प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा देशका शीर्ष नेताहरूको प्रारम्भिक नतिजा निकै रोचक र अप्रत्याशित देखिएको छ। पछिल्लो प्राप्त विवरण अनुसार नयाँ दल र युवा नेताहरूको तीव्र लहरका बीच केही स्थापित दिग्गज नेताहरू पछाडि परेका छन्।
झापा–५ मा बालेनको फराकिलो अग्रता, ओली पछि देशभरकै नजर रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुरुवातमै ठूलो मतान्तरले पछाडि पार्नुभएको छ। १ हजार ४ सय ७८ मत गणना हुँदा बालेनले १ हजार ९३ मत प्राप्त गर्नुभएको छ भने ओलीले मात्र ३८५ मत पाउनुभएको छ।
चितवन र रुकुम पूर्वमा रवि र प्रचण्डको वर्चस्व चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछानेले ३ हजार २६५ मतसहित अग्रता कायम गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अस्मिन घिमिरेले १ हजार ५ सय १९ मत पाउनुभएको छ। उता, रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १ हजार ४ सय १५ मतसहित सुरक्षित स्थानमा देखिनुहुन्छ। त्यहाँ एमालेका लिलमणि गौतम ४ सय ३१ मतमा रोकिनुभएको छ।
भक्तपुरमा महेश बस्नेत पछाडि अर्को चर्चित क्षेत्र भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीले एमाले सचिव महेश बस्नेतलाई कडा चुनौती दिनुभएको छ। खत्री ३ हजार ६ मतसहित अगाडि हुनुहुन्छ भने बस्नेत १ हजार ४ सय ८७ मतले पछाडि पर्नुभएको छ।
गणना सुरु हुन बाँकी क्षेत्रहरू:
सर्लाही–४: नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र (गणना सुरु हुन बाँकी)।
रौतहट–१: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको क्षेत्र।
इलाम–२: पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र।
यी प्रारम्भिक नतिजाहरूले नेपाली राजनीतिमा ठूलो फेरबदलको संकेत गरेका छन्। पुराना ‘हेभीवेट’ नेताहरू आफ्नै गढमा सुरक्षित हुन संघर्ष गरिरहेका देखिन्छन्।

























