८ साउन, मेचीनगर : कुनै समय नेपालको प्रमुख निर्यातजन्य वस्तुका रुपमा रहेको प्रशोधित पाम आयलको आयात पछिल्लो समय अस्वभाविकरुपमा बृद्धि भएको छ । इञ्जिन आयल बनाउन प्रयोग हुने बेस आयलको आयात भने ४८६ दशमलव १ प्रतिशतले बृद्धि भएको छ ।
व्यवसायीका अनुसार यो एक प्रकारको वनस्पतिजन्य तेल हो । अफ्रिकी मुलुकमा उत्पत्ति भएको यो तेल हाल इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन गरिन्छ । बेस र फर्निस आयल भारतको नयाँदिल्ली र कोलकता, युएई, सिंगापुर, चीन र अमेरिकाबाट आयात गरिने व्यवसायीहरुको भनाई छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेख अनुसार गत आर्थिक वर्ष २०८१—८२ मा काँकरभिट्टा नाका भएर ८४ करोड ५९ लाख ३१ हजार रुपैयाँ बराबरको ५८ लाख ४० हजार एसकय ४३ लिटर पाम तेल आयात गरेको छ । तेल आयात वापत कार्यालयले २० करोड ६१ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०—८१ मा यो नाका भएर ३२ लाख २० हजार रुपैयाँको २२ हजार चारसय लिटर पाम तेल आयात गरेको थियो । सो वापत नौ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०—८१ को तुलनामा गत आर्थिक वर्ष २०८१—८२ मा पाम तेलको आयातले २१ हजार चारसय ५२ दशमलव १ प्रतिशतले वा २० करोड ६१ लाख ४६ हजार रुपैयाँले राजस्व बढेको कार्यालयको अभिलेखमा छ ।
सबैभन्दा बढी प्रतिशत राजस्व बृद्धि भएका मुख्यः दश वस्तुहरुमध्ये प्रशोधित पाम आयल पहिलो स्थानमा छ । भारतमा सबैभन्दा बढि पाम तेलको निर्यात मलेसियाबाट हुन्छ । कुनै बेला भारतले एशियान मुलुकबाट पाम तेल आयातको मात्रा घटाउने निर्णय गरेको थियो । दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसिया, मलेसियाबाट भइरहेको कुल कच्चा आयतको ४४ प्रतिशतको हिस्सालाई ४० र रिफाइनरीको ५४ प्रतिशतको हिस्सा ४५ प्रतिशतमा झार्ने निर्णय गरेको थियो ।

भारतमा पाम तेलको मागभन्दा आयातको सीमा र भन्सारदरमा पनि परिवर्तन भइरहेपछि व्यवसायीले नेपाली बजारबाट तेल किन्न थालेका थिए । साथै, इण्डोनेसिया र मलेसियाबाट प्रशोधित पाम तेल आयात गर्दा भारतीय लगानीकर्तालाई ४० प्रतिशत भन्सार शुल्क लाग्छ । तर नेपाली आयातकर्ताले १० प्रतिशत भन्सार तिरेर ती मुलुकबाट तेल आयात गर्न सक्छन् । सिधै इन्डोनेसिया र मलेसियाभन्दा नेपालबाट लिँदा सस्तोमा पाइने भएपछि नेपालको बाटो हुँदै पाम तेल भारतीय बजारमा जाने क्रम तीव्र भएको थियो ।
एउटै वनस्पतिबाट कच्चा पाम तेल र पाम केर्नल दुई प्रकारको तेल उत्पादन गरिन्छ । यस्तो तेल कुल उत्पादनको ८५ प्रतिशत हिस्सा इन्डोनेसिया र मलेसियाले ओगट्छ । तर यो तेलको उत्पादन विश्वका ४२ देशमा पनि हुने जनाइएको छ ।
नेपाली व्यवसायीले मलेशियालगायत मुलुकबाट कच्चा पाम आयात गरेर कच्चा पामलाई प्रशोधन गरी भारतलगायत तेस्रो मुलुकमा निकासी गर्ने गरेका थिए । विदेशी मुद्रा तिरेर ल्याइएका पाम र भटमासको तेल प्रशोधन गरेर निर्यात हुने भएकाले नेपालको गाह्रस्थ उत्पादनमा यसले कुनै भूमिका खेल्न नसकेको बताइएको छ ।

आयतको तुलनामा निर्यात भने निक्कै कम रहेको तेल उद्योगीहरुले बताएका छन् । विराटनगरका उद्योगी प्रकाश मुन्दडाका अनुसार देशभरि करीब ३० वटा तेलका उद्योग रहेका छन् । मेची भन्सार कार्यालयका अनुसार सबैभन्दा बढी प्रतिशत राजस्व बृद्धि भएका मुख्यः दश वस्तुहरुमा श्रृगारका सामान ७१४ दशमलव ८ प्रतिशत, लसुन २ सय २५ दशमलव १ प्रतिशत, विद्युतीय मोटर साइकल ६०६ दशमलव ३ प्रतिशत, कपालमा प्रयोग हुने श्रृगारका सामान ५०६ दशमलव ७ प्रतिशत,रहरको आयात २७१ दशमलव ३ प्रतिशत, झयाल ढोकाको फिटिङ्ग कब्जा छेस्कीनि आदि १५४ दशमलव ८ प्रतिशत, टयाक्टर तथा ट्रिलर १२२ दशमलव ९ प्रतिशत र स्याम्पु १०८ दशमलव ८ प्रतिशतले आयात बृद्धि भएको छ ।

















