Monday, June 21, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रियबाइडेन अमेरिकाका राष्ट्रपति निर्वाचित, ३२ वर्षपछि पूरा भयो ह्वाइट हाउस सपना

बाइडेन अमेरिकाका राष्ट्रपति निर्वाचित, ३२ वर्षपछि पूरा भयो ह्वाइट हाउस सपना

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्रैटिक पार्टीका जो बाइडेन निर्वाचित भएका छन्।

बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा चुनिएका हुन्। मंगलबार भएको निर्वाचन मतपरिणाम आउँदै गर्दा नेपाली समय अनुसार शनिबार राति उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक सिट जितेका द न्युयोर्क टाइम्सले जनाएको छ।

अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ। बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका हन्। बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए।

३२ वर्षपछि पूरा भएको बाइडेनको ह्वाइट हाउस सपना

मानिसको सपनामा तागत हुन्छ। सपनाले मानिसलाई कति टाढा लैजान्छ, त्यो भने सपना जिउँदै राख्न सक्ने उसको इच्छा शक्तिमा भर पर्छ।

धेरै मानिसका सपना पानीका फोकाझैं उठ्दै, फुट्दै गर्छन्। जो बाइडेनले भने ३२ वर्षभन्दा बढी समय आफ्नो सपना जिउँदै राखे। त्यसैको तागतले उनलाई संसारको सबभन्दा शक्तिशाली मुलुकको निर्वाचित राष्ट्रपतिका रूपमा ह्वाइट हाउस पुर्‍याएको छ।

राष्ट्रपति निर्वाचनको आधिकारिक परिणाम घोषणा हुन बाँकी छ। तर उनले अहिलेसम्म पाएको मतका आधारमा प्रमुख समाचार माध्यमहरूले बाइडेनले राष्ट्रपतिको चुनाव जितेको घोषणा गरेका छन्। यो जितसँगै ७७ वर्षीय बाइडेनले सबभन्दा पाको उमेरमा राष्ट्रपति निर्वाचित हुने रेकर्ड पनि तोडेका छन्।

आगामी जनवरी २० मा उनले अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नेछन्।

बाइडेन सन् १९७२ मा २९ वर्षको उमेरमा डेलावेर राज्यबाट सिनेटर निर्वाचित भएका थिए। त्यो बेला धेरैले उनलाई ह्वाइट हाउसका लागि योग्य ‘मटेरियल’ अर्थात् भविष्यमा राष्ट्रपति बन्न लायक ठानेका थिए। अमेरिकाको राष्ट्रपति हुन ३५ वर्ष पुगेको हुनुपर्छ।

बाइडेनले भने सिनेटर बनेको १२ वर्षसम्म ह्वाइट हाउसको आफ्नो सपनामा भर्‍याङ हालेनन्। सिनेटरकै रूपमा काम गरे। सन् १९८८ मा मात्र राष्ट्रपतिको उम्मेदवार बन्न उनी पहिलोपटक डेमोक्र्याटिक पार्टीको प्राइमरीमा निर्वाचन लडे।

उनको त्यो उम्मेदवारी धेरै लामो समय टिकेन।

अमेरिकामा कुनै व्यक्ति राष्ट्रपतिको उम्मेदवार बनेपछि मिडियाले उसको विगत सकेजति खोतल्ने गर्छ। मिडियाले बाइडेनको पनि विगत उधिन्यो।

सिनेटरका रूपमा बाइडेनको भाषण गर्ने कलाको खुबै तारिफ हुन्थ्यो। उनको फरसाइलो व्यक्तित्व, सबैसँग घुल्न सक्ने क्षमता र वाककला हेरेरै धेरैले उनलाई सुरूदेखि नै राष्ट्रपतिका लागि योग्य ‘मटेरियल’ भनेका थिए।

मिडियाले भने उनको त्यही क्षमतामाथि प्रश्न उठायो। भाषण गर्ने शैली र कतिपय विषयवस्तु अरूबाट ‘चोरेको’ आरोप लाग्यो। यहाँसम्म कि, उनी कमजोर विद्यार्थी रहेको र विश्वविद्यालयको थेसिससमेत चोरी गरेको आरोप उनीमाथि लाग्यो।

डेमोक्र्याटिक पार्टीको प्राइमरीमा उनको पक्षमा धेरै उत्साह देखिएन। उनी आफ्नो उम्मेदवारीबाट पछि हटे। त्यो वर्ष डेमोक्र्याटिक पार्टीको तर्फबाट माइकेल डुकाकिस राष्ट्रपति निर्वाचनमा लडे। रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज एच डब्लु बुस (सन् २००० देखि २००८ सम्म राष्ट्रपति रहेका जर्ज बुसका बुबा) राष्ट्रपति निर्वाचित बने।

