२३ वैशाख, काठमाडौँ : बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ।
बेलायतको वेस्टमिनिस्टरमा आयोजना हुने विशेष समारोहमा उनको राज्याभिषेक हुन लागेको हो।
बेलायतमा यस किसिमको राज्याभिषेक ७० वर्ष पछि हुन लागेको हो। राज्याभिषेकका लागि लण्डनको मुख्य सहरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ।
राज्याभिषेकमा संसारभरका एक सयभन्दा बढी देशका राष्ट्र प्रमुखहरु सहभागी हुने छन्। नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद उक्त कार्यक्रममा सहभागी हुने छन्।
लण्डनमा आज बिहान पानी पर्ने सम्भावना भए पनि ठूलो संख्यामा त्यहाँको सडकमा नयाँ राजा, रानीको स्वागतका लागि मानिसहरुको भीड लाग्न थालेको छ।
राज्याभिषेक समारोह दुई घण्टा जति लामो हुनेछ । यस समारोहमा २३ सय विशेष अतिथिहरु प्रत्यक्ष सहभागी हुनेछन्। टेलिभिजनमा पनि करोडौँ दर्शकले कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्ने छन्। उक्त समारोहमा राजा चार्ल्स तृतीय र महारानी केमिलाको राज्याभिषेक गरिनेछ।
राज्याभिषेक समारोह लण्डनको स्थानीय समय अनुसार बिहान ११ बजे सुरु हुनेछ। डिउक अफ ससेक्स, युवराज ह्यारी अमेरिकाबाट समारोहमा उपस्थित हुन हिजै लण्डन पुगिसकेका छन्।

























