२ साउन , काँकरभिट्टा : नेपाली राजनीतिका अग्रज, प्रजातन्त्रवादी नेता नेपाली काँग्रेस जेष्ठ नागरिक सभाका केन्द्रिय सदस्य झापा मेचीनगर —८ निवासी पुण्यप्रसाद पौडेलको ८७ वर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसका पुराना नेता पौडेलको निजी निवासमा गएराति साढे १२ बजे हिर्दयघातका कारण निधन भएको उहाँका छोरा पुष्पराज पौडेलले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य, सामाजिक, धार्मिक, व्यक्तित्व स्वर्गीय पौडेलले प्रजातन्त्र प्राप्तीका लागि निक्कै संघर्ष गर्नुभएको थियो । प्रजातन्त्र सेनानी भूःविक्रम नेम्वाङ, पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य नरेन्द्र विक्रम नेम्वाङ, काँग्रेस नेता परशुराम भण्डारीका समकालिन स्वर्गीय पौडेललाई सवैले आदर र सम्मानजनक रुपमा ‘पूण्य वावु’ भनेर सम्बोधन गर्ने गरेका थिए । सामाजिक, साँस्कृतिक, शैक्षिक तथा राजनीतिकक्षेत्रमा उत्तिकै लोकप्रिय नाम कमाउनु भएका स्वर्गीय पौडेलकै नामबाट इटाभट्टा भृकुटी रोडमा‘ पुण्यचोक’ नाम रहन गएको स्थानीयको भनाई छ ।
पञ्चायतकालमा चुनावलाई उपयोग गर्ने काँग्रेसको नीति अन्तर्गत तत्कालिन काँकरभिट्टा गाउँ पञ्चायतको अध्यक्ष पदमा उम्मेद्वार समेत हुनु भएका पौडेल काँग्रेस भित्र बौद्धिक तथा निष्ठावान नेताको रुपमा परिचित हुनुहुन्थयो ।
नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल पञ्चायती ब्यवस्थाबिरुद्धको जनआन्दोलनका क्रममा २०४६ सालमा पक्राउ परी दुई महिना झापा कारागारमा समेत बस्नु भएका पौडेलको निधनले नेपाली काँग्रेसले मार्ग दर्शक तथा स्नेही नेता गुमाएको प्रतिक्रिया व्यक्त गर्नुहुुन्छ । स्वर्गीय पौडेलले प्रजातन्त्र प्राप्तीको आन्दोलनमा भूमिगत जीवन समेत बिताउनु भएको थियो । पौडेललाई झापाका काँग्रेस कार्यकर्ताले अभिभावककै रुपमा लिने गरेका थिए । उहाँको निधनले पार्टीभित्र ठूलो क्षति पुगेको पार्टीका १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको भनाई छ । पार्टीका मेचीनगर सभापति इन्द्रबुडाथोकीले आफ्नो फेसबुक पेचमा पार्टीका एक अग्रज नेता अस्ताएको भन्दैं अलविद ‘पूण्य वावु’ लेखरे पोस्ट गर्नुभएको छ । दिवंगत पौडेलप्रति भावपुर्ण श्रद्घाञ्जली व्यक्त गदैं नेता बुडाथोकीले शोकाकुल परिवारजना समवेदना व्यक्त गर्नुभएको छ ।
अन्तिम श्रद्घाञ्जलीका लागि पौडेलको शवलाई केही बेर निवासमै राखिएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, पुर्व राष्ट्रिय सभा सदस्य डिल्ली सिटौला, पार्टीका झापा उपसभापति राम कट्टेल, सचिव तारावीर कट्वाल, कोषाध्यक्ष केशवराज पाण्डेलगायतका नेता कार्यकर्ताहरुले स्वर्गीय पौडेलप्रति भावपुर्ण श्रद्घाञ्जली व्यक्त गदैं पार्टीको चारतारे झण्डा ओढाउनु भएको थियो । पौडेलको निन्दा खोलास्थित रामघाट दिव्यधाममा अन्त्येष्टी गरीएको थियो ।
स्वर्गीय पौडेलका दुई छोरा र तीन छोरीहरु हुनुहुन्छ । जेठो रमेश पौडेल ग्रामिण बिकास बैंकको पुर्व पुर्वाञ्चल डाइरेक्टर हुनुहुन्थ्यो भने कान्छा छोरा पुष्पराज पौडेल धुलाबारी क्याम्पसका प्रमुख तथा नेपाली काँग्रेसका झापा जिल्ला सदस्य हुनुहुन्छ । स्वर्गीय पौडेलप्रति मेरो मेचीनगर डट कम परिवार भावपुर्ण श्रद्घाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
























