वासिङटन | अमेरिकी विरासत ठानिएका दुई विशाल भवन ट्वीन टावर र पेन्टागनमा हमला भएको १९ वर्ष भइसकेको छ ।
आजकै दिन, अर्थात् सेप्टेम्बर ११ । यसलाई सेप्टेम्बर ११ को आक्रमण पनि भनेर चिनिन्छ । अलकायदाको आत्मघाती त्यस हमलामा ३ हजार भन्दा धेरै मानिस मारिएका थिए । दुई दशक पुग्न लाग्दा समेत त्यस विनाशकारी हमलाका असर विश्वभर अझै देखिएका छन् । अमेरिकी अर्थतन्त्र, सुरक्षा व्यवस्था, सैन्य रणनीति लगायत क्षेत्रमा उक्त घटनाले धेरै फेरबदल ल्याइदियो ।
अफगानिस्तानमा सैन्य उपस्थिति
सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आफ्ना सेना तैनाथ गर्यो । सोही घटनाको असर अफगानिस्तानमा झण्डै दुई दशकदेखि युद्ध चलिरहेको छ । खासमा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको निर्देशनमा अफगानिस्तानमा लगातार बम हमला गर्न थालियो ।
अफगानिस्तानमा तलिबान नेतृत्वको सरकारले ट्वीन टावर हमलाका अभियुक्त ओसामा बिन लादेनलाई त्याग्न नचाहँदा अमेरिकाले उक्त सरकार हटाउनुका साथै अफगानिस्तानमा हमला सुरु गरेको थियो ।
अक्टोबरमा अफगानिस्तानमा हमला सुरु गरेको अमेरिकाले बेलायत, फ्रान्स लगायत देशसहितको गठबन्धन बनायो । जस अन्तरगत ठूलो संख्यामा त्यहाँ सेना पठायो । हालसम्म अन्य देश पछि हटे भने अमेरिकाले पनि आफ्ना सेना फिर्ता लैजाने सहमति गरेको छ ।
खासमा अमेरिका आक्रमणपछि नै अफगानिस्तानका दुखका दिन सुरु भएका हुन् । जर्ज डब्लु बुसले सुरु गरेको अफगान आक्रमणको मुद्दा डोनल्ड ट्रम्पसम्म आइपुग्दा चुनावी कार्यक्रम बनिसकेको छ । बाराक ओबामा र ट्रम्प दुबैले चुनावमा जितेपछि अफगानिस्तानमा सेनाको संख्या बढाएका थिए । अफगान मूलका आतंकवादी ओसामा बिन लादेनलाई संरक्षण गरेको आरोपमा अफगानिस्तान २००१ को अक्टोबरदेखि नै अमेरिकी चेपुवामा पर्यो ।
विमानस्थलको सुरक्षा कडा
९/११ को आक्रमणअघिसम्म विमानस्थलमा लामो लाइन लाग्ने र कडाइसाथ सुरक्षा जाँच गर्ने चलन थिएन । अर्थात्, २००१ को नोभेम्बरमा मा मात्रै सुरक्षा कडा पार्नका लागि ‘यातायात सुरक्षा प्रशासन’ सुरु गरियो । यो विभाग स्थापना गर्नुको प्रमुख कारण उक्त हमला नै थियो ।
त्यसपछिका दिनमा नयाँ प्रविधिको प्रयोग र अन्य हिसाबले पनि विमानस्थलमा कडा सुरक्षा व्यवस्था अपनाइएको हो । समग्रमा अमेरिकामा भएको उक्त हमलाको परिणाम हवाइ यात्रा थप सुरक्षित हुन थालेको हो ।
राष्ट्रिय सुरक्षा विभाग
आक्रमणको ११ दिनपछि नै अमेरिकाले घरेलु सुरक्षा विभाग खोल्यो । जहाँ थुप्रै कर्मचारी नियुक्त गर्दै अमेरिकाले आफ्नो आन्तरिक सुरक्षामा पनि कडाइ अपनायो । जसले गर्दा राष्ट्रि सुरक्षा रणनीतिका साथै व्यापक अनुसन्धानको काम अघि बढायो । यो काम २००२ सम्म अमेरिकाले तीव्र रुपमा गरेको थियो ।
आतंकवादविरुद्ध कारवाहीका लागि जिम्मेवार ठानिएको उक्त विभाग बुस सरकारको महत्वाकांक्षी योजना नै थियो । आज पनि उक्त विभागले देशभरको सुरक्षा र आतंकवाद रोकथामका लागि प्रमुख रुपमा प्रभाव जमाउँछ ।
