
नेपालमा विभिन्न यातायातका साधन र तिनका पार्टपूर्जाको आयात हुन थालेपछि सवारी आयातमा भारी बृद्धि भएको छ । पूर्वी काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो दशमहिनामा २६ लाख २२ हजार ४ सय ३८ वटा यातायातका साधन र तिनका पार्टपूर्जाको आयात भएको छ । गत साउनदेखि बैशाख महिनासम्ममा काँकभिट्टा नाका भएर १ अर्ब १३ करोड ५४ लाख ६९ हजार रुपैयाँ मुल्य बराबरका त्यस्ता सामान आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी इश्वरकुमार हुमागाईँले जानकारी दिए । त्यस्ता वस्तुको आयातबाट कार्यालयले ३६ करोड ५३ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा यो नाका भएर ७६ करोड ९४ लाख ५८ हजार रुपैयाँका ८ लाख ७९ हजार ६ सय ४९ वटा यातायातका साधन र तिनका पार्टपूर्जा नेपालले आयात गरेको सरकारी अभिलेख छ । सो वापत कार्यालयले २३ करोड ६५ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
यो नाकाबाट आयात भएका मध्ये सवैभन्दा कम कारखाना वा स्टेशनमा प्रयोग हुने गाडीहरु छन् । दशमहिनाको अवधिमा यस्ता वस्तु एउटामात्र आयात गरेको कार्यालयको अभिलेख छ । २ हजार रुपैयाँको एउटा गाडी नेपाल भित्रिदा कार्यालयले १ हजार रुपैयाँ राजस्व संकलन गरेको अभिलेखमा छ । गतवर्ष पनि २ हजार रुपैयाँको एउटा गाडी नेपाल भित्रिदा कार्यालयले १ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

सरकारी अभिलेख हेर्दा आयात भएकोमा यातायातका साधन र तिनका पार्टपूर्जाको हिस्सा बढी छ । यो नाका भएर सवैभन्दा बढि ३ करोड ६५ लाख ९२ हजार रुपैयाँका १७ लाख ७३ हजार २ सय २४ वटा साइकल तथा मोटरसाइकलका पार्टस् नेपाल आयात भएको कार्यालयले जनाएको छ । सो वापत कार्यालयले ७२ लाख ३४ हजार राजस्व संकलन भएको छ । नेपालमा विलासीताको रुपमा हेरिने कारको आयात भने काँकरभिट्टा नाकाबाट न्यून देखिएको छ । चालु आवमा जीप कार र भ्यानहरुको आयात शुन्य भएपनि गत आर्थिक वर्षमा ३४ लाख ९७ हजार रुपैयाँ मुल्यका एकथान त्यस्ता सवारी साधन नेपाल आयात भएको तथ्यांक छ ।
बिलासी साधनको रुपमा लिइएको कार आयात कम भएपनि कृषिमा प्रयोग हुने ट्याक्टर, पावर टेलर संख्या उल्लेख्य छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखाएर कर्जामा नियन्त्रण गर्न थालेपछि सबैभन्दा बढी सवारीसाधनको बिक्रीमा नाकारात्मक असर परेको बताईएको छ ।
कृषिजन्य काममा प्रयोग हुने ट्याक्टर तथा ट्रिलरको आयात झण्डै तेब्बर बढेको छ । चालु आवमा काँकरभिट्टा नाका भएर १ सय ७८ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छन् । १५ करोड ५१ लाख ४४ हजार रुपैयाँका ती सामान आयात वापत कार्यालयले २ करोड ८९ लाख ८४ हजार रुपैयाँ राजस्व स्ंकलन गरेको थियो । गत आवमा ५ करोड ७६ लाख ६२ हजार रुपैयाँका ६६ वटा ट्याक्टर तथा ट्रिलर आयात गर्दा १ करोड ५९ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।
यो नाका भएर मोटरसाइकलको आयात बढेको छ । चाडपर्वको समयमा मोटरसाइकलको ब्यापार चम्केसँगै मोटरसाइकल आयातमा बृद्धि भएको विक्रेताहरुको भनाई छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३५ वटा मोटरसाइकल आयात भएकोमा चालु आर्थिक वर्षमा त्यसो संख्या बृद्धि भएर ४३ पुगेको छ । गत आवमा ६० लाख ७५ हजार रुपैयाँका मोटरसाइकल आयात वापत कार्यालयले २० हजार रुपैयाँ राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्षमा ७६ लाख ५० हजार रपैयाँका मोटरसाइकल आयात हुँदा २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । विद्युतिय मोटरसाइकलको आयात ह्वात्तै बढेको छ ।
चालु आवको दश महिनामा काँकरभिट्टा नाका भएर १० करोड ९४ लाख ३८ हजार रुपैयाँका ४ हजार ८४ वटा विद्युतिय मोटरसाइकल आयात हुँदा ५ करोड २९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यसअघिको आवमा यो संख्या ज्यादैं न्यून रहेको थियो । ३० करोड १४ लाख ३ हजार रुपैयाँका ८ सय २४ वटा त्यस्ता सवारी साधन आयात हुँदा गत आवमा ६१ लाख ८६ हजार रुपैयाँ कार्यालयले राजस्व संकलन गरेको जनाएको छ । यसैगरी, चालु आवको दशमहिनामा यो नाका भएर ४ लाख ६५ हजार रुपैयाँका १ हजार ५५ वटा केटाकेटीका वाहन र पार्टस आयात वापत १ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा सोहि सामान ४८ लाख ६ हजार रुपैयाँका ७ सय ३१ वटा आयात वापत १ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
२१ लाख २ हजार रुपैयाँका ७ सय ४९ वटा ट्रेलर आयात वापत ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा १ सय ३१ वाट ट्रेलर आयात भएका थिए । ८ लाख ८२ हजार रुपैयाँका ट्रेलर आयात वापत२ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । १ लाख ३३ हजार रुपैयाँका १८ वटा डम्पर आयात वापत४८ हजार रुपैयाँ कार्यालयले राजस्व संकलन गरेको सरकारी अभिलेख छ । गत आवमा ३ लाख ३२ हजारका २ वटा डम्पर आयात वापत १ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु आवमा १९ करोड ९३ लाख ५३ हजार रुपैयाँका ८० लाख ७ हजार ७ यि ६३ वाट मोटर गाडीका पार्टपूर्जाहरु आयात गरेर ७ करोड २५ लाख ५९ हजार,५० करोड ८६ लाख ९३ हजार रुपैयाँका ५ हजार ७ सय २८ वटा विद्युतबाट सञ्चालित तीन पाङग्रे सवारी साधन आयात वापत १८ करोड ११ लाख ४७ हजार रुपैया र ११ करोड ७७ लाख ८७ हजार रुपैयाँका २९ हजार ५ सय ९५ वटा साइकल ट्राइसाइकल डेलिभरी साइकल आयात वापत २ करोड २१ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । गत आवमा यो नाका भएर १६ हजार ३ सय रुपैयाँको ह्लि चियर आयात गर्दा १ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
























