भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले आफ्ना फ्यानहरूलाई एक ठूलो सरप्राइज दिएका छन्। अभिनेता आर. माधवनले आइतबार आफ्नो इन्स्टाग्राममा एक टीजर सेयर गरेका छन्, जसमा धोनी उनीसँगै एक्सन अवतारमा देखिएका छन्। यो टीजर वासन बालाको आगामी प्रोजेक्ट ‘द चेज’ को हो।
टीजरमा धोनी र माधवन दुवै एक विशेष मिशनमा निस्किएका ‘टास्क फोर्स अफिसर’ को रूपमा देखिएका छन्। उनीहरू ‘एउटा मिसन, दुई फाइटर’ भन्ने ट्यागलाइनका साथ प्रस्तुत भएका छन्। माधवनले भिडियो सेयर गर्दै लेखेका छन्, “एक मिसन, दुई फाइटर। सिट बेल्ट बाँध्नुहोस्, एक जबरदस्त र धमाकेदार चेज सुरु। ‘द चेज’ को टीजर अब रिलिज भएको छ। निर्देशक: वासन बाला। चाँडै आउँदैछ।”
यद्यपि, माधवनले यो प्रोजेक्ट फिल्म हो कि वेब सिरिज हो भन्नेबारेमा स्पष्ट पारेका छैनन्। तर, यसले फ्यानहरूलाई निकै उत्साहित बनाएको छ। क्रिकेटको मैदानमा शान्त र चलाख ‘क्याप्टेन कुल’ को उपनाम पाएका धोनीलाई अब एक्सन हिरोको रूपमा देख्न पाउँदा सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। धेरै फ्यानहरूले यसलाई धोनीको अभिनय करियरको औपचारिक सुरुवात मानेका छन्, जबकि यसअघि उनी धेरै विज्ञापन र एक तमिल फिल्ममा क्यामियो भूमिकामा देखिएका थिए।


























