काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को मौका (ग्रेड वृद्धि) परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ। गत साउन २ र ३ गते सञ्चालन गरिएको उक्त परीक्षाको नतिजा बोर्डले प्रकाशित गरेको हो।
बोर्डका अनुसार परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना अर्थात् ८१.१९ प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन्। साथै, परीक्षामा अमर्यादित कार्य गरेका ३ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।
नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीहरूका लागि बोर्डले आवेदन खुला गरेको छ। इच्छुक परीक्षार्थीले साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ दस्तुर बुझाएर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
त्यस्तै, परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको १० दिनपश्चात् तोकिएको दस्तुर बुझाई ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नतिजामा कुनै प्राविधिक त्रुटि वा विवरण फरक परेमा नतिजा प्रकाशन भएको ६ महिनाभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

























