पाका पुस्ताले सम्हालेको पेसा पछिल्लो समय लोप भएसँगै हराउँदैं भकारी डालो

३२ असार, मेचीनगर : कुनै बेला भकारी मेचीनगरका डोम समुदायको आम्दानीको राम्रो स्रोत बनेको थियो । यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, पर्व तथा गाउँघरमा पुरयाए बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । डोम समुदायको पुस्तैनी पेसा बाँसको समान बनाउनु पनि हो ।

केहीवर्ष अघिसम्म गाउँघरमा कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएकोमा उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् । युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो ।

बाँसको समान बनाएर यो समुदायको गुजारा राम्रैसँग चलेको थियो । पछिल्लो समय डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका कारण अहिले उनीहरुको परम्परागत पेशा संकटमा मात्र छैन् आम्दानीको राम्रो स्रोत नै गुम्ने अवस्थामा छ । केही अघिसम्म बाँसबाट दलित तथा जनजाति समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्नो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए ।

डोम समुदायले बाँसबाट विभिन्न सामान बनाउने गरेका छन् । बाँसबाट डाली, पंखा, भकारी, टाटी र अन्य सामान बनाई बिक्री गर्छन् । उनीहरूको जीवन यसैले धानेको छ । विवाहको सिजनभरी यस्तै सामान बनाएर गुजारा गर्छन् । त्यसपछि भकारी र अन्य सामान बनाएर बेच्छन् । उनीहरूको मुख्य पेसा बाँसका सामान बनाउने हो ।

भकारीलगायत बाँसबाट बनेका विभिन्न सामान बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका यस समुदायको पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन यतिखेर समस्या छ । ‘प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण यहाँका ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिँदै आएको डोका,डाला, थुन्से र भकारी लोप हुँदै गएका कारण पनि हाम्रो यो पेशा गुम्ने अवस्थामा छ । ’स्थानीय दिलीप डोमले भने ।

उनका हजुबुवा फौदार मल्लिकले उ बेला ग्रामीणक्षेत्रमा गएर बनाएको भकारीबाट प्राप्त आम्दानीले घर राम्रैसँग चलेको थियो ।‘हजुबुवाको निधन हुनु अघिसम्म उहाँले गाउँघर डुलेर धान हाल्ने भकारी बुनेरै हाम्रो परिवार चलाउनु भएको थियो । ’ उनले थपे । उनका हजुबुवाले एकदिनमा पाँचदेखि सातओटासम्म भकारी तयार गर्ने उनको भनाइ छ । भकारी बनाएरै मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुने गर्दथ्यो । ससजनमा त उनलाई भकारी बुन्न भ्याई नभ्याई हुन्थ्यो ।

भकारी बुने वापत आकार हेरहेर रकम लिने चलन थियो । कम्तिमा एउटाको सातसयदेखि बढिमा १३ सयसम्म लिने गर्दथे । घरको अन्य काम सकेर यही पेसा गर्नेले पनि राम्रै कमाई गर्ने गरेको भएपनि पछिल्लो समय कमाई नै हराउने अवस्थामा पुगेको मेचीनगर— १० का हरिदेव मल्लिकको गुनासो छ । ‘बाँसबाट भकारीलगायत विभिन्न प्रकारका सामग्री बुन्ने र त्यसको विक्रीबाट राम्रै आम्दानी हुन्थ्यो’ , मल्लिकले भने, ‘यही व्यवसायबाट वार्षिक रुपमा हजारौं आम्दानी गर्न कठिन हुन्न थियो ।

घरको अरु काम गरेर बचेको समयमा भकारी, डोको, पंखा, डाली, फिरफिरे बुनेर पनि वार्षिक १ देखि डेढलाख रुपैयाँसम्म आम्दानी हुन्थयो । पछिल्लो समय यस्ता बस्तुको माग घटेका कारण आम्दानी नै गुम्यो ।’ गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोग, बाँस अभाव भएपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा संकटमा परेको हो ।

पछिल्लो समय विभिन्न खालका सीपमूलक पेसा लोप हुने अवस्था पुगेको र यस्ता खालका परम्परागत पेसालाई जोगाउन आवश्यक रहेकाले यसमा सरकारले पहल गर्नुपर्ने स्थानीय भक्तबहादुर सिञ्जाली मगरको बुझाई छ । ‘यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन आवश्यक रहेको छ ’मगरले भने । अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ, अब बाँसबाट बुनेका सामग्री त लोप नै भइसकेको मेचीनगरकै देवीप्रसाद उप्रेती बताउँछन् ।

आफ्नो गाउँघरमा बूढापाकाले मात्र यस्ता बाँसको चोयाका सामग्री बनाउने गरेको मेचीनगरकै हरिबहादुर तामाङले बताए । यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने तामाङको भनाइ छ । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएको उप्रेतीले बताए । उनले भने—‘ प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकोले यसको संरक्षण गर्न आवश्यक छ । ’

स्थानीय व्यक्तिहरुले तयार गरेका सामग्रीको पनि बिक्री गर्न बजारको समेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.