काठमाडौँ । सेयर बजारमा लगातार आएको तीव्र गिरावटले अर्बौँ रुपैयाँ डुबेपछि आक्रोशित बनेका लगानीकर्ताहरू आइतबार सरकारको विरोधमा सिंहदरबार पुगेका छन्। बजार सम्हाल्न सरकारले ठोस कदम नचालेको भन्दै तनावग्रस्त बनेका लगानीकर्ताहरू सिंहदरबारको पूर्वी गेटमा जम्मा भई विरोध प्रदर्शन गरेका हुन्।
लगानीकर्ताहरूले आफ्ना प्रतिनिधिमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटी बजारको वर्तमान संकट समाधान गर्न र नीतिगत सुधारका मागहरू राख्ने योजना बनाएका थिए। तर, सिंहदरबार क्षेत्र ‘निषेधित क्षेत्र’ भएको भन्दै सुरक्षाकर्मीले उनीहरूलाई प्रवेशमा रोक लगाएका थिए।
प्रहरीले सुरुमा सम्झाउन खोजे पनि लगानीकर्ताहरूको भीड बढ्दै गएपछि र स्थिति उत्तेजित बन्दै गएपछि प्रहरीले बल प्रयोग गरी उनीहरूलाई सो क्षेत्रबाट लखेटेको छ। प्रदर्शनकारीहरूले “हाम्रो लगानी सुरक्षित गर”, “पूँजी बजार विरोधी अर्थमन्त्री राजीनामा दे” जस्ता नाराबाजी गरेका थिए। पछिल्लो समय नेप्से परिसूचकमा आएको भारी गिरावटले आम लगानीकर्ताको मनोबल खस्किएको छ भने अर्बौँको सम्पत्ति स्वाहा भएको छ।
























