९ जेठ, मेचीनगर : सरकारले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा सक्रियता बढाएको छ । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना स्थापना गरेर अहिले देशका विभिन्न पालिकाहरुमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तर्गत विभिन्न कार्यक्रम सुरु गर्दै आएको छ ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्र्यका लागि एकीकृत सेवा पहुँच परियोजना लागू भएका पालिकाहरुमा परियोजना कार्यान्वयन युनिट स्थापना गरेर काम शुरु भएको लैङ्गिक हिंसा विज्ञ कमला उप्रेती रिजालले जानकारी दिइन् ।
विश्व बैंकको सहयोगमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगतको लैङ्गिक हिंसा न्यूनिकरणका कार्यक्रम कोशी प्रदेशको धनकुटा जिल्लाको धनकुटा, मोरङ जिल्लाको उर्लाबारी, झापा जिल्लाको मेचीनगर नगरपालिका र संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका तथा लुम्बिनी प्रदेशको तिलोत्तमा र रामग्राम नगरपालिकामा ‘पाइलट प्रोजेक्ट’ को रुपमा सञ्चालन भइरहेको रिजालले जानकारी दिईन् । परियोजना कार्यान्वयन युनिट स्थापना गरिएको झापाको मेचीनगर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल, अन्तरक्रिया तथा प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गरिरहेको मेचीनगर नगरपालिकाको महिला, बालबालिका शाखाले जनाएको छ । विश्व बैंकको अनुदान सहयोगमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तर्गत मेचीनगरमा लैङ्गिक हिंसा न्यूनिकरणको तीन वर्षे अभियान सुरु भएको पालिकाले जनाएको छ ।

लैङ्गिक हिंसा विरुद्ध संलग्न सरोकारवाला, मेलमिलापकर्ताहरु , कर्मचारी तथा जनप्रतिनिधिहरु र पुरुष सञ्जालका लागि क्षमता अभिवृद्वि कार्यक्रम धमाधम सञ्चालन गरिरहेको नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् । मेचीनगर नगरपालिकाको महिला, बालबालिका शाखा प्रमुख जयन्ती खरेलले कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको तथा कार्यक्रम निक्कै लाभदायक रहेको प्रतिक्रिया दिइन् ।
शाखाले जेठ ४ गतेदेखि नगर सभाहल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा कार्यक्रम आयोजना गरिरहेको खरेलले बताईन् । जेठ ६ र ७ गते १५ वटै वडाका मेलमिलाप कर्ताहरुलाई, जेठ ८ र ९ गते दलित महिला, महिला जनप्रतिनिधि, शाखा प्रमुख, महिला वडा सचिव, कार्यपालिका सदस्यहरुलाई र जेठ १० र ११ गते नगरपालिकाले गठन गरेको पुरुष सञ्जालको कार्यसमिति र वडाका सञ्जाल प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यतालिका रहेको खरेलले बताईन् । लैङ्गिक हिंसा अन्त्यका लागि गठित ‘पुरुष सञ्जाल’को क्षमता विकास तथा अभिमुखिकरण कार्यक्रम समेत तय गरेको छ । नगरपालिका क्षेत्रभित्रका १५ वटै वडाबाट छनौट भएका ‘पुरुष सञ्जाल’का सदस्यलाई कार्यक्रममा सहभागी गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिला हिंसा सम्बन्धीका घटनाहरु समाजमा थुप्रै रहेको बताए । समाजमा विविध कारणले पुरुषहरु पनि अनेक खालको हिंसामा परेका घटना समाजमा प्रशस्तै रहेको बताए । नगरपालिका र दातृ निकायको सहयोगमा गरिने यस्ता अभियानलाई सबैले साथ र सहयोग लिएर लक्ष्यमा पुग्नु पर्ने उनको जोड छ ।

मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले सबैखाले हिंसा अन्त्यका लागि कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने धारणा राखिन् । यसका लागि व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुपर्ने उनको भनाई थियो । लैङ्गिक हिंसा सम्बन्धी बुझाइलाई समुदायस्तरसम्म पु¥याउने उद्देश्यसहित क्षमता अभिवृद्धि कार्यक्रमको आवश्यकता उपप्रमुख उप्रेतीले औल्याईन् । सहभागीहरुलाई मुख्यः सहजकर्ता लैङ्गिक हिंसा सम्बन्धी वरिष्ठ विज्ञ मेनुका वस्नेत विष्ट र लैङ्गिक हिंसा विज्ञ कमला उप्रेती रिजालले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रमको उद्घाटनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीलगायतले विभिन्न विचार प्रस्तुत गर्ने तथा लैङ्गिक हिंसा विज्ञ कमला उप्रेती रिजालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने गरेकी छन् ।

सरकारले गत वर्ष लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत विभिन्न कार्यक्रम सुरु गरेको थियो । जसअनुसार मुलुकमै पहिलोपल्ट उर्लाबारी नगरपालिकाका अलवा धनकुटा नगरपालिका र मेचीनगर नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्र्यका लागि एकीकृत सेवा पहुँच परियोजना कार्यान्वयन युनिट स्थापना गरिएको छ ।































