१७ साउन, मेचीनगर : कुनै बेला झापा मेचीनगरका स्थानीयवासीले नेवारी समुदायको पहिचान झल्किने लाखे नाच हेर्नकै लागि सुनसरीको धरान वा इटहरी या झापा जिल्ला बाहिरको लाखे नाच टोलीलाई पर्खनुपर्ने अवस्था थियो ।
पछिल्लो केहीवर्षयता देखि झापा मेचीनगर —६ काँकरभिट्टामा रहेको नेवाः समाज मेचीनगरले आफ्नै ठाउँमा निक्कै लाखे नाचका लागि कलाकारहरु उत्पादन गरिसकेको छ । परिणाम अहिले मेचीनगरमा लाखे नाच हेर्न पहिलाको जस्तो अवस्था छैन् ।

नेवारी कला र संस्कृति, पहिचान, कला र संस्कृति मार्फत पर्यटन प्रवद्र्धनमा लागेको यस समाजले शनिबार स्वदेश एवम् विदेशका गरी झण्डै २० वटा लाखे नाचलाई एउटै स्टेचमा नचायो । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको जिल्लामा लाखेनाच भएको छ । नेवार संस्कृति र परम्परा अनुसार भीमसेन मन्दिरमा पुजाआजा र सगुन खुवाएर लाखे निकालिने समाजले जनाएको छ ।

‘भाषा, कला र संस्कृतिको ज्ञान, नेवाः जातिको साझा पहिचान’ भन्ने मुख्यः श्लोग्नसहित मेचीनगर—६ काँकरभिट्टामा रहेको मेची सामुदायिक भवनमा झापा जिल्ला दोस्रो सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शनमा स्वदेश एवम् विदेशका विभिन्न लाखे टोलीहरुले प्रदर्शन गरेका थिए । नेवाः खल पुच झापाले आयोजना गरेको उक्र कार्यक्रमको सह—आयोजक तथा व्यवस्थापन नेवाः समाज समिति मेचीनगर –६ काँकरभिट्टाले गरेको कार्यक्रमको अध्यक्षता समेत गरेका नेवा समाज समिति मेचीनगर –६ काँकरभिट्टाका अध्यक्ष कमल गुभाजुले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नेवाः जागरण मञ्च संस्थापक सदस्य, पूर्व महासचिव नेवाः फिल्म एसोसिएसन अध्यक्ष तथा नेवाः सम्पदा संस्कृतिकर्मी रत्न महर्जनले पानसमा दीप प्रज्वलन गरी विधिवत उद्घाटन गरे । साथै नेवाः पासा मुना पुचः विर्तामोडका कलाकारले धिमेबाजाबाट उद्घाटन नृत्य प्रस्तुत गरेका थिए ।

लाखे नेवार समुदायको संस्कृति संग जोडिएको भन्दैं प्रमुख अतिथि महर्जनले नेवार जातीको संस्कृति र पहिचानको रुपमा मनाईने जात्रा पर्व रहेको स्पष्ट पारे । शुरुवातीको चरणमा यस्तो कार्यक्रम सञ्चालन गर्न निक्कै चुनौति खेप्नु परेको भएपनि पछिल्लो समयमा आएर आफ्नो समुदायको अस्तित्व रक्षा गर्न आफ्नो नेवारी समुदायका मानिसहरु एकजुट भएकाले कार्यक्रम सञ्चालन गर्न सहज बन्दै गएको सहभागी नेवार समुदायका अगुवाहरुका भनाई थियो । यस्ता नाचहरुले नेवार समुदायको पुरानो सांस्कृतिक पहिचानको संरक्षण र सम्बद्र्धन हुने उनीहरुको विश्वास छ । ऐतिहासिक महत्व बोकेको यो नाचमा पछिल्लो समय युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका कारण यो नाचको संरक्षण हुने उनीहरुको भनाई छ ।
कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सवै जातजातिका चाडपर्वहरूको अभिलेख राख्नुपर्ने र सूचीकृत हुनुपर्नेमा जोड दिदैं हरेक समुदाय, जातजातिहरु आफ्नो पहिचान, परम्परागत कला, संस्कृति लिपीको व्यवस्थित संरक्षणमा लाग्नुपर्ने बताए । नेपाली भाष, संस्कृति लिपीमा धनी भएकाले यस्ता संस्कृतिको पहिचानको संरक्षण गर्नु हामी सवैको कर्तव्य रहेको बताए । कला र संस्कृति जोगाउन स्थानीय सरकारले पनि नेवारी समुदायका लागि आवश्यक वाद्यबादनका सामग्रीहरुदेखि लाखेनाच, ठाकठुके नृत्य, धिमे बाजा बचाउने लगायतका प्रशिक्षणमा सहयोग गरेको नगर प्रमुख बुढाथोकीले बताए ।