त्यसपछि अर्को बीस वर्ष बाइडेनले सिनेटरमै चित्त बुझाए।

त्यसपछि २००८ को प्राइमरीमा उनले राष्ट्रपतिमा प्रतिस्पर्धा गरे। त्यो बेला डेमोक्र्याटिक पार्टीमा दुई जना चर्चित उम्मेदवार थिए— पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी तथा न्यूयोर्ककी सिनेटर हिलारी क्लिन्टन र इलिनोय राज्यका प्रतिभाशाली युवा उम्मेदवार सिनेटर बराक ओबामा।

सन् २००४ मा पहिलोपटक सिनेटमा निर्वाचित ओबामालाई धेरैले राष्ट्रपति उठ्न हतार गरेको र अनुभव नपुगेको भनेर आलोचना गरेका थिए।

राष्ट्रपति बन्ने समय अझै नभएको र विदेश नीतिमा उनको कुनै अनुभव नभएको भनेर बाइडेनले पनि ओबामाको आलोचना गरे। डेमोक्र्याटिक पार्टीभित्र क्लिन्टन र ओबामाप्रति नै धेरै रूचि देखिएपछि बाइडेनले प्राइमरी प्रतिस्पर्धा छाडे।

त्यो बेला नै ओबामा वा क्लिन्टन जसले राष्ट्रपति जिते पनि बाइडेन विदेशमन्त्री नियुक्त हुने धेरैले अनुमान गरेका थिए। डेमोक्र्याटिक पार्टीको संस्थापन पक्षको बलियो साथ रहेकी हिलारी क्लिन्टनलाई कडा प्रतिस्पर्धाबीच पन्छाउँदै ओबामाले डेमोक्र्याटिक पार्टीको उम्मेदवारी जिते।

राष्ट्रपतिको चुनावमा पार्टी एक बनाउन क्लिन्टनलाई उपराष्ट्रपतिको उम्मेदवार छान्नुपर्ने मत धेरैले राखेका थिए। ओबामाले भने उपराष्ट्रपतिका लागि बाइडेनलाई चुने। अमेरिकामा मतदाताले एउटै मतपत्रमार्फत् राष्ट्रपति र उपराष्ट्रपति दुवै जना चुन्छन्।

ओबामा राष्ट्रपतिमा उठ्दा ४७ वर्षका मात्र थिए।

उनीसँग वासिङ्टनको राजनीतिक जटिलताबीच काम गरेको अनुभव कम थियो। विदेश नीतिमा त झनै कुनै अनुभव थिएन। यिनै विषयलाई लिएर उनको आलोचना हुने गरेको थियो। त्यो बेला रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका जोन मकेन विदेश नीतिका ‘भेटेरान’ नै मानिन्थे। उनी सन् १९८२ देखि नै एरिजोना राज्यबाट सिनेटर निर्वाचित हुने गरेका थिए।

मेकेनको दाँजोमा आफूसँग भएको विदेश नीतिको कमजोर अनुभव पूर्ति गर्न ओबामाले बाइडेनलाई उपराष्ट्रपतिमा चुनेका थिए। सिनेटको विदेश नीतिसम्बन्धी कमिटीको अध्यक्षका रूपमा काम गरेका बाइडेनको परराष्ट्र नीतिमा दख्खल थियो। अर्कातिर बाइडेन त्यो बेला ६५ वर्षका थिए, वासिङ्टनमा सत्ताधारी र प्रतिपक्षी दल मिलेर कसरी काम गर्ने भन्नेमा उनको अनुभव थियो।

उपराष्ट्रपतिका रूपमा सन् २००८ मा ह्वाइट हाउस छिरेपछि बाइडेनको आधा सपना पूरा भएको थियो। युवा अवस्थाका ओबामा दोस्रो कार्यकालका लागि पनि उठ्नेमा कुनै दुविधा थिएन। त्यसैले ६५ वर्षीय बाइडेनको राष्ट्रपति बन्ने सपना उपराष्ट्रपतिमै सीमित भएको मानिएको थियो।

ओबामा प्रशासनमा आठ वर्ष बस्दा बाइडेनले अन्तर्राष्ट्रिय नीतिहरूमा ठूलो काम गरे। विश्वव्यापी मुद्दाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरे। पेरिस क्लाइमेट एग्रिमेन्ट र इरानसँगको आणविक सम्झौतामा बाइडेनले महत्वपूर्ण भूमिका खेले।

उनी उपराष्ट्रपति रहेकै बेला बाइडेनका जेठा छोरा बो बाइडेनको ४६ वर्षकै उमेरमा क्यान्सरका कारण मृत्यु भयो। बोलाई धेरैले बाइडेनको राजनीतिक उत्तराधिकारीका रूपमा हेरेका थिए। बाइडेन पनि उनीसँग धेरै नजिक थिए।

