१५ जेठ, मेचीनगर : बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको हुनाले विद्यालयमा पढने विद्यार्थीहरुको मनस्थितीलाई ध्यानमा राखी झापाको मेचीनगरमा शुक्रबारबाट पाँच दिवशिय योग अभिमूखीकरण कार्यक्रम शुरु भएको छ । अभिमुखीकरणमा खासगरी कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरीएको छ ।
मेची सामुदायिक भवनको हलमा पातञ्जल योग समिति नेपाल, काँकरभिट्टा साधना केन्द्रको आयोजनमा शुरु अभिमुखीकरणको विधिवत उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए । उद्घाटनका क्रममा पातञ्जल योग समिति नेपाल, काँकरभिट्टा साधना केन्द्रका रेखा पराजुली र कोपिला चुडालले बैद्धिक मन्त्रोचारण गरेका थिए ।
उक्त कार्यक्रमका लागि मेचीनगर नगरपालिका वडा नम्बर -६ को वडा कार्यालयले आर्थिक सहयोग गरेको छ ।
मेचीनगरभित्रका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आयोजनाको कार्यक्रममा पायोस नेपाल प्रदेश सदस्य तथा प्रशिक्षण विभागका केन्द्रिय सचिव महेश लामिछानेले योगका माध्यमबाट विद्यार्थीहरुलाई सहजीकरण गर्ने छन् । योगको माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारलाई हटाउनु र परमात्मासँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य रहेको अधिकाँश वक्ताहरुको भनाई थियो ।
योगमा जोडिए शरीर तन्दुरुस्त बनाउन र अनेक रोगहरुबाट छुटकारा पाउन मानिसलाई राहत मिल्ने बताइएको छ । योगका विभिन्न आसन तथा ध्यान लगायतले पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउछन । ‘मनलाई आत्मासँग जोड्नु नै योग हो । योग भनेको साधना हो ’ प्रमुख अतिथि तामाङले भने, ‘योगका माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारलाई हटाउनु र परमात्मासँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य हो। त्यसैले योग भनेको जोडिनु हो । शरीर तन्दुरुस्त बनाउन र अनेक रोगहरुबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्नुपर्छ । ’
प्रमुख प्रशिक्षक लामिछानेले हरेक मानिसले आफ्नो नियमित आहार विहारमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले समयमै खानपिन गरे, नियमित योग गरे रोगबाट मुक्त हुने बताए । चिन्ता, मानसिक तथा अन्य रोगहरूको निदानका लागि पनि मानिसहरूले योगको सहारा लिने, योग एउटा यस्तो वैज्ञानिक विद्याको रूपमा प्रकट भएको र जसको प्रयोगले रोगब्याधिबाट बच्न सकिने दाबी गरे । कार्यक्रममा अरुणेदय माध्यमिक विद्यालयका प्रधानध्यापक दुर्गाबहादुर लुईटेललगायतले बोलेका थिए ।
पायोस नेपाल काँकरभिट्टा साधना केन्द्र अध्यक्ष दुर्गादेवी भेटवालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा महिला उपाध्यक्ष एवम् काँकरभिट्टा साधना केन्द्रका प्रशिक्षक अनिता गुरागाईँले सहभागी सवैलाई स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिईन् । कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव इन्दिरा अधिकारीले गरेकी थिईन् ।