५ वैशाख, मेचीनगर : मुलुक स्थानीय तहको निर्वाचनमा होमिइसकेको छ । निर्वाचन आयोगले निर्वाचनको मिति तोक्नुका साथै निर्वाचनका लागि आवश्यक कामकारबाही अगाडि बढाइसकेको छ । अब निर्वाचन सर्छ, निर्धारित समयमा हुँदैन भन्ने संशय बाँकी छैन् ।
यस्तो बेलामा राजनीतिक दलहरुलाई भने उम्मेद्वार छान्न सकस छ । तर, निर्वाचन लक्षित सम्पर्क कार्यालय खोल्न भने मेचीनगरमा दलहरुमा होडवाजी नै चलेको छ । नगरको वडानम्बर— ६ भानुटोलको करीव १ सय ५० मिटर वरिपरीको दुरीमा तीनवटा राजनीतिक दलहरुले निर्वाचनलाई लक्षित गरेर सम्पर्क कार्यालय खोलेका छन् ।
अझ सत्ता साझेदार जनता समाजवादी पार्टी नेपाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको त भानुटोलमा रहेको सम्पर्क कार्यालयको दुरी २० मिटर पनि छैन् । जनता समाजवादी पार्टीको निर्वाचन लक्षित सम्पर्क कार्यालय पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ्ग र नेकपा एमालेको निर्वाचन लक्षित सम्पर्क कार्यालय पार्टीका केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गर्नुभएको थियो । एमालेको कार्यालय उद्घाटन गर्न १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकी, झापाका जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीसमेत आइपुग्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सोहि ठाउँमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । हरेक निर्वाचनमा मेचीनगरको निर्णयक मत नै मेचीनगर—६ भानुटोलको हुने गरेको छ । नगरका १५ वटा वडामध्ये सबैभन्दा बढी मतदाता ६ नम्बर वडाको भानुटोलमा छन् । त्यही भएर पनि यो क्षेत्रलाई हरेक राजनीतिक दलले भोट बैंककारुपमा लिने गरेका छन् । शायद त्यही भएर पनि होला यसक्षेत्रमा सम्पर्क कार्यालय खोल्न हरेक राजनीतिक दलले तछाडमछाड नै गर्ने गरेका छन् ।
चुनाव नजिकिँदै गर्दा जनतामा समेत उत्साह र रौनक छ । एक पार्टी छाडेर अर्काे पार्टीमा प्रवेश गर्नेको लहर्काे पनि मेचीनगरमा ठूलै छ । त्यसका कारण पनि दलहरुले धमाधम पार्टीको सम्पर्क कार्यालय खोलीरहेका छन् ।


























