११ वैशाख, मेचीनगर : मिमबहादुर लामा नेपाल प्रहरी संगठनमा हुनुहुन्छ । नेपाल प्रहरीको उच्च तह प्रहरी नायव उपरीक्षक (डिएसपी) लामा अहिले नेपालको सुदूरपूर्व झापाको मेचीनगर नगरपालिका वडानम्बर—६ मा रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रमुखको जिम्मेवारी निर्वाह गरीररहनु भएको छ । उहाँले यस कार्यालयको कमाण्ड सम्हालेको खासै धेरै दिन पनि भएको छैन् । चिन्नेले उहाँलाई नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) भनेर मात्र चिन्ने गरेका छन् । अनि थोरैलाई मात्र थाहा छ कि, उहाँ एक बहुमुखी प्रतिभाको धनी हुनुहुन्छ भनेर ।
२०६० सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गर्नुभएका उहाँ एक सफल गीतकार, कथाकार र एकै शब्दमा उहाँ एक मुधन्र्य साहित्यकारका रुपमा पनि स्थापित हुनुहुन्छ । २०६३ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर ) र २०७५ मा प्रहरी नायव उपरीक्षक ‐डिएसपी) पदमा पुग्नुभयो उहाँ । साहित्यमा कथा विधा ज्यादैं मन पर्ने स्रष्टा लामा समाजमा हुने सामाजिक घटनालाई उनेर गीत बनाउन पनि खप्पिस हुनहुन्छ । उहाँलाई धेरैले भन्ने गरेका छन् कथाकारको रुपमा तपाईको भविष्य राम्रो र उज्जवल छ भनेर ।
‘नाता तोड्यौ, साथ छोड्यौं
जिन्दगीको गोरेटोमा बाटो तिमिले अन्तै मोड्यौ’
छियाछिया भयो मुटु प्रहार हुँदा शब्द बाँण
चोखो माया लाउँछु भन्थ्यौ, किन गर्यौ अपमान….’
अहिले चल्तीका संगीतकार सुरेश अधिकारीले संगीत भरेको तथा युवामाझ लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको यो गीत उहाँ नै डिएसपी लामाले लेख्नुभएको हो । जुन गीतले कैयौं सपना देखेर आफ्ना स—साना सन्तान जीवनसंगिनीको संसार सजाउन एउटा पुरुष विदेशिन्छ, तर, यता श्रीमती आफ्ना सन्तानलाई छाडेर वेपत्ता हुन्छे र श्रीमान न्यायका लागि प्रशासनमा पुग्छ र उ पीडा पोख्छ । पीडित पुरुषको भनाई संझिँदै उहाँका शब्द पीडालाई लामाले मन छुने गरी गीत कोर्नुभयो र संगीतकार अधिकारीले संगीत भर्नुभयो अनि गायक खरेलले गाउनु भयो ।
वैदेशिक रोजगारीमा जाने युवाहरुको मनलाई नै चिसो बनाउने प्रतिनिधिमुलक गीत हो यो । यो निक्कै लोकप्रिया र चर्चित छ , विदेशिएकाहरु माझ अहिले धेरैले सुन्न थालेका छन् भने विगतमा यस्ता घटना घटिसकेका पीडितहरुले आफ्नो घटना स्मरण गर्ने गरेका छन् । जस्तो घटनालाई पनि गीत बनाउन सक्ने खुवी उहाँमा छ । उहाँले नै लेखेको
‘न आँसुलाई छेक्न सकें, न त कुनै सपना देख्न सकें
उजाड उजाड भयो जिन्दगी, न खुसीको कहानी लेख्न सकें’
लामाको शब्द रचनामा रहेको यो गीतमा सञ्जय सुब्बाले संगीत तथा स्वर दिनुभएको छ । जुन गीतले एकजना पीडित महिलाको घटनालाई प्रतिनिधित्व गर्दै उहाँकै पीडा बोलेको छ । उहाँले विभिन्न चेतनामुलक गीत समेत लेख्नुभएको छ ।
‘त्यगौं दुव्र्यसन, त्यगौं लागूऔषध गरौं सत्यकर्म,
अपराध हो यस्तो व्यापार, नगरौं अधर्म,
नबिराऔं बाटो जीवनमा………….’
