इरान र अमेरिकाबीच दुई साताका लागि सर्तसहितको युद्धविराम सहमति भएपछि विश्वबजारमा ऊर्जा मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ भने अन्तर्राष्ट्रिय शेयर बजारमा सुधार आएको छ।
सहमति अनुसार होर्मुज जलडमरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएपछि आपूर्ति प्रणाली सहज हुने विश्वास गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड)को मूल्य करिब १५ दशमलव ९ प्रतिशत घटेर प्रतिब्यारेल ९२ दशमलव ३० अमेरिकी डलरमा झरेको छ। अमेरिकी तेलको मूल्य पनि झन्डै १६ दशमलव ५ प्रतिशतले घटेर ९३ दशमलव ८० डलरमा पुगेको छ। यद्यपि, द्वन्द्व सुरु हुनुअघि रहेको करिब ७० डलरको स्तरभन्दा मूल्य अझै उच्च नै रहेको छ।
यसअघि इरानले जलडमरूमार्फत आवतजावत गर्ने जहाजमाथि आक्रमणको चेतावनी दिएपछि मध्यपूर्व क्षेत्रबाट तेल तथा ग्यास आपूर्ति प्रभावित भएको थियो, जसका कारण ऊर्जा मूल्यमा तीव्र वृद्धि भएको थियो।
युद्धविरामको खबर सार्वजनिक भएसँगै एसिया–प्रशान्त क्षेत्रका शेयर बजारमा सकारात्मक प्रभाव परेको छ। जापानको निक्केई २२५ सूचकांक ४ दशमलव ५ प्रतिशतले बढेको छ भने अष्ट्रेलियाको एएसएक्स २०० सूचकांक २ दशमलव ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँग भएको सहमतिअनुसार दुई सातासम्म आक्रमण स्थगित गर्ने बताएका छन्। इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि आक्रमण रोकिए युद्धविराम कायम रहने र होर्मुज जलडमरू सुरक्षित रूपमा सञ्चालन गर्न सकिने बताएका छन्।
विश्लेषकहरूका अनुसार उक्त सहमतिले विश्व अर्थतन्त्रमा स्थिरताको संकेत दिएको छ भने ऊर्जा बजारमा अनिश्चितता घटाउने अपेक्षा गरिएको छ।
























