१४ असोज, काँकरभिट्टा : झापाको मेचीनगर–६, काँकरभिट्टा प्रधान कार्यालय रहेको जन–संसद् दैनिक आजबाट १७ औँ वर्षमा प्रवेश गरेको छ ।
आजैका दिन २०६२ असोज १४ गते घटस्थापनाका दिन जन–संसद् दैनिकको शुभारम्भ भएको हो ।

राजा ज्ञानेन्द्रले प्रजातन्त्र ‘कू’ गरी शासन सत्ता कब्जा गरी जनतामा दमन गर्न थालेपछि जनतालाई सुसूचित गराउने उद्देश्यले थालनी गरिएको जन–संसद् दैनिक आजसम्म निरन्तर प्रकाशित हुँदै आएको छ ।
जन–संसद् दैनिकले तात्कालिन समयमा राजाको कुशासन र प्रजातन्त्रको स्थापनार्थ जोडदार खबरदारी गर्न थालेपछि प्रशासनको तारो बन्यो । त्यसबेला सबै राजाीतिक दलका नेतृत्व वर्ग, नेपाल, भारत, अमेरिका र यूरोपका हस्ती, पत्रकार, नेता, अन्तर्राष्ट्रिय पत्रकार महासंघले हौसला दिएका थिए।
झापाका चर्चित पत्रकार मोहन काजी संस्थापक सम्पादक रहेको यस दैनिकमा हाल मुक्ति पौडेल प्रधान सम्पादक हुनुहुन्छ ।
जनताले पाउने सूचनाको हकको पहरेदार भएर एक कदम अगाडि उभिएको जन–संसद् दैनिकलाई जनताको आवाजलाई पाठकमाझ पुर्याउने अभियानमा आगामी दिनमा समेत निरन्तर अघि बढाउन आफूहरु प्रतिबद्ध रहेको प्रकाशन समूहका अध्यक्ष केशवराज पाण्डेले बताए ।
कठोर स्थितिका बेला सुरु भएको जन–संसद् पत्रिकालाई बृहत् रुप दिई निरन्तरता दिन सहयोग गर्ने सबैप्रति सञ्चालक समूहले आभार प्रकट गरेको छ ।
१७ औँ वार्षिकोत्सवको आवसरमा जन–संसद् दैनिकलाई हब डिजिटल मिडिया प्रा.लि. एवम् मेरो मेचीनगरडटकमको तर्फबाट उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
