बोको मृत्यु बाइडेनको जीवनमा दोस्रो ठूलो वियोगान्त घटना थियो।

सन् १९७२ मा बाइडेन भर्खरै सिनेटर निर्वाचित भएका थिए। काम पनि सुरू गरेका थिएनन्। उनकी श्रीमती निला र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भयो। सोही दुर्घटनामा परेका दुई छोरा भने बाँचे। जिल बाइडेनकी दोस्री पत्नी हुन्।

छोराको वियोग र हिलारीजस्ती बलियी प्रतिस्पर्धीका कारण बाइडेनले सन् २०१६ मा राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीभित्र प्रतिस्पर्धा गरेनन्। त्यो बेला ७३ वर्ष पुगेका बाइडेनको राष्ट्रपति बन्ने सम्भावना सदाका लागि सकिएको मानिएको थियो।

सायद बाइडेनको मनको अगेनोमा राष्ट्रपति बन्ने सपनाको न्यानो बाँकी नै थियो। डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालले बाइडेनको सपना र उम्मेदवारीलाई सम्भव बनाइदियो। बाइडेनले चुनाव लड्ने घोषणा गरेकै थिएनन्, तर पनि डेमोक्र्याटिक पार्टीभित्र उनी राष्ट्रपति बन्न सबभन्दा लोकप्रिय छन् भन्ने मत सर्वेक्षणहरूले लगातार देखाए।

ट्रम्पको आचरण र व्यक्तिगत कमजोरीका जवाफ बाइडेन हुन सक्छन् भन्ने धेरैले ठाने। डेमोक्र्याटिक पार्टीको प्राइमरी फेब्रुअरीमा सुरू हुँदासम्म कोरोना भाइरस अमेरिका पुगिसकेको थियो। प्राइमरीको प्रतिस्पर्धासँगै कोरोनाले पनि अमेरिकालाई गाँज्दै लग्यो। कोरोनाले मानिस भटाभट मर्न थालेपछि यस्तो वियोगको समय मुलुकलाई नेतृत्व दिन योग्य मानिस बाइडेन नै हुन् भन्ने मत बलियो हुन थाल्यो।

डेमोक्र्याटिक पार्टीभित्र ‘मोडरेट’ र ‘प्रगतिशील’ गरी दुई मुख्य धार छन्।

प्रगतिशील धारको नेतृत्व बर्नी स्यान्डर्स, एलिजावेथ वारेनहरूले गर्छन् भने बाइडेन मोडरेट धारका प्रमुख अनुहार हुन्। प्रगतिशीलहरू लोकतान्त्रिक विधिभित्रै रहेर राज्यका कतिपय संरचना र नीतिको क्रान्तिकारी परिवर्तनको वकालत गर्छन् भने ‘मोडरेट’हरू त्यति धेरै परिवर्तन अमेरिकी समाजले पचाउँदैन र त्यस्ता नीति लिएर चुनाव जित्न सकिन्न भन्नेमा विश्वास गर्छन्।

डेमोक्र्याटिक पार्टीभित्र प्राइमरी लड्ने घोषणा गरेदेखि नै बाइडेनले एउटा तर्क गर्दै आएका थिए— राष्ट्रपतिको निर्वाचन जित्न पार्टीले तीन राज्य मिचिगन, विस्कन्सिन र पेन्सलभेनियामा जित हासिल गर्नै पर्छ।

ट्रम्पले डेमोक्र्याटबाट खोसेका ती राज्य फिर्ता ल्याउन ‘म नै सबभन्दा लायक मानिस हुँ’ भन्ने उनको तर्क थियो। ओबामाले जितेका यी तीनै राज्य हिलारीले पनि जितेकी भए उनी राष्ट्रपति बन्ने थिइन्।

यी तीन राज्य र वरिपरिको क्षेत्रलाई ‘रस बेल्ट’ भनेर चिनिन्छ। उन्नाइसौं शताब्दीको मध्यदेखि नै अमेरिकाको औद्योगिक क्रान्तिमा यो क्षेत्रले ठूलो भूमिका खेल्यो। ठूला-ठूला उद्योग र कलकारखानाहरू मिचिगन, विस्कन्सिन, पेन्सलभेनिया, ओहाइयो, इलिनोए र न्यूयोर्कको केही क्षेत्रमा खुलेका थिए। तिनले अमेरिकाको औद्योगिकीकरण र समृद्धिमा ठूलो भूमिका खेले।

पछिल्ला दशकमा भने यो क्षेत्र आर्थिक शिथिलता र अद्योगतिको शिकार भएको छ। तीव्र गतिमा बदलिरहेको प्रविधिदेखि सरसमानको उत्पादनमा अमेरिका नजिकैको मेक्सिकोदेखि टाढाको चीनसम्मको उदयले यसमा काम गरेको छ। त्यसले यो क्षेत्रमा बसोबास गर्ने श्रमिकको जीवनमा ठूलो उथलपुथल र अनिश्चय ल्याएको छ। मुख्यगरी नयाँ प्रविधिमा कम दक्ष र परम्परागत श्रमिकको जीवनमा यो परिवर्तनले ठूलो निराशा ल्याएको छ।

