लक्ष्मी उप्रेती
२२ साउन, मेचीनगर : नेपाल र भारतका पर्यटन व्यवसायीहरूबीच हुने बीटूबी (व्यवसायीबीचको) छलफलले दुई देशबीचको पर्यटन प्रवद्र्धन, पर्यटकको संख्या वृद्धि र धार्मिक तथा सांस्कृतिक सर्किटहरू सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने निष्कर्श निकालेको छ ।
आज झापाको काँकरभिट्टामा पर्यटन मञ्च झापाले आयोजना गरेको एक कार्यक्रममा सहभागी दुवै देशका पर्यटन व्यवसायीहरूले यस्ता कार्यक्रमहरूले नयाँ प्याकेज बनाउन र आपसी सहकार्य बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल तथा भारतका पर्यटन व्यवसायीहरूले दुवै देशको पर्यटन प्रवद्र्धन र प्रचार प्रसारमा एक भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सेप्टेम्बर दोस्रो साता ‘इस्टन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएन पश्चिम बंगाल’ले सञ्चालन गर्न लागेको दुई दिवशिय ‘दोस्रो इण्डो नेपाल टुरिजम मिट २०२६’ का विषयमा समेत छलफलमा चर्चा भयो ।
आयोजक संस्थाका महासचिव विश्वजीत रायले आगामी सेप्टेम्बर १५–१६ तारीख भारतको पश्चिम बंगालमा यो कार्यक्रम आयोजना गर्न लागेको छलफलमा जानकारी गराएका थिए ।
प्रथम इण्डो नेपाल टुरिजम मिट २०२५ मा सहभागी भएका प्रमुख आतिथि पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले बोल्दै त्यसबाट प्राप्त उपलब्धिका विषयमा स्पष्ट पारेका थिए । यस्ता कार्यक्रम दुवै देशको पर्यटनको प्रवद्र्धन र विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रम निक्कै उपलब्धिमुलक भएको , पर्यटन व्यवसायी व्यवसायीबीचको छलफल, सहकार्यले मात्र पर्यटनको लक्ष्य अनुसार प्रगति गर्ने खतिवडाले बताए ।
इस्टन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशनका महासचिव विश्वजीत रायले नेपालको पूर्वक्षेत्रमा अत्यन्त धेरै धार्मिक पर्यटकीय क्षेत्र भए पनि भारतीय पर्यटकहरूलाई एक रात त्यस क्षेत्रमा राख्न सके पूर्वको पर्यटकीय क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरे ।

वराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, श्रीअन्तु, कन्यामलगायतका क्षेत्रमा भारतीय पर्यटकहरू आउन ललायित रहेको बताउँदै महासचिव रायले त्यस क्षेत्रमा बाटोघाटो, होमस्टेलगायत भौतिकपुर्वाधारको विकाशको आवश्यकता ओैँल्याए ।
भारतीय पर्यटन व्यवसायीहरू नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा नेपाली पर्यटन व्यवसायीहरूसँग हातेमालो गरि अघि बढ्न तयार रहेको स्पष्ट पारे । उनले दुवै देशका पर्यटन व्यवसायी पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने अवश्यकता औल्याँए । ‘नेपाल र भारतका पर्यटन व्यवसायीबीच दुवै देशको पर्यटन व्यवसाय प्रवद्र्धनमा सहकार्य आजको आवश्यकता हो ’उनले भने । दुवै देशको पर्यटन विकास गर्ने विषयमा दुवै देशका पर्यटन व्यवसायीहरुको संस्थाबीच विभिन्न बुँदामा सम्झौता हुने गरेको स्मरण महासचिव रायले गराए ।
नेपाल र भारतका पर्यटन व्यवसायी संस्थाहरुबीच दुवै देशमा पर्यटन प्रवद्र्धन गर्ने विषयमा सम्झौता गरी ती सम्झौतालाई कार्यन्वयन गर्नुपर्ने उनले बताए ।
भारतको निक्कै लोकप्रिय बंगला भाषाको दैनिक पत्रिका उत्तर बंगाल संवादका सीईओ नकुल मण्डलले आफ्नो पत्रिकाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले आफू सञ्चारमाध्यममार्फत नेपालका हरेक पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा लाग्ने भन्दैं यो अवसरलाई नेपाली पर्यटन व्यवसायीहरुले अवसरका रुपमा लिन आग्रह गरे ।
नेपाल तथा भारतका पर्यटकीय गन्तव्यमा सुविधा सम्पन्न होटल थपिँदा पर्यटक आकर्षित गर्न सकिने हुँदा नेपाल तथा भारतका विभिन्न शहरमा प्रचार प्रसार अभियान थाल्नुपर्नेमा उनले जोड दिए । उनले सञ्चारमाध्यमको यसमा निक्कै महत्वपूर्ण भूमिका हुने बताए ।
दोस्रो इण्डो नेपाल टुरिजम मिट २०२६ नेपालका पर्यटकीयक्षेत्रमा केन्द्रीत हुने आयोजकले बताएको छ । नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनकालागि २ वटा स्टल छुट्टयाइएको र त्यसमा पनि नेपालको पूर्वको पर्यटकिय क्षेत्रको पहिचान झल्किने र पर्यटकलाई आकर्षण गर्ने खालका व्यानर तथा तस्वीर राख्न आग्रह गरिएको छ । पर्यटकीय गन्तव्यको विषयमा तस्बिरसहित प्रस्तुत गर्न सके सहभागीहरले धेरै कुरा बुझ्न सक्ने बताइएको छ ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरूले दुवै देशको पर्यटन क्षेत्रको विकाशका लागि यस क्षेत्रमा काम गर्न गठित संघ संस्थाले पुलको काम गर्ने बताएका थिए । पर्यटकहरूलाई होटलभन्दा पनि होमस्टेमा राखेर उनीहरूको इच्छा अनुसार परम्परागत खाना खुवाउनु पर्नेभन्दैं अधिकाँश विदेशी पर्यटकले नेपाल भनेको काठमाडौ, पोखरा, मुक्तिनाथलाई मात्र पर्यटकीय क्षेत्रका रुपमा बुझ्ने गरेको बताउँदैँ भारतीय पर्यटन व्यवसायीहरूले नेपालका अन्य पर्यटकीय क्षेत्रको पनि प्रचार प्रसार गर्न जोड दिए । नेपालको पूर्वक्षेत्रमा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सके पर्यटक भित्रियाउन सक्ने बताइएको छ ।
कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरज कट्टेल, इस्टन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशन पश्चिम बंगाल भारतका अध्यक्ष गोपाल सन्यासी, इण्डो नेपाल मिडिया फोरम नेपाल संयोजक एवम् लेखक तीर्थ सिग्देल, होमस्टे महासंघ नेपाल कोशी प्रदेश सचिव मञ्जिल देवान, इस्टन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशन पश्चिम बंगाल भारतका सदस्य उत्तम घिमिरेलगायतले बोलेका थिए ।

नेपाल भारतका पर्यटन व्यवसायीको उल्लेखनीय सहभागिता रहेको छलफलमा आयोजक संस्थाका अध्यक्ष उदयकुमार श्रेष्ठले शब्दमार्फत स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश र महासचिव नवीन खरेलले छलफलको सञ्चालन गरेका थिए ।


























