१७ वैशाख, मेचीनगर : नेकपा एमाले सल्लाहकार परिषद सदस्य विष्णुप्रसाद प्रसाईले एमाले सरकारले देशमा गरेको विकासका कामबाट आत्तिएर अहिले ५ दलीय गठबन्धन एमाले सिध्याउने खेलमा लागेको आरोप लगाउनुभएको छ ।
आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनकालागि नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै निर्वाचन परिचालन कमिटी मेचीनगका सहसंयोजक समेत रहनु भएका प्रसाईले अब एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
मेचीनगरको १५ नम्बर वडामा नगरप्रमुख पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी, उपप्रमुख पदका उम्मेद्वार मीना पोखरेल उप्रेती, वडानम्बर १५ का वडाध्यक्षका उम्मेद्वार मुरलीधर कोइराला, वडासदस्यहरु राजु राजवंशी, सन्तोष खवास, महिला सदस्य विमला राजवंशी र दलित महिला सदस्य मीरा विकसहितक पार्टीले घरदैलो अभियान गरेको थियो ।
यदि मेचीनगरमा एमालेको नेतृत्वमा सरकार गठन भए स्वास्थ्य, शिक्षा, खानेपानी, विजुली, सञ्चार, कृषि, बाटोघाटो सिञ्चाईलगायत स्थानीय जनतालाई सहजरुपमा उपलब्ध गराउने नेताहरुको भनाई छ । ‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली मेयरसहित सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् ।
घरदैलो कार्यक्रममा वडा नं. १५ का एमालेका उम्मेद्वार एवम् लोकप्रिय कम्युनिष्ट नेता मुरलीधर कोइराला र वडा सदस्यका उम्मेद्वारहरुलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाई र भीम खवास, संविधान सभा सदस्य मानसिहं राजवंशीको विशेष उपस्थितिले घरदैलो कार्यक्रममा हौसला थपिएको मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य कुश्मी चौधरीले बताउनुभयो । घरदैलो अभियान वडा नं. १५ को टोल टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको चौधरीले जानकारी दिनुभयो ।
भोट माग्दै उम्मेद्वारसहितको टोली विभिन्न चिया कमानहरुमा पुगेको थियो । मजदुरहरुले यसपाली नेकपा एमालेका विकासप्रेमी एवम् सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई भोट दिने बताएका छन् । स्थानीय मजदुर, सुकुम्बासी र महिलाको अपार सहभागिता रहेको घरदैलो कार्यक्रम निरन्तर अघि बढिरहेको नेकपा एमाले मेचीनगरले जनाएको छ ।
वडाका विभिन्न स्थानमा भएको कोणसभालाई नेताहरु विष्णुप्रसाद प्रसाई, भीम खवास, मानसिहं राजवंशी, नगरप्रमुख पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी, उपप्रमुख पदका उम्मेद्वार मीना पोखरेल उप्रेती, वडानम्बर १५ का वडाध्यक्षका उम्मेद्वार मुरलीधर कोइरालालगायतले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन वडानम्बर १५ निर्वाचन परिचालन समितिका संयोजक जीवन सापकोटाले गर्नुभएको थियो ।
उता, नेकपा एमाले मेचीनगर वडा न ६ को चुनावी अभियान तिव्र रुपमा अघि बढेको छ । उम्मेदवार सहित चुनावी घरदैलो अभियान सुरु गरिएको हो । वडा अध्यक्षका उम्मेदवार बालकृष्ण थापा सहित सदस्य उम्मेदवार को टिम र पाटी नेतृत्व कार्यकर्ता सहित घर दैलो अभियानमा सहभागि रहेका थिए ।
मेचीनगर— ६ भानु टोल आसपास क्षेत्रका अधिकाषं जनताको घर घरमा पुग्दा उम्मेदवार प्रति सत्कार र सदभाव राखेको पाइएको छ । माता तिर्थ औसीको दिन बृद्ध बा आमाको माझमा आशिर्वाद लिदै जनताको समस्या समाधान गर्ने प्रतिबद्धता सहित मत मागेको बताईएको छ ।

