यही निराशालाई राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा डेमोक्र्याटविरूद्ध प्रयोग गरे। परम्परागत रूपमा मजदुरहरूले डेमोक्र्याटिक पार्टीलाई मत दिने गर्छन्। पुँजीपति र पढे-लेखेका गोरा अमेरिकीको झुकाव रिपब्लिकनतिर हुने गरेको छ।

डेमोक्र्याटहरूले उत्पादनशील क्षेत्रमा हुने लगानी चीन र मेक्सिकोजस्ता मुलुकमा पुर्‍याउने नीतिलाई बढावा दिएको र श्रमिकहरूलाई धोका दिएको आरोप ट्रम्पले लगाउने गरेका थिए। आफूले जितेमा चीन र मेक्सिकोबाट उद्योगहरू फिर्ता ल्याउने बाचा पनि ट्रम्पले गरेका थिए।

आफ्नो निजी जीवनमा ठूलो आर्थिक उथलपुथल भोगेका लाखौं श्रमिकलाई ट्रम्पको भाषणले तान्यो। ठूलो संख्यामा मजदुरहरूले डेमोक्र्याटिक पार्टीको सट्टा ट्रम्पलाई भोट खसाले।

ती श्रमिकलाई नफर्काइ डेमोक्र्याटिक पार्टीले मिचिगन, विस्कन्सिन र पेन्सलभेनियाजस्ता राज्यमा फेरि जित हात पार्न सक्दैनथ्यो। ‘म मजदुरहरूको साथी हुँ र यी राज्य जित्न सक्छु’ भन्ने बाइडेनको आत्मविश्वास सही साबित भएको छ।

अमेरिकाको राष्ट्रपति पदमा इतिहासमै सबभन्दा धेरै मत खसेको यो निर्वाचनमा बाइडेनले यी तीनै राज्यमा जित हात पारेका छन्। त्यति मात्र होइन, रिपब्लिकनहरूको परम्परागत प्रभाव रहेका दक्षिणी राज्यहरू जर्जिया र एरिजोनामा पनि बाइडेन जित नजिक छन्। जर्जियामा पछिल्लो २८ वर्ष र एरिजोनामा २४ वर्षदेखि कुनै पनि डेमोक्र्याटिक पार्टीका उम्मेदवारले राष्ट्रपति निर्वाचन जितेका छैनन्।

त्यसबाहेक बाइडेनले ट्रम्पलाई ‘रेकर्ड पपुलर मत’ को अन्तरले जितेका छन्। बाइडेनले ट्रम्पभन्दा ४० लाखभन्दा बढी लोकप्रिय मत पाएका छन्। जबकि सन् २०१६ मा ट्रम्पले राष्ट्रपति जिते पनि हिलारी क्लिन्टनभन्दा २९ लाख मत कम पाएका थिए।

हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेटमा भने आशा गरेजस्तो सफलता डेमोक्र्याटहरूले यसपालि पाउन सकेनन्। हाउसमा उनीहरूको बहुमत थोरै भए पनि खुम्चिएको छ भने सिनेटमा रहेको रिपब्लिकनहरूको बहुमत उनीहरूले तोड्न सकेनन्।

यति हुँदाहुँदै बाइडेनले पछिल्लो २८ वर्षपछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिलाई पहिलो कार्यकालपछि नै घर पठाएदिएका छन्। सन् १९९२ मा जर्ज एच डब्लु बुसलाई पहिलो कार्यकालपछि नै हराएर डेमोक्र्याटिक पार्टीका बिल क्लिन्टन राष्ट्रपति बनेका थिए।

योभन्दा ठूलो अर्को रेकर्ड बाइडेनले यसपटक बनाएका छन्— अमेरिकाको इतिहासमा पहिलोपटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। भारतीय आमा र जमैकन बाबुकी सन्तानका रूपमा क्यालिफोर्नियामा जन्मिएकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्।

कमला ह्यारिसको पनि बाइडेनको जस्तै राष्ट्रपति बन्ने सपना छ। यसपालि डेमोक्र्याटिक पार्टीको प्राइमरीमा उनले पनि बाइडेनसँग प्रतिस्पर्धा गरेकी थिइन्।

७७ वर्षीय बाइडेन दोस्रो कार्यकालका लागि नउठ्न सक्छन् भन्ने अनुमान छ। उनी उठेनन् र कमला ह्यारिस उठेर अमेरिकाको पहिलो महिला राष्ट्रपति बनिन् भने त्यसमा पनि बाइडेनले योगदान गरेको मानिनेछ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु