काठमाडौँ । बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बीपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्दलाई केही समय परिमार्जन गरी पुनः थप गरिएको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले सम्भावित जोखिमलाई ध्यानमा राख्दै विगत एक महिनादेखि जारी रात्रिकालीन बन्दको समयलाई दुई घण्टा घटाएर अनिश्चितकालीन रूपमा निरन्तरता दिने निर्णय गरेको हो।
नयाँ निर्णयअनुसार अब अर्को सूचना जारी नभएसम्म राजमार्गको काभ्रेस्थित नमोबुद्ध नगरपालिकाको कटुञ्जे (चौकीडाँडा) देखि सिन्धुलीको नेपालथोक सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म आवागमन पूर्ण रूपमा बन्द रहनेछ। यसअघि गत २२ वैशाखदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म १२ घण्टा राजमार्ग बन्द गरिँदै आएको थियो। जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार हाल दिन लम्बिएको अवस्था भएकाले यात्रु तथा विभिन्न व्यवसायीहरूको मागलाई मध्यनजर गर्दै बन्दको अवधि २ घण्टा घटाइएको हो।
बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा सतह बढेर डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने उच्च जोखिम कायमै छ। गत २१ वैशाखको राति वर्षाका कारण रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा ५ वटा माइक्रो बसका ८९ यात्रु अलपत्र परेका थिए, जसको राति नै उद्धार गरिएको थियो। प्रहरीको चेतावनीलाई बेवास्ता गर्दै लापरबाहीपूर्ण तरिकाले यात्रुको जीउधन जोखिममा राखेर सवारी चलाउने ती माइक्रो बसका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही समेत गरिसकेको छ। गत सालको बाढीपहिरोले चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि हाल खोलामै डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकाले प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ।

























