धुलावारी क्याम्पसको प्रमुखमा इञ्जिनियर मैनाली

९ साउन, मेचीनगर :  झापा मेचीनगर १० मा रहेको सामुदायिक धुलाबारी क्याम्पसको प्रमुखमा इञ्जिनियर रुद्र मैनाली नियुक्त भएका छन् । यसअघिका क्याम्पस प्रमुख पुष्पराज पौडेलले स्वेच्छिक राजीनामा दिएपछि सोही क्याम्पसको इञ्जिनियरिङ विभागका अध्यापक मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटको प्रिन्सिपल इञ्जिनियर मैनालीलाई क्याम्पस सञ्चालक समितिले यही साउन १ गतेदेखि क्याम्पस प्रमुख पदमा नियुक्ति गरेको हो ।

मेचीनगर–६ निवासी मैनाली रोटरी क्लब अफ काँकरभिट्टका पूर्व अध्यक्ष समेत हुन् । अत्यन्तै मिलनसार, मृदभाषी सुशील स्वभावका इञ्जिनियर मैनाली अन्तर्राष्ट्रिय रोटरी डिस्ट्रीक ३२९३ का सन् २०२५—२६ का असिस्टेन्ट गर्भनर समेत हुन् । रोटरी क्लब अफ इलाम, इटहरी, उर्लावारी र विर्तामोडको विविध जिम्मेवारी असिस्टेन्ट गर्भनर इञ्जिनियर मैनालीको काँधमा छ ।

नवनियुक्त क्याम्पस प्रमुख इञ्जिनियर मैनाली वि.सं. २०७१ मा सीटीइभीटी र मेचीनगर नगरपालिकाको साझेदारीमा इन्स्टिच्यूट सञ्चालनमा आएपछि त्यसको प्रिन्सिपल थिए । शुक्रबार क्याम्पस सञ्चालक समितिले पद हस्तान्तरण कार्यक्रमको आयोजना गरी पौडेललाई सम्मानसहित विदाई र मैनालीलाई स्वागत गरेको छ ।

विदाई हुनु भएका पौडेलले धुलाबारी क्याम्पसमा २७ वर्ष सेवा गरेर गर्नु २१ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

समितिका अध्यक्ष भीम खवासको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै समितिका संस्थापक उपाध्यक्ष राम कट्टेलले जीवनको उर्वर उमेर क्याम्पसको उन्नतिमा लगाएको पुष्प सर आदर्श व्यक्तित्व भएको बताए ।
‘बिगत २७ वर्ष लामो सहकार्यमा उहाँमा कहिल्यै निराश भएको पाइन,’ कट्टेले भने–‘समाजमा राम्रो सम्मान छ । राजनीतिमा गएर सांसद् र मंत्री बन्ने सम्भावना भएको व्यक्ति हो उहाँ ।’

उनले नवनियुक्त क्याम्पस प्रमुख मैनालीलाई क्याम्पस झन् हराभरा बनाउने जिम्मेवारी आएको बताउँदै प्राविधिक शिक्षा ल्याउन मैनालीले गरेको संघर्ष र मिहेनतको चर्चा गरे ।

अर्का वक्ता समितिका सदस्य विश्ेश्वरप्रसाद भट्टराईले २७ वर्षको अनुभव बोकेको निवर्तमान प्रमुख पुष्पराज पौडेलको क्याम्पसमै आवश्यकता रहेको बताए । उनले सञ्चालक समितिमा पौडेललाई आउन आग्रह गरे ।

निवर्तमान क्याम्पस प्रमुख पुष्पराज पौडेलले इतिहासको गौरव र संघर्षमय क्षणमा क्याम्पसको नेतृत्व गर्न पाएको स्मरण गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे ।

‘आदरणीय राम कट्टेल यही हुनुहुन्छ, उहाँले नै घरमा गएर मलाई क्याम्पसमा पढाउनु पर्छ भनेर दवाव दिनुभयो,’ २७ वर्ष अघिको स्मरणसहित विदाई मन्तब्य दिदै उनले भने–‘आएपछि मलाई क्याम्पस प्रमुख बनाइयो । पूर्वाञ्चल युनिभर्सिटीसँगको सम्बन्धनले मात्र हुँदैन भनेर मेरै पहलमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन जोडियो । पछि सीटीइभीटीसँग मिलेर ओभरसियर कक्षा सञ्चालन गरियो । अहिले स्नातक तहको इन्जिनियरिङ पढाई चालू गरियो ।’

उनले एउटा सम्मानजनक पहिचानयुक्त एवम् सबल क्याम्पस नयाँ प्रमुखलाई हस्तान्तरण गर्न पाउँदा आफु हर्षित रहेको जनाउँदै क्याम्पसको जग्गादाता स्व. अरुण बुढाथोकी लगायतको योगदानको स्मरण गरे ।

नवनियुक्त प्रमुख रुद्र मैनालीले क्याम्पसमा प्राविधिक शिक्षातर्फ पठनपाठन सुरु गर्ने सोचका साथ आफूलाई पुष्प पौडेलले नै क्याम्पसमा भित्राएको बताए ।

‘इन्जिनियरिङ आउनै सक्दैन भन्नेहरु पनि थिए,’ उनले भने–‘हामीहरु भत्ता र सुविधा पाइन्छ भनेर क्याम्पसमा आएका होइनौं । आफ्नो ठाउँको सेवा गर्ने पवित्र मनसायका साथ लागिरहेका छौं । क्यूएए र इन्जिनियरिङ विषयको स्नातकोत्तर तहको पढाई सञ्चालन गर्ने आफ्नो लक्ष्य छ । यसमा सबैको साथ र सहयोग पाउने विश्वास लिएको छु ।’

कार्यक्रमको सञ्चालन क्याम्पसकै अध्यापक दामोदर ढुंगेलले गरेका थिए । विदाई भएका पौडेलले नवनियुक्त क्याम्पस प्रमुख मैनालीलाई माइन्यूट हस्तान्तरण गरे । कार्यक्रममा जग्गा दाता परिवारकी नमिना बुढाथोकी, सञ्चालक समितिकी सदस्य सुशिला रिजाल, कृष्ण कौशल, शुष्मा कार्की, कानूनी सल्लाहकार अजय घिमिरे, लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी न्यौपाने लगायत शिक्षक, विद्यार्थी र कर्मचारीको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.