२४ भदौ मेचीनगर : नेपाली काँग्रेसका युवा नेता नविन वरालले नेपाली काँग्रेस मेचीनगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । नेता वरालले आजै अपरान्ह ४ बजे पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेद्वारी सार्वजनिकरुपमा घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
झापाको मेचीनगर- ४ निवासी ४३ वर्षीय नेता वराल दुईदशकअघि देखि नेपाली काँग्रेस पार्टीमा सक्रिय हुनुहुन्छ । नेता वरालले नेपाली काँग्रेसको आसन्न पार्टीको १४ औँ महाधिवेशनलाई लक्षित गरेर भदौ २७ मा हुने मेचीनगर अधिवेशनमा नगर सभापति पदका लागि प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । मेचीनगर-४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित वरालले आफुलाई नव निर्वाचित वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुको साथ सहयोग रहेका कारण यो पटक आफ्नो नेतृत्वमा नगर पार्टीलाई हाक्ने दावी गर्नुभएको छ ।
पार्टीभित्र निक्कै अनुभवी र लोकप्रिय नेताका रुपमा छवि बनाउनु भएका नेता वराल कोभिड १९ को नियन्त्रण तथा रोकथाममा अतुलनिय भूमिका निर्वाह गरी आम नगरवासीको मन मनमा बस्न सफल हुनुभएको छ । नेपाली काँग्रेसको चारतारे झण्डामा गोलबद्घ भएर तात्कालिन बाहुनडाँगी गाविसमा पार्टीको वडा सदस्य हुदैं गाउँ सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसक्नु भएका नेता वरालले पार्टीको भातृ संगठन नेपाल तरुण दलको बाहुनडाँगी गाउँ सभापतिको जिम्मेवारी समेत हाकि सक्नुभएको छ । हाल पार्टीको मेचीनगर नगर सहसभापतिको जिम्मेवारी उहाँमा छ ।
पार्टी र हरेक सामाजिक कामका सक्रियपुर्वक लागेका कारण आफु नगर सभापतिमा योग्य भएका कारण आफुले उम्मेद्वारी पेश गरेको नेता वरालको भनाई छ । नेपाली काँग्रेस नेपालको एक समाजवादी–जनवादी राजनीतिक दल भएका कारण आफुलाई विभिन्न समयमा पार्टीले दिइएको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गरेको उहाँको भनाई छ । २०६२/०६३ को जनान्दोलनमा सक्रिय सहभागी नेता वराल वीपी कोइरालालाई आदर्श नेता र उहाँको विचारलाई सबैभन्दा राम्रो विचार ठानेको बताउनुहुन्छ । झापाकै पहिला शहीद विश्वनाथ घिमिरे तथा राजनीतिज्ञ रत्नकुमार कार्कीको जन्मभूमिबाट आफुले काँग्रेसको राजनीति थालेको उहाँको भनाई छ । नेपाली काँग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्छ त्यस कारण आफ्नो विचार नेपाली काँग्रेससँग मिलेको र आफु कुनै गुटको उम्मेद्वार नबन्ने उहाँको भनाई छ । सवैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उहाँको विचार छ ।
बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष तथा रोटरी क्लब अफ काँकरभिट्टाका कार्यकारिणी सदस्य वराल अवको पार्टीको जिम्मेवारी युवालाई दिनुपर्ने र पार्टीका अग्रज नेताहरुले अभिभावकिय भूमिकामा रहनुपर्ने बताउनुहुन्छ । अबको परिवेशमा युवाहरु राजनीतिको अग्रपंक्तिमा आउनुपर्ने बताउदैं उहाँले राजनीतिलाई देश र जनताको सेवा गर्ने माध्यमको रुपमा लिएर जानुपर्ने दावी गर्नुभयो । २०७४ सालमा सम्पन्न मेचीनगर वडानम्बर ४ को वडाध्यक्षमा अत्यधिक मत प्राप्त गदैं नेपाली काँग्रेसकातर्फबाट विजयी वरालले मेचीनगर नगरपालिकाको निमित्त नगर प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ । नगरपालिकाको सामाजि विकास समिति संयोजक, कोभिड नियन्त्रण कार्यदल सचिवालयको संयोजकको भूमिकामा उहाँ हुनुहुन्छ ।
काँग्रेसको नयाँ विधान अनुसार नगर कार्यसमिति ७५ सदस्यीय रहनेछ । जसमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष हुनेछ । नगर अधिवेशन यही भदौ २७ गते हुँदैछ । नगरको नेतृत्व चयनका लागि ५ सय ३० बढी क्षेत्रीय प्रतिनिधि वडाबाट चयन भएका छन् ।
