विमानस्थल बाहिर सुरक्षा
विमानस्थल मात्रै नभएर बाहिर पनि अमेरिकाले सुरक्षा उपस्थिति बाक्लो बनायो । यथार्थमा व्यवसाय र स्कुलहरुमा यसले व्यापक रुपमा असर पुगेको बताइन्छ । जस्तै स्वतः लक हुने ढोका, किप्याड, सिसी क्यामेरा लगायत ।
खासमा सेप्टेम्बरअघि देशभरका कार्यालय तथा स्कुलमा आम मानिसको पहुँच सहज थियो । अधिकांश कार्यालयमा ‘फ्रन्ट डेस्क’मा नाम र हस्ताक्षर गरेर छिर्न मिल्ने थियो । जुन काम पछिल्लो समय अति जटिल छ । त्यसबेला देखि नै कुनै पनि कार्यालयमा छिर्न सुरक्षा डेस्कमा गएर, कर्मचारीबाट सुरक्षा कोड लिएर मात्रै छिर्न पाइने व्यवस्था छ ।
मुस्लिम समुदायविरुद्ध व्यापक रुपमा धार्मिक र जातीय विभेद
केही अनुसन्धान र अध्ययनबाट के पुष्टि हुन्छ भने, उक्त हमलापछि अमेरिका मात्रै नभएर विश्वका अधिकांश स्थानमा मुस्लिम समुदायविरुद्ध घृणा, पक्षपात र विभेद बढ्न थाल्यो । कतिपय ठाउँमा त मुस्लिमविरुद्ध आक्रमण पनि बढ्न थाल्यो । अमेरिकामा त ५० प्रतिशतका दरले मुस्लिममाथि आक्रमण बढेको रिपोर्ट छ ।
त्यस्तै अर्को एक सर्वेक्षण अनुसार अमेरिकाका ७५ प्रतिशत मुस्लिमहरुले आफूहरुमाथि विभेद र आक्रमण भएको बताएका थिए । सर्वेक्षणले यस्तो पनि देखाए कि, आक्रमणपछिको दशकभरी नै मुस्लिम बन्न मुस्किल वातावरण बन्यो ।
निर्वासनमा वृद्धि
बुस प्रशासनले सेप्टेम्बरपछि नै तिव्र रुपमा मानिसहरुलाई निर्वासन गराउनुका साथै अध्यागमनमा व्यापक कडाइ गर्न थालेको थियो । अमेरिकी मिडिया एबिसी न्युजका अनुसार २००१ पछिको दशकमा निर्वासन ठ्याक्कै दोब्बर बढेको थियो । आपराधिक निर्वासनको संख्या उस्तै गरी बढेको थियो ।
२००१ देखि २०१२ सम्म सरदर ४०० प्रतिशत आपराधिक निर्वासन भएको थियो । तर त्यसबेला निर्वासनमा परेका लगभग सबैजसो अभियुक्त निर्दोष सावित भए ।
‘आतंकवादविरुद्ध युद्ध’
त्यस हमलाभन्दा अघि संसारका मानिसले एउटा शब्दावली सायदै सुनेका थिए, ‘आतंकवादविरुद्धको युद्ध’ । तर बिस्तारै दिन, हप्ता र महिना बित्दै जाँदा यो ‘टर्म’ आम मानिसका लागि स्वभावित बनिदियो । यससँगै ‘होमल्याण्ड सेक्युरिटी’, ‘टेरर अलर्ट’, ‘एक्सिस अफ एभिल’ जस्ता शब्दावली पनि स्वभाविक रुपमा सुनिन थालियो ।
बढ्दो निगरानी
सेप्टेम्बरपछिका दिनमा बिस्तारै नागरिकमाथि पनि निगरानी बढ्न थाल्यो । इमेल, टेलिफोन जस्ता निजी मामिलामा पनि सरकारले व्यापक रुपमा पहुँच र निगरानी बढाउन थाल्यो ।
सुरक्षाको नाममा कतिपय प्राइभेट मामिलामा पनि सरकारले आफ्नो पहुँच बढाउन थाल्यो ।
समाचार प्रशारणको तरिकामा बदलाव
सेप्टेम्बर ११ को घटनापछि नै धेरै समाचार संस्थाहरुले समाचार सम्प्रेषणको तौरतरिका नै परिवर्तन गर्न थाले ।
राष्ट्रवाद बढ्दै
उक्त घटनापछि अमेरिका र अन्यत्र पनि देशभक्ती तथा राष्ट्रवादी भावना फैलिन थालेको थियो । राष्ट्रिय झण्डा फहराउन थालियो । देशभक्तीपूर्ण सन्देश प्रवाह हुन थाले । देशविरुद्ध एकजुट हुने, वलिदानी दिने जस्ता सन्देश आम रुपमा फैलाउन थालियो ।