काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा कोरोना कहरकै बीच हुन गइरहेको छ । गत चैतमै भइसक्नुपर्ने साधारणसभा कोरोना संक्रमण रोकथामका लागि सरकारले गराएको लकडाउनका कारण पटक-पटक स्थगित हुँदै आएको थियो । सरकारको स्वीकृतिमा आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।
अहिले पनि उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा महासंघले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै तीनवटा ‘भेन्यु’ मा साधारणसभा गर्न लागेको छ । त्यसका लागि महासंघले राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी, कार्की ब्याङकेट, बबरमहल र नेपाल उद्योग वाणिज्य महासंघ, टेकुलाई छुट्टयाएको छ । ५४औं वार्षिक साधारणसभाको उद्घाटन भने वेबिनारमार्फत हुने महासंघले जनाएको छ ।
यो साधारणसभा चुनावीसभासमेत भएकाले चुनावी प्रयोजनका लागि तीन वटा ‘भेन्यु’ तोकिएको हो । महासंघको निर्वाचन समितिले मतदान गर्दा एकपटकमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुने गरी अर्थात् सामाजिक (भौतिक) दूरी कायम हुने, स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी मतदान गराइने जनाएको छ । सोहीअनुसार तीन फरक फरक ‘भेन्यु’ मा जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फको निर्वाचन हुनेछ ।
महासंघको वरिष्ठ उपाध्यक्षसहित जिल्ला नगर, वस्तुगत र एसोसिएटका उपाध्यक्ष एवं ६० कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । निर्वाचित हुने ६० जना कार्यकारिणी सदस्यमध्ये प्रत्येक प्रदेशतर्फबाट एक/एकजना गरी सदस्य सात, उद्योग वाणिज्य संघ तर्फबाट १८, वस्तुगत संघ तर्फबाट १४, एसोसिएटतर्फबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फबाट सदस्य एक, महासंघका संस्थापकहरु मध्येबाट एकजना हुनेछन् ।
ढकाल-प्रधानबीच प्यानल भिडन्त
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष छन् । महासंघको आगामी अध्यक्ष हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुनेछन् । यसअघिको साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसअघि वर्तमान अध्यक्ष भवानी राणा पनि सोही व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएकी थिइन् । वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र कार्यकारी समिति सदस्यबीच प्यानलसहित नै प्रतिस्पर्धा हुँदै छ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाइसकेका छन् । उनीहरुले प्यानलसहित नै मनोनयन दर्ता समेत गराइसकेका छन् ।
ढकाल प्यानल
ढकालको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई छन् । श्रेष्ठ वर्तमान कार्यसमितिमा पनि वस्तुगततर्फको उपाध्यक्ष हुन् ।
प्रधान प्यानल
यसैगरी प्रधानको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् ।
निर्वाचन तालिका यस्तो छ :
उमेदवारहरुको मनोनयनपत्र दाखिला मंसिर ४ गते सांझ ५ बजेसम्म गरिसक्नुपर्नेछ । मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली मंसिर २ प्रकाशित हुनेछ भने मतदान गर्न पाउने सदस्यहरुको नामावली उपर दाबी विरोध ३ गते दिउँसो २ बजेसम्म गर्न पाइनेछ । मतदान गर्न पाउने सदस्यविरुद्ध परेको दाबी विरोध माथि छानबिन गरी संशोधित दोस्रो नामावली ३ गते साँझ ६ बजे प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले कोभिड १९ को परिस्थितिलाई मध्यनजर गर्दै उमेदवारको मनोनयनलगायत प्रतिनिधिपत्र दर्ता (प्रतिनिधि शुल्क, सदस्यता शुल्कलगायत बैंक भौचर) इमेलमार्फत गर्ने कार्यलाई प्राथमिकता दिएको छ । इमेलबाट पठाइएका सबै कागजातको सक्कल मंसिर ४ गते साँझ ५ बजेभित्र महासंघको सचिवालयमा आइपुग्नुपर्नेछ, अन्यथा मनोनयन स्वतः बदर हुने निर्वाचन समितिले जनाएको छ ।
उमेदवारको पहिलो नामावली पनि सोही दिन प्रकाशन हुनेछ । सक्कल कागजात प्राप्त भएपछि सो प्रमाणहरुका आधारमा उमेदवारहरुको दोस्रो नामावली मंसिर ५ गते प्रकाशन गर्ने समितिले जनाएको छ । उमेदवारी मनोनयनपत्र माथिको दाबी विरोध सोही दिन दिउँसो २ बजेसम्म गर्न पाइनेछ भने उमेदवारहरुको तेस्रो नामावली ५ गते नै साँझ ६ बजे प्रकाशित गर्ने तालिका छ ।
मतदान गर्न पाउने प्रतिनिधिको नामावली प्रकाशन मंसिर ८ गते, मतदान गर्न पाउने प्रतिनिधि माथिको दाबी विरोध र छानबिन एवं निर्णय र अन्तिम नामावली प्रकाशन मंसिर ११ गते दिउँसो ३ बजे हुनेछ । निर्वाचन मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।
निर्वाचन समितिका अनुसार मतदाता सूचीमा समावेश भएका तर नवीकरण नगरेका संघ/संस्थाले मंसिर ११ गते बिहान ९ बजेभित्र नवीकरण गर्नुपर्नेछ । सो समयसम्म पनि नवीकरण नगर्ने सदस्य संघ/संस्थाले मतदाता सूचीमा नाम भए पनि मतदानमा भाग लिन नपाउन समितिले स्पष्ट पारेको छ ।