मकवानपुर ।मकवानपुर प्रहरीले शनिबार नातामा आफ्नै ठूलोबुबा पर्नेसँग पैसा माग्ने उद्देश्यले घरमा गोली प्रहार गर्नेसहित तीनजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३३ वर्षका निश्चल पौडेल, सोही स्थानका ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्
पक्राउ परेका निश्चल पौडेलले पैसा असुल्ने उद्देश्यले आफ्नै ठूलोबुबा हेटौँडा उपमहानगरपालिका– ९ बस्ने सूर्यप्रसाद श्रेष्ठ (सुरेस)को घरमा गोली प्रहार गरेका थिए। उनले मंसिर १९ गते साँझ पौडेलको घरमा गोली प्रहार गरेका थिए।
हेटौँडा उपमहानगरपालिका– ४ मा रहेको डेराबाट प्रहरीले पक्राउ परेका अभियुक्तहरुको साथबाट सेमिअटोमेटिक पेस्तोल एक थान, २० राउण्ड गोली, हतियार सफा गर्ने रड एक थान, लागुऔषध खैरो हेरोईनजस्तो देखिने धुलो पदार्थ २.४०० ग्राम, लागुऔषध तौल गर्ने डिजिटल तराजु दुई थान, पाँच थान मोबाईल, ५० हजार नगद र दुई थान मोटरसाइकल बरामद गरेको छ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले मङ्सिर १९ गते सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरे पनि घरमा भएकाहरुले छिमेकमा भइरहेको विवाह समारोहमा पटका पड्काएको भन्ने ठानेकाले उक्त दिन घटना सार्वजनिक नभएको बताए।
भोलिपल्ट विहान घर बाहिर र छिमेकमा समेत पड्किएको गोलीको खोकाहरु फेला परेपछि गोली प्रहार भएको घटना बाहिरिएको थियो। उनीहरुले पौडेलको घरमा सात पटकसम्म गोली प्रहार गरेको अनुसन्धानबाट देखिएको प्रहरी प्रमुख रिजालले बताए।
रिजालका अनुसार पक्राउ परेका अभियुक्तहरुले घटनाको भोलिपल्ट फोन गरेर एक करोड माग गरेका थिए। उनीहरुले पौडेललाई एक करोड नदिए जे पनि हुनसक्ने चेतावनी दिएका प्रहरी प्रमुख रिजालले बताए।
प्रहरीले उनीहरुलाई लागुऔषधको कारोबार, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने जनाएको छ। प्रहरी प्रमुख रिजालले आइतबार अदालतमा पेश गरी म्याद थप गराएर अनुसन्धान प्रकृया अघि बढाउने जानकारी दिए।


























