ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको निर्माण कार्यलाई बिना अवरोध छिटो सम्पन्न गर्न माग गर्दै सदरमुकाम फुङलिङमा एक बृहत् सद्भाव र्याली निकालिएको छ। ‘विकासप्रेमी युवा समाज’ को ब्यानरमा निकालिएको उक्त र्यालीमा स्थानीय बासिन्दा, उद्योगी व्यवसायी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो।
फुङलिङ बजारको परिक्रमा गरेपछि वीरेन्द्र चोकमा पुगेर सभामा परिणत भएको र्यालीका सहभागीहरूले केवलकार निर्माणले ताप्लेजुङको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने दाबी गरे। निर्माण पक्षका अनुसार यस परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। पछिल्लो समय सरकारले निर्माण कार्य स्थगन गर्न निर्देशन दिएको भन्ने चर्चा चलिरहेका बेला विकासप्रेमी नागरिकहरूले परियोजनालाई निरन्तर अघि बढाउने सुरक्षित वातावरण बनाउन सरकारसँग जोडदार माग गरेका छन्।
सभालाई सम्बोधन गर्दै फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरे, ज्येष्ठ नागरिक अगुवा कर्ण लिम्बू, जेनजी अगुवा करण गुरुङ, महिला नेतृ मिना गुरुङ, र युवा अगुवा पदमचेन्जी माबो लगायतले ६० प्रतिशत लगानी भइसकेको राष्ट्रिय गौरवको आयोजनालाई बीचमै रोक्नु ताप्लेजुङकै लागि प्रत्युत्पादक हुने धारणा राख्नुभयो।
विपक्षको विरोध र स्थानीयको चिन्ता
अर्कोतर्फ, केवलकार निर्माणको विरोध पनि उत्तिकै सशक्त रूपमा हुँदै आएको छ। केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति र मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको मुक्कुमलुङ क्षेत्रमा केवलकार बनाउन नहुने भन्दै खारेजीको माग गरिरहेका छन्। विकासका नाममा प्राकृतिक विनाश हुने र रैथाने संस्कृति मासेर व्यापारिक केन्द्र मात्र बनाउन खोजिएको उनीहरूको आरोप छ। केवलकार निर्माणको पक्ष र विपक्षमा विगत लामो समयदेखि भइरहेका शृङ्खलाबद्ध गतिविधि र आन्दोलनका कारण जिल्लामा सामाजिक सद्भाव बिग्रने र दैनिक जनजीवनमा समस्या हुन थालेको भन्दै केही स्थानीय बासिन्दाहरूले चिन्ता व्यक्त गरेका छन्।

