अर्का विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको बताउदैं यहाँ बसोबास गर्ने सबै जातिजातिको आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति रहेको बताईन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो’, उनले भनिन् यिनै विविधताबिच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवम् सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन् । ’ यस्ता चाडपर्वहरुले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो ।
लोकतन्त्रमा मात्र सबै जात–जाति, भाषा–भाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्दै उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरुका लागि पनि जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी भएको बताईन ।

कार्यक्रममा इन्द्रपुर नेवाः पुच विराटचोक मोरङका उपाध्यक्ष नन्दकिशोर श्रेष्ठ, झिंगु समाज दमकका सहसचिव नवीनकुमार श्रेष्ठ, नेवाः समाज कल्याण गुठी भद्रपुरका अध्यक्ष नारायण श्रेष्ठ, नेवाः समाज कल्याण गुठी पृथ्वीनगरका अध्यक्ष लिला प्रधान, नेवाः पासा मुना पुचः विर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ, पासा मुना पुचः नेवा खल बाहुनडाागीका अध्यक्ष महेन्द्रमल्ल र झिगु खल, धुलावारीका अध्यक्ष जीवनकुमार प्रधानलगायतले बोलेका थिए । कार्यक्रममा सहभागी नेवाः समुदायका संघ संस्थालाई मायाको चिनोसहित सम्मन पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेवार जातिको कला संस्कृतिको सम्बद्र्धन एवम् जर्गेना गर्ने उद्धेश्यले नेवाः खल पुचः झापाले आयोजना गरेको कार्यक्रमलाई आर्थिक नैतिकरुपमा साथ सहयोग गर्नुहुने जगतलाल गुभाजु, प्रविन जोशी, अशोक श्रेष्ठ, चक्रबहादुर जोशी, मेघना प्रधान, बबिता श्रेष्ठ, मुक्ति श्रेष्ठ, अरुणकुमार प्रधानलगायत पाँचहजारभन्दा बढि आर्थिक सहयोग गर्ने २० जनालाई सम्मान पत्रमार्फत सम्मन गरिएको थियो ।

लाखे नाच, धिमेवाजा प्रदर्शन, नेवारी भाषामा गायनलगायतका नेवारी कला र संस्कृतिका विभिन्न कार्यक्रमहरु प्रदर्शन गरिएको समितिका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलाठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी स्वरुपकी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाच निक्कै प्रसिद्ध रहेको श्रेष्ठको भनाई छ । कृष्णजन्माष्टमीको दिन विधिवतरुपमा लाखेनाच सम्पन्न गरिने सचिव उषा श्रेष्ठको भनाई छ।
नेवा समाज समिति मेचीनगर –६ काँकरभिट्टाका सचिव उषा श्रेष्ठले सञ्चालन गरेको उद्घाटन समारोहमा उपाध्यक्ष मुक्ति श्रेष्ठले शब्दमार्फत सहभागी सवैलाई स्वागत गरे ।




