लागूऔषध नियन्त्रण तथा रोकथामको लागि उहाँले लेख्नुभएको सन्देशमुलक यो गीतले पनि निक्कै चर्चा बटुलेको थियो । जुन गीतमा सञ्जय तुम्रोक लिम्बुको स्वर, भोलाराज खनालको संगीत र दीपक विश्वकर्माको एरेञ्ज रहेको छ ।
गीतकार लामाले महिला प्रहरी कर्मचारी संघको कार्यक्रमलाई समेटेर महिला प्रहरी गीत पनि लेखेको भन्दैं आफ्ना अधिकांश गीतमा नेपाल प्रहरीको संगीत शाखाको सहयोग महत्वपूर्ण रहेको सुनाउन सम्म भ्याउनुभयो । ‘बुद्धको शरण’ भजन पनि उहाँको निक्कै लोकप्रिय छ । शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जयन्तीकाा अवसरमा यो भजन सार्वजनिक भएको थियो ।
‘जाँउ सबैले बुद्धको शरण, हुन्छ सबै दुःखको हरण
बुद्धको महिमा जगतै भरी छ, बुद्धभूमि यो स्वर्ग सरी छ ’
बोलको भजनमा उनै सञ्जय तुम्रोक सुब्बाको स्वर भोलाराज खनालको संगीत छ । सबै धर्मलाई उत्तिकै आदर र सम्मान गर्नुपर्ने उहाँको धारणा छ ।
गीतकार लामा आधूनिक गीत र भजनमात्र होईन प्रेमगीत लेख्न पनि उत्तिकै धारिलो हुनुहुन्छ ।
‘तिमी छौ र म छु, नभए मेरो के अर्थ,
चोखो लाग्छ सधै तिम्रो मायालु स्पर्श’
यो उहाँको प्रेमगीत हो । यो गीतले प्रेम र माया बोलेको छ । यसको म्यूजिक भिडियोमा समिप निरौला र शिला क्षेत्रीले अभिनय गर्नुभएको छ । लामाको शब्द दीपकराज विश्वकर्माको संगीत र एरेञ्जर ,अनि सुरेश लामा र केशाङ्ग लामाले गाउनु भएको उहाँको यो निक्कै लोकप्रिय गीत हो । गीतकार लामा जस्तासुकै सामाजिक घटनालाई शब्दमा उतारेर मर्मस्पर्शी र भावुक बनाईदिने गीत लेखी दिनुहुन्छ । उहाँले लेख्नुभएको राष्ट्रभक्तिले ओतप्रोत भएको
‘शान हो हाम्रो देशको शीर सगरमाथा
हिमनदी र छहराले गाउँछ वीर गाथा’
बोलको गीत ‘कान्तिपुर म्यूजिक अवार्ड २०७९ ’को ‘टप’ पाँचमा पर्न सफल भएको थियो । सञ्जय तुम्रोक लिम्बुको स्वर र भोलाराज खनालको संगीत रहेको यो राष्ट्रिय गीत लेख्दैं गर्दा गीतकार लामा त्यसबवेला जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रमुख हुनुहुन्थ्यो ।
संयुक्त राष्ट्रसंघको शान्ति मिशनको सिलसिलामा अफ्रिकि मुलुक सुडान, युगाण्डा, केन्याको साथै अन्य मुलुकहरु इटाली, स्विटजरल्याण्ड, इजिप्ट, अष्ट्रिया, जर्मनीलागयतका देश पुग्नु भएका उहाँको
‘व्यस्त व्यस्त यो शहरमा तनावै तनाव छ कामको,
जति नै मरिमेटे पनि कमी छ सँधै दामको’
बोलको गीतले मानिसलाई कामले व्यस्त बनाएको र कामको तनाव सीमित आयस्रोत र बढ्दो महंगीले घर चलाउन सकु परेको चित्रण गरेको छ ।
