काँकरभिट्टा, ९ फागुन | महिलालाई विभिन्न सीप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउने उद्घेश्यले एकमहिने सिलाई कटाई तालिम आइतबारदेखि मेचीनगरको काँकरभिट्टामा शुरु भएको छ ।

रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर वडानम्बर ६ को सहयोगमा शुरु गरेको तालिमको उद्घाटन वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले गर्नुभएको थियो । उहाँले हातमा सीप भएर कोहि पनि बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्नेमा बताउनुभयो । तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न उहाँले आग्रह गर्नुभयो ।

काँकरभिट्टास्थित सामुदायिक भवनमा शुरु तालिममा वडानम्बर ६ का १० जना सहभागी छन् । उनीहरुलाई यञ्जना घिमिरेले प्रशिक्षण प्रदान गर्नुहुने छ । रोटरी क्लब अफ काँकरभिट्टाका उपाध्यक्ष इञ्जिनियर रुद्र मैनालीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नगर सदस्य राजकुमार श्रेष्ठ, रोटरीका पूर्व अध्यक्ष दिलीप सुवेदी, महासचिव उदयकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

दैनिक ४ घण्टा सहभागीहरुलाई सिलाई कटाई सम्बन्धि तालिम प्रदान गरिने कार्यक्रम संयोजक तथा सञ्चालक सुजन प्रधानले बताउनुभयो ।

















