अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले पत्नीलाई मृत अवस्थामा भेटेपछि शव टुक्रा पारेर व्यवस्थापन गरेको अदालतमा बयान दिएका छन्। उनले पत्नीको हत्या भने आफूले नगरेको दाबी गरेका छन्।
अमेरिकाको प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा बिहीबार बयान दिने क्रममा नरेशले सन् २०२४ जुलाई ३० को बिहान घरको शयनकक्षमा ममतालाई अचेत अवस्थामा भेटेको बताएका हुन्। उनका अनुसार ममताको शरीर र भुइँमा बान्ता थियो भने नजिकै औषधिका क्याप्सुल र विषादी ‘सेल्फोस’को प्याकेट पनि थियो।
उनले ममताले आत्महत्या गरेको दाबी गर्दै आफूले सुरुमा उनलाई बचाउने प्रयास गरेको तर पछि शव लुकाउने निर्णयमा पुगेको बताएका छन्।
शव व्यवस्थापन गरेको स्वीकार
नरेशले अदालतमा आफूले ममताको शरीर बाथरुममा लगेर आरीको प्रयोग गरी टुक्रा पार्ने प्रयास गरेको स्वीकार गरेका छन्। सुरुमा शरीरको तल्लो भाग छुट्याउन खोजेको तर शारीरिक तथा मानसिक रूपमा असमर्थ भएपछि काम रोकिएको उनको भनाइ छ।
उनले शव फोहोर फाल्ने कन्टेनरमा अटाउन सानो बनाउन खोजेको बयान दिएका छन्। त्यसपछि शवलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सोच्दै विभिन्न स्थानमा फोहोर फाल्ने कन्टेनर प्रयोग गरेको पनि बताएका छन्।
अदालतमा उनले शव लुकाउने उद्देश्यले त्यसो गरेको हो भन्ने प्रश्नमा स्वीकारोक्ति दिएका थिए। तर, आफूले शवलाई बाहिरका विभिन्न डम्पस्टरमा फालेको भन्ने अभियोजन पक्षको दाबीलाई भने उनले अस्वीकार गरेका छन्।
प्रहरीलाई खबर नगर्नुको कारणबारे यस्तो जवाफ
ममतालाई मृत अवस्थामा भेटेपछि तत्काल प्रहरी वा आपत्कालीन सेवामा खबर नगर्नुको कारणबारे सोध्दा नरेशले आफू निकै डराएको र आत्तिएको बताएका छन्।
उनका अनुसार उनले ममतालाई करिब ४५ मिनेटदेखि एक घण्टासम्म बचाउने प्रयास गरेका थिए। तर, मृत्यु भएको ठानेपछि आफूलाई दोषी ठहराइने डरले शव लुकाउने सोच आएको उनले अदालतमा बताएका छन्।
उनले सुरुमा शव पोटोम्याक नदीमा फाल्नेबारे सोचेको र त्यसपछि घरबाट बाहिर निस्केर शव लुकाउन प्रयोग गर्न सकिने सामग्री खोजेको बयान दिएका छन्।
ममताको शव अझै फेला परेको छैन
ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनियास्थित अस्पतालमा नर्सका रूपमा कार्यरत थिइन्। उनी सन् २०२४ जुलाईको अन्तिम सातादेखि सम्पर्कविहीन भएकी थिइन्। जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेको उनको अन्तिम ज्ञात सम्पर्क थियो।
काममा उपस्थित नभएपछि सहकर्मीहरूले चासो देखाउँदै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले अगस्ट २ मा नरेशको घरमा पुगेर सोधपुछ गरेको थियो। नरेशले अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
अनुसन्धानका क्रममा घरको शयनकक्ष र बाथरुममा रगतका दाग भेटिएको तथा कपालका टुक्रा रहेको विद्युतीय आरी बरामद भएको प्रहरीले जनाएको थियो। नरेशलाई सन् २०२४ अगस्ट २२ मा पक्राउ गरिएको थियो। ममताको शव भने अहिलेसम्म फेला परेको छैन।
हत्या अभियोग अस्वीकार, मुद्दा जारी
नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोग लगाइएको छ। उनले सबै अभियोग अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्।
अभियोजन पक्षले घरमा भेटिएका भौतिक तथा फरेन्सिक प्रमाण, निगरानी क्यामेराका दृश्य र साक्षीहरूको बयानका आधारमा ममताको हत्या भएको दाबी गर्दै आएको छ। नरेशका वकिलहरूले भने ममताको मृत्युमा उनको संलग्नता प्रमाणित गर्ने प्रत्यक्ष प्रमाण नभएको तर्क गर्दै आएका छन्।
नरेशको पछिल्लो बयानले ममताको शव व्यवस्थापन गरेको विषय स्वीकार गरे पनि उनको मृत्यु कसरी भयो भन्ने प्रश्न अझै अदालतको मुख्य विवाद बनेको छ। मुद्दाको फैसला भने अदालतको सुनुवाइ र प्रमाणको मूल्याङ्कनपछि हुनेछ।





















