९ साउन, मेचीनगर : हामीले नुहाउँदा प्रयोग गर्ने स्याम्पु आयातमा करोडौ रुपैयाँ विदेशिने गरेको विवरण सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०८१—८२ मा काँकरभिट्टा नाका भएरमात्र पाँच करोडभन्दा बढी रुपैयाँ स्याम्पु आयातमा बाहिरीएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेख अनुसार गत आर्थिक वर्ष २०८१—८२ मा काँकरभिट्टा नाका भएर पाँच करोड ८२ लाख २८ हजार रुपैयाँ स्याम्पु आयातमा खर्च भएको छ । एक लाख ६१ हजार पाँचसय एघार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो । स्याम्पुको आयातबाट कार्यालयले भने तीन करोड ३४ लाख ७४ हजार रुपैयाँ राजस्व जम्मा गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०—८१ मा भने यहि नाका भएर ८२ हजार चारसय ४४ लिटर स्याम्पु नेपाल भित्रिएको छ । दुई करोड ८३ लाख २७ हजार रुपैयाँको स्याम्पु आयात गर्दा मेची भन्सारले एक करोड ६० लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको अभिलेखमा छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पूर्वी नाका भएर स्याम्पुको आयात परिमाणमा समेत बृद्धि भएको छ । स्याम्पु आयात वृिद्धका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्वमा समेत एक करोड ७४ लाख ४५ हजार रुपैयाँ बढेको र स्याम्पु आयातबाट राजस्व बृद्धिमा योगदान १०८ दशमलव ८ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सबैभन्दा बढी प्रतिशत राजस्व बृद्धि भएका मुख्यः दश वस्तुहरुमध्ये स्याम्पु दशौं स्थानमा छ ।
नेपालले भारत, चीन, थाइल्याण्ड, बंगलादेश, संयुक्त राज्य अमेरिका, भियतनाम, कोरिया, संयुक्त अरब इमिरेट्स, जर्मनी, इटाली, टर्की, मलेसिया, कतार, युनाइटेड किंगडम, ब्राजिल, कुवेत, जापान, अस्ट्रेलिया, फ्रान्स, साउदी अरेबिया, ताइवान, ओमान, इजरायल, साइप्रस, हङकङ, बहराइन, पोल्याण्ड, डेनमार्क, बेल्जियम, श्रीलंका लगायतका देशबाट स्याम्पु आयात गर्ने गरेको छ । नेपालले सबैभन्दा धेरै स्याम्पु आयात भारतबाट गर्ने गरेको छ ।
स्याम्पुमा मात्र होईन पछिल्लो समय दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । ‘नेइल पोलिस’, सिन्दुर, आँखा र ओठका श्रृगारका वस्तु, पेन्सिल, मार्कर, टुथपेस्ट, सेल्फी स्टिक, पकेट लाइटर आयातमा ठूलो धनराशि विदेशिएको छ । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्डलगायत देशबाट आयात हुने गरेको छ । श्रृगारको अर्को सामानका रुपमा रहेको क्रिम पाउडरको आयातमासमेत करोडौँ रकम खर्च हुने गरेको छ । आँखा र ओठलगायतमा प्रयोग हुने श्रृगारका सामान आयातमा बर्षेनी करोडौं रुपैयाँ विदेशिएको छ ।
सबैभन्दा बढी प्रतिशत राजस्व बृद्धि भएका मुख्यः दश वस्तुहरुमध्ये दोस्रो स्थानमा रहेको श्रृगारका सामानको आयात बृद्धि हुँदा राजस्व संकलनमा समेत उल्लेखिय भूमिका निर्वाह गरेको छ । राजस्व असुलीमा यसको योगदान ७१४ दशमलव ८ प्रतिशत रहेको छ । गत आवमा काँकरभिट्टा नाका भएर ६३ हजार दुई सय ८६ किलोग्राम श्रृगारका सामान आयातमा नौ करोड ६२ लाख ८० हजार रुपैयाँ विदेशिएको छ ।चार करोड ८९ लाख १९ हजार रुपैयाँ यस वापत राजस्व संकलन भएको छ । अघिल्लो आवमा ३३ हजार पाँचसय ९५ किलोग्राम यस्ता वस्तु खरीद गर्दा राज्यको एक करोड १६ लाख ४१ हजार रुपैयाँ विदेशिएको सरकारी अभिलेख छ । सो वापत राज्यले ६० लाख चार हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार अधिकारीहरुको भनाई छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पूर्वी नाका भएर श्रृगारका सामानको आयात परिमाणमा समेत बृद्धि भएको छ । आयात वृिद्धका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्वमा समेत चार करोड २९ लाख १६ हजार रुपैयाँ राजस्व बृद्धि भएको छ भने राजस्व संकलनमा योगदान ७१४ दशमलव ८ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
एकवर्षको अवधिमा १६ करोडभन्दा बढिका कपालमा प्रयोग हुने श्रृगारका सामान आयात भएका छन् । ती सामान खरीदमामात्र १६ करोड २० लाख १९ हजार रकम विदेशिएको छ । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो ।
गत आवमा काँकरभिट्टा नाका भएर उक्त मुल्य बराबरका तीनलाख २० हजार एकसय ७७ किलोग्राम कपालमा प्रयोग हुने श्रृगारका सामान आयात गर्दा आठ करोड ११ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस अघिको आर्थिक वर्षमा ६५ हजार चारसय ७२ किलोग्राम यस्ता वस्तु आयात गर्दा दुई करोड ६१ लाख ८८ हजार रुपैयाँ बाहिरिएको थियो । त्यस वापत कार्यालयले एक करोड ३३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्ता वस्तुको आयातबाट अघिल्लो आवको तुलनमा गत आवमा छ करोड ७७ लाख ४३ हजार बढि राजस्व संकलन भएको छ ।

सबैभन्दा बढी प्रतिशत राजस्व बृद्धि भएका मुख्यः दश वस्तुहरुमध्ये चौथो स्थानमा रहेको कपालमा प्रयोग हुने श्रृगारका सामानको कार्यालयको राजस्व संकलनमा ५०६ दशमलव ७ प्रतिशत योगदान रहेको छ ।


















