काँकरभिट्टा, ५ चैत | झापा मेचीनगर—६ काँकरभिट्टा पुरानो भन्सारकी कमला लिम्बु केहि बर्षअघिसम्म स्थानीय एउटा निजी बोडिङ्ग स्कुलमा पढाउनुहुन्थयो । उहाँले पढाएका थुप्रै विद्यार्थीहरु अहिले सरकारी तथा गैरसरकारी संघ संस्थाका उच्च ओहोदामा पुगेका छन् ।
तर,अहिले कमला चाँहि सडकमा हुनुहन्छ । आइ एडसम्मको अध्ययन पुरा गर्नुभएकी कमलाले निजी स्कुलमा पढाएरै घर थाम्न नसक्ने अवस्था आएपछि पढाउने पेशालाई चटक्कै छाडेर सिटी सफारी (ई रिक्शा) चलाउन थाल्नुभयो । अहिले उहाँले सिटी सफारी (ई रिक्शा )चलाउन थालेको अब ठयाक्कै डेढवर्ष पुरा भएर दुईवर्ष लाग्यो । ‘हुनतः सडकमा सिटी सफारी (ई रिक्शा) चलाउनु र एउटा निजी बोडिङ्ग स्कुलमा पढाउनुमा धेरै फरक रहेछ’ कमलाले भन्नुभयो—‘तर,राम्रो नोकरी र चिटिक्कै परेर हिड्दा मात्रै घरको गर्जाे चाँहि टार्न नसकिने रहेछ ।’ शिक्षण पेशाबाट मात्रै घरयाशी गर्जाे टार्ने अवस्था नदेखेपछि माष्टरी पेशा छाडेर सिटी सफारी (ई रिक्शा) चलाउन थालेको उहाँको भनाई छ ।
उहाँ त मेचीनगरक्षेत्रमा सिटी सफारी (ई रिक्शा) चलाउने महिला चालकहरुको प्रतिनिधि पात्र हो । पछिल्लो समय मेचीनगरमा सिटी सफारी (ई रिक्शा)प्रति महिलाहरुको आर्कषण बढ्नुका साथै महिला सिटी सफारी (ई रिक्शा) चालकको संख्या समेत ह्वात्तै बढेको छ ।
कमलाले केहीवर्षअघि मात्र २ लाख १० हजार रुपैयाँमा सिटी सफारी (इ रिक्शा) खरिद गर्नुभयो । त्यही पनि व्याजमा ऋण काडेर । तर, सोचे बन्दा चाडै ऋण तिरेर सिटी सफारी (ई रिक्शा) आफ्नो नीजि बनाउनु भयो । आज आफ्नो ६ जना परिवारको मुखमा माड लगाउने भरपर्दाे साधन यहि सिटी सफारी (ई रिक्शा) बनेकोमा उहाँमा खुशीले गदगद हुनुहुन्छ । उहाँलाई सुकिलो मुकिलो भएर सुविधा सम्पन्न भवनमा गएर शिक्षण पेशा गर्दा जति सन्तुष्ट मिल्थियो अहिले सडकमा धुवाँ र धूलोसँग भिड्दै सडकमा सिटी सफारी (ई रिक्शा) कुदाउदाँ त्यो भन्दा बढी आनन्दको अनुभूति भएको अनुभव सुनाउनुहुन्छ । ‘दैनिक १५ देखि २५ हजार रुपैयाँ सिटी सफारी (ई रिक्शा) कुदाएरै कमाउछु’ कमलाले भन्नुभयो— ‘केही घरायशी काममा खर्च हुन्छ केही बचत गदैंछु ।’ नियमित सिटी सफारी (ई रिक्शा) कुदाएरै उहाँले राम्रै कमाइ गदैंहुनुहुन्छ । उहाँलाई चाडपर्वदेखी अन्य बखत पनि मिठो मसिनो खानदेखि एकसरो नयाँ कपडा लगाउन सिटी सफारी (ई रिक्शा) चलाएरै कमाएको रकमले साथ दियो । नियमित मेहेनत गरेकै कारण उहाँलाई घरको गर्जाे टार्न कुनै समस्या छैन् । मेचीनगर—७ कै लक्ष्मीकुमारी उप्रेतीको समेत अहिले आय आम्दानीको मुख्यः श्रोत नै सिटी सफारी (ई रिक्शा) बनेको छ ।

