२५ साउन, मेचीनगर : पछिल्लो समय झापामा करेन्ट लागेर मृत्यु हुने मानिसको संख्या बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८२—८३ को पहिलो साउन महिनाको तेस्रो सातासम्म झापामा करेन्ट लागेर चारजनाको ज्यान गईसकेको छ । एउटा चौपाया करेन्ट लागेर मरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक [डीएसपी] खगेन्द्रबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८१—८२ मा जिल्लामा करेन्ट लागेर १५ जनाको ज्यान गएको थियो । उनका अनुसार ज्यान गुमाउनेमा एकजना बालक र बाकी १४ जना पुरुष रहेका थिए । यो वर्ष दुईवटा हात्ती करेन्ट लागेर मरेका छन् ।
झापाको कमल गाउँपालिका–३ स्थित रतुवामाई जंगलमा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको थियो । २० जेठमा हात्तीले विद्युत् पोलमा धक्का दिँदा तार खसेको र त्यसैको करेन्ट लागेर घटनास्थलमै हात्तीको मृत्यु भएको थियो ।

तर, चालु आवको शुरु महिनामा चारजनाको ज्यान गईसकेको छ । यसरी करेन्ट लागेर ज्यान गुमाउनेमा पानी तानेर सिञ्चाई गर्ने क्रममा करेन्ट लाग्दा बढी दुर्घटना भएर धेरैको ज्यान गएको छ ।
२ साउनमा जिल्ला झापा अर्जुनधारा — ४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डेको करेन्ट लागेर ज्यान गएको प्रहरीसँग अभिलेख छ । उनी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र विर्तामोडमा फिल्ड कर्मचारीका रुपमा कामकाज गर्दै आएका थिए ।

बिर्तामोड —२ पश्चिम स्टेण्ड बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनलाई कार्यालयको कर्माचारीले उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।
७ साउनमा जिल्ला झापा गौरादह— ७ करीव ७७ वर्षीया तेजकुमारी उप्रेतीको पनि करेन्ट लागेर ज्यान गयो । घर नजीकै आफ्नै ग्वालीमा कुटी काट्ने मिसिनबाट अचानक करेन्ट प्रवाह हुँदा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो ।
१२ साउनमा जिल्ला झापा कचनकवल गाउँपालिका— ७ सितागढी टोल बस्ने ५० वर्षीय अरूण राजवंंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घर नजीकै रहेको सिञ्चाईको मोटरमा तार जोडने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो भने । २१ साउनमा झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मोटरबाट पानी तानेर खेतमा सिञ्चाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भयो । यसरी करेन्ट लाग्दा कसैको गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजादैं गर्दा बाटैमा, कसैको उपचारका क्रममा अस्पतालमा र कसैको घटनास्थलमै मृत्यु हुने गरेको प्रहरीको भनाई छ ।
१७ साउनमा झापा भद्रपर नगरपालिका —५ झिम्की चोकमा विजुलीको ट्रान्समिटरको भुईमा गाडीएको तारमा करेन्ट सप्लाई हुँदा स्थानीय पवित्रा यादवको गाईलाई अचानक करेन्ट लागि मृत्यु भएको प्रहरीको भनाई छ । कतिले आफ्नो थोरै लापरवाहीका कारण करेन्ट लागेर ज्यान जाने गरेको प्रहरी अधिकारीहरुको भनाई छ ।
करेन्ट लगाएर माछा मार्दा समेत झापाका सर्वसाधारणले ज्यान गुमाउँने गरेका छन् । ‘खोलानाला र जमेको पानीमा करेन्ट लगाएर माछा मार्न जादा हुने घटनाको तथ्याङ्क पनि नेपाल प्रहरीसँग लामै छ । यसो गर्नु हुदैँन यो आफ्नै लागि जोखिम छ भन्ने थाहा पाउँदा पाउँदैं पनि मानिसले यस्तो काम गरेर ज्यान गुमाई रहेका छन् । ’ एकजना प्रहरी उपरीक्षकको भनाई छ । उनी भन्छन् ‘ यसरी करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो । एकछाक माछाको लोभमा करेन्ट लगाउँदा मानिसले ज्यान समेत गुमाउनु परेको छ ।’

करेन्ट लगाएर माछा मार्दा ज्यान गुमाउनेको अभिलेख प्रहरीसँग सुरक्षित भएपनि करेन्टको प्रयोग गरेर माछा मार्ने पक्राउ परेको तथ्याङ्क भने प्रहरी सामु छैन् । त्यस्तो सूचना प्राप्त भए प्रहरीले कानुनको दायरामा ल्याउँने बताएको छ । झापाका मेची निन्दा, टिमाई ,फुलवासा, हाडिया, कन्काई, रतुवा लगायतका नदीमा ‘करेन्ट’लगाई माछा मार्ने गरेका कारण सो नदीको जलचर संकटमा परेको चरा खोजकर्ता तथा उनीहरुको अधिकारका लागि क्रियाशील देवेन खरेलको भनाई छ ।
२०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा ‘कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन । सो ऐनको उक्त प्रावधान उल्लंघन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको यसका जानकारहरु बताउछन् ।

























