१३ पुस, काँकरभिट्टा : स्थानीय स्काउट कार्यालय मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित दोस्रो दल नायक तालिम भव्य रूपमा सम्पन्न भएको छ। तालिम २०८२ साल पुस ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको थियो।
तीन दिने तालिममा मेचीनगर नगरपालिकाभित्रका २६ वटा विद्यालयका ५० जना दल नायक स्काउटहरूको सहभागिता रहेको थियो। तालिममार्फत स्काउट दल नायकहरूलाई नेतृत्व विकास, अनुशासन, समूह व्यवस्थापन, जिम्मेवारी बोध तथा व्यवहारिक स्काउटिङ्ग सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
तालिमको अन्तिम दिन आयोजित समापन समारोहमा मेचीनगर नगर उपप्रमुख तथा स्थानीय परिषद् अध्यक्ष मीना पोखरेल उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै तालिममा सहभागी दल नायकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। सो अवसरमा बोल्दै उपप्रमुख उप्रेतीले सानै उमेरदेखि स्काउटिङ्गमा आबद्ध हुनु नेतृत्व विकास र सकारात्मक नागरिक निर्माणका लागि महत्वपूर्ण हुने बताउनुभयो।
उपप्रमुख उप्रेतीले सानै उमेरदेखि स्काउटिङ्गमा आबद्ध बालबालिका भविष्यमा जिम्मेवार, अनुशासित र समाजप्रति उत्तरदायी नागरिक बन्ने बताउनुभयो।
“स्काउटिङ्ग केवल अतिरिक्त क्रियाकलाप होइन, यो जीवन उपयोगी शिक्षा हो,” उहाँले भन्नुभयो, “दल नायक तालिमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सेवा भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। मेचीनगर नगरपालिका स्काउट गतिविधिको प्रवर्द्धनमा सधैँ सहकार्य गर्न तयार छ।”
समापन समारोहमा कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले स्काउट आन्दोलनले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
“आजका दल नायकहरू नै भोलिका नेतृत्वकर्ता हुन्,” भण्डारीले भन्नुभयो, “अनुशासन, सेवा र सहकार्य स्काउटिङ्गका मूल मन्त्र हुन्। यस्ता तालिमले विद्यार्थीहरूलाई केवल विद्यालयभित्र मात्र होइन, समाज र राष्ट्र निर्माणमा समेत सक्षम बनाउँछ।”
समापन समारोहमा कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवान विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। अतिथिहरूले स्काउटिङ्गले बालबालिकामा अनुशासन, सेवा भाव र सामाजिक जिम्मेवारी विकास गर्ने उल्लेख गर्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा तालिम अवधिभर काउन्सिलरको भूमिकामा सक्रिय स्काउटरहरू दीपक बागदास, आनन्द शमशेर बोहोरा, दीपक राया र सुष्मा सुब्बा तथा व्यवस्थापनमा सहयोग पुर्याउने सर्भिस टिमका रोभर/रेञ्जरहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।
नेपाल स्काउट मेचीनगरका प्रमुख आयुक्त कोर्स लिडर एवम् रीता थापाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा स्थानीय शैक्षिक पद्धति आयुक्त सुष्मा सुब्बा लिम्बुले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कोर्स लिडर तथा सहायक राष्ट्रिय प्रशिक्षक दुर्गाबहादुर लुइटेलले गर्नुभएको थियो।
आयोजकले यस प्रकारका तालिमले स्काउट आन्दोलनलाई थप सुदृढ बनाउँदै भविष्यका सक्षम नेतृत्व तयार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।