साविक काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविस ७, हाल भुम्लु गाउँपालिका १० मा २०३४ सालमा जन्मिनु भएका साहित्यकार लामाले २०५० सालमा गाउँकै भगवती माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभएका लामाले ग्रामीण विकासमा एमए र कानूनमा एलएलबी गर्नुभएको छ ।
उहाँ एक सफल गीतकार र कथाकार मात्रै नभई अव्वल प्रहरी अधिकृत पनि हुनुहुन्छ । उहाँले हतियार र कलमलाई सँगसँगैं लैजानु भएको छ । नेपाली प्रहरी संगठनमा उहाँले आफुलाई लगनशिल, इमान्दार र स्वच्छ छबिका रुपमा उभ्याउनु भएको छ । प्रहरीको काम कर्तव्यलाई सर्वाेपरी ठान्ने डिएसपी लामाले समाजमा ‘प्रहरीहरु अन्य मानिसभन्दा कडा मिजास र माया दया नहुने मान्छे हुन’ भन्ने आम सर्वसाधारणको बुझाईलाई झूटो सावित गर्दिनु भएको छ ।
आफ्नो कर्तव्यमा खटिएका बेला आफुलाई यो देशको सच्चा प्रहरी र कुनै सिर्जना लेख्न बस्दा विशुद्घ लेखकका रुपमा लिनुहुन्छ गीतकार लामा । उहाँ जे काम गर्नुहुन्छ मन लगाएर गर्नुहुन्छ । उहाँलाई नजीकबाट चिन्नेहरु भन्छन् ‘बन्दुक र संगीत परस्पर विरोधी शब्द जस्ता लाग्छन तर, डिएसपी लामा राष्ट्रको सुरक्षा संगै लामो समयदेखि साँगितीक र साहित्यकाक्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।
वाल्यकाल देखि नै लेख्ने बानी थियो, कडा मिहिनत परिश्रम कामप्रतिको जिम्मेवारीका कारण अहिले सफलताको शिखर चुम्दैं हुनुहुन्छ उहाँ । सानै उमेरबाट विद्यालय पढ्दा देखिनै विद्यालयमा हरेक साता हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत साहित्य गोष्ठीमा कथा र कविता, निबन्धहरु लेख्ने गर्नुहुन्थयो रे उहाँ । उहाँका थुप्रै गीत म्युजिक भिडियो पनि र युट्युबमा हेर्न र सुन्न पाइन्छ । तर, म्यूजिक भिडियो बनाउँदा खर्च बढि लाग्ने खर्चिलो हुने र धान्न गाहे पर्ने उहाँको पीडा छ । रौनक फेरिएको जात्रा, मुल्यहिन सिक्का बन्द नभएको आरन उहाँका निक्कै चर्चित कथाहरु हुन् । ‘साहित्य समाजको दर्पण हो, दृश्य हो समाजमा हुने घटना नै साहित्य लेखनका सामग्री हुन्’ उहाँले भन्नुभयो— म यसबाट आर्थिक संकलन गर्ने भन्दा पनि सोखका लागि साहित्य सिर्जना गर्ने गर्दछु । पछिल्लो समय डिएसपी लामा राम्रो गीतकार र साहित्यकारको रुपमा आफूलाई पाठकसामू उभ्याउन सफल हुनुभएको छ । संगीत र संगीन लिएर एकसाथ अघि बढ्नुहुने गीतकार लामा गीत संगीत नै आफ्नो भावना व्यक्त गर्ने बलियो आधार भएको बताउँनुहुन्छ ।

