कुनैवेला सडकको फूटफाँथमा सामान्य खाजा पसल चलाएर जिविकोपार्चन गदैं आएकी लक्ष्ममीदेवी सिक्स ल्याण्डको सडक निर्माण हुने क्रममा विस्थापित हुनुभयो । ‘सडक पेटीमा ठेलागाडीमा खाजाको पसल सञ्चालन गदैं आएको थिए’ उहाँले भन्नुभयो—‘सिक्स ल्याण्डको सडक बन्ने भएपछि संरचना निर्माण हुन थाल्यो अनि मेरो पनि उठीवास भयो । त्यसपछि घर चलाउनै गाहे भयो अनि आफुजस्ता धेरै महिलाको सिटी सफारी (ई रिक्शा) कुदाएको देखेर मैले पनि शुरु गरे अहिले ढुक्क छ । राम्रै आम्दानी हुन्छ ।’ उहाँले पनि कमलाले जस्तै व्याजमा ऋण काढेर सिटी सफारी (ई रिक्शा) खरिद गर्नुभएको छ । सिटी सफारी (ई रिक्शा) खरिद गर्दा लागेको २ लाख ४० हजार रुपैयाँ ऋण यसैको कमाईबाट तिर्दै आएको उहाँको भनाई छ ।
तर, पुरुष चालकलाई भन्दा महिला चालकलाई सिटी सफारी (ई रिक्शा) चलाउन अलि बढी समस्या हुने उहाँहरुको भनाई छ । महिला चालकलाई यात्रु भेट्न गाहो हुने उहाँहरुको अनुभव छ । पुरुष चालकले यात्रुलाई तानेर हाल्ने गर्छन महिलाले त्यो हिम्मत राख्दैनन् । यात्रुहरु पनि महिलाले चलाएको सिटी सफारी (ई रिक्शा)मा चढ्न मान्दैनन् । यसकारण आफ्नो सवारी साधनको उचित पार्किङ्ग, आवश्यक कागजातसहित अन्य थुप्रै समस्या भएको महिला सिटी सफारी (ई रिक्शा) चालकको गुनासो छ ।
मेचीनगरमा कमला र लक्ष्मीकुमारी जस्तै थुप्रै महिलाहरु सिटी सफारी (ई रिक्शा) कुदाएरै आत्मनिर्भर बन्दै गएका छन् । केही वर्षअघिसम्म पुरुषले मात्र कुदाउने सिटी सफारी (ई रिक्शा)मा अहिले महिला चालकहरुको संख्या समेत उच्च रहेको मेचीनगर टेम्पु एण्ड ई रिक्शा अटो यातायात प्रालिले जनाएको छ । प्रालिका कोषाध्यक्ष विक्की मजुम्दार पछिल्लो समय सिटी सफारी (ई रिक्शा) प्रति महिला चालकहरुको आर्कषण बढेको बताउनुहुन्छ । तर, चालक अनुमती पत्र, व्यवस्थित पार्किङ्गसहित अन्य सरकारी आवश्यक कागजातको अभावमा समय समयमा प्रहरीले दुःख दिने गरेको उहाँको भनाई छ । सिटी सफारी (ई रिक्शा) चलाएरै नगरका धेरै महिलाले हजारौ रुपैयाँ कमाउन थालेको उहाँको भनाई छ ।
शुरु शुरुमा यहाँका १÷२जना महिलाले सिटी सफारी (ई रिक्शा) चलाएरै गरेको आम्दानीबाट प्रभावित भएर नगरका अन्य महिलाले सिटी सफारी (ई रिक्शा) चलाउन शुरु गरेका छन् । महिलालाई रोजगारमूलक र सीपमूलक जस्ता कार्यक्रम नगरपालिकाबाट हुन जरुरी रहेको उहाँको भनाई छ । अहिले मेचीनगरका महिलाको जीवनस्तर सुधार गर्ने एकमात्र आयाम भनेकै सिटी सफारी (ई रिक्शा) बनेको छ ।
यसरी नगरका अधिकाँश महिलाहरुको आम्दानीको गतिलो माध्यम बनेको सिटी सफारी (ई रिक्शा) सञ्चालनलाई व्यवस्थित बनाउन, आवश्यक कागजात उपलब्ध गराउन र यसमा देखिएका समस्यता हल गर्न स्थानीय सरकारले भूमिका खेल्न आवश्यक छ । यसका लागि सरकार लाग्न जरुरी छ ।





















