२० असोज, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् ।
विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो ।
एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज शनिबार प्रदेशसभा बैठक बोलाइएको थियो ।
संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन ।
दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६८ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुन १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नपाउने सुझाव दिएका थिए ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दै छ ।
तर, अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था नदेखिएपछि राजीनामा दिन लागेका हुन् ।
























