घिमिरे, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत रुपक काफ्ले, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेपाल रेडक्रस सोसाइटी मेचीनगरका सचिव सोमराज ढकाल, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, क्षेत्रिय होटल व्यवसायी संघ मेचीनगरका उपाध्यक्ष ध्रुब गिरीलगायतले विपद् व्यवस्थापनका लागि नगरपालिकासँग सहकार्य गरेर जाने बताएका थिए ।
मेचीनगरको १६ वटै वडामा सुरक्षाकर्मीसहितको २५ जनाको विपद् व्यवस्थापन समिति गठन समेत गरिएको छ ।
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका विषयमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले प्रकाश पारेका थिए

























