आईफोन निर्यातको होडमा भारतले पहिलोपटक चीनलाई उछिनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा व्यापार नीतिपछि पनि भारतले चीनलाई पछि पार्दै अमेरिकातर्फ सबैभन्दा धेरै आईफोन पठाउने देश बनेको हो। सन् २०२५ को अप्रिल महिनामा भारतले अमेरिकामा करिब ३० लाख आईफोन निर्यात गर्दा चीनको निर्यात केवल ९ लाख युनिट मा सीमित भयो।
बजार अनुसन्धान संस्था Omdia का अनुसार, भारतमा बनेका आईफोनहरूको माग तीव्र रूपमा बढ्दै गएको छ। उत्पादन विविधीकरणको रणनीति अपनाउँदै एप्पलले चीनको सट्टा भारतमा उत्पादन केन्द्र सार्न थालेपछि यस्तो फड्को आएको हो।
एप्पलका प्रमुख उत्पादन साझेदार फक्सकोन र हालसालै टाटा समूहले पनि भारतमा आईफोन असेम्बल गर्न थालेका छन्। भारतको ‘मेक इन इण्डिया’ अभियान, सस्तो श्रम, र तुलनात्मक रूपमा कम आयात कर (१०%) ले पनि भारतलाई एप्पलका लागि आकर्षक गन्तव्य बनाएको छ। उता, ट्रम्प प्रशासनले चीनबाट आउने आईफोनमा ३०% सम्म आयात कर लगाएको छ, जसले चीनको निर्यातमा ७६% गिरावट ल्याएको छ।
कोभिड महामारीपछि आपूर्ति शृङ्खलाको विविधीकरण चाहेको एप्पलले भारतमा लगानी बढाउँदै आएको छ। यसले न केवल भारतको छवि बलियो बनाएको छ, तर रोजगारी, निर्यात र आर्थिक वृद्धिमा पनि उल्लेखनीय सम्भावना देखिएको छ।
विश्लेषकहरूका अनुसार, यो परिवर्तन भारतलाई विश्वको प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्र बनाउने दिशातर्फको स्पष्ट संकेत हो।





















