मेचीनगरमा सुकुम्बासीलाई धनीपुर्जा वितरणका लागि जग्गा नापजाँच सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २१ जेठ: मेचीनगर नगरपालिकाले भूमिविहीन दलित, भूमिविहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई धनीपुर्जा वितरण गर्ने प्रक्रिया सुरु गरेको छ। यसका लागि नगरपालिकाअन्तर्गतको भूमि समस्या समाधान आयोगले आज बुधबारदेखि वडा नम्बर १३ को फुलबारी टोलबाट जग्गा नापजाँचको काम सुरु गरेको छ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जग्गा नापजाँचको उद्घाटन गर्दै निस्सा प्राप्त गरेकाहरूको मेसिनद्वारा जग्गा नापजाँच गरेर धनीपुर्जा दिने तयारी भइरहेको बताए। उनले आगामी साउनसम्ममा यकिन गरिएका सबैलाई धनीपुर्जा वितरण गरिने योजना रहेको दाबी गरे।

कार्यक्रममा नगरपालिकाका भूमि समस्या समाधान आयोगका फोकल पर्सन अनन्तप्रकाश वस्तीले स्वागत मन्तव्य राख्दै १५ वटै वडामा कन्ट्रोल प्वाइन्ट राखिएको र सबै वडामा नापजाँच सकेर आगामी साउनमा धनीपुर्जा वितरण गर्ने लक्ष्य राखिएको जानकारी दिए। नगरपालिकाको योजनाअनुसार, आगामी असार महिनाभित्र निवेदन परेका सबैको नापजाँच सकेर जिल्ला नापी कार्यालयमा सिफारिस गरिनेछ र साउनको पहिलो हप्तादेखि धनीपुर्जा वितरण सुरु गरिनेछ।

वडा नम्बर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य रीता परियार, निवर्तमान कार्यपालिका सदस्य निरु परियार, वडा सदस्य, कर्मचारी लगायत स्थानीय बासिन्दाको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण वडा सचिव पवित्रा वस्नेतले गरेकी थिइन्।

वडा नम्बर १३ मा २३६ जनाको निवेदन नगरपालिकामा प्रविष्ट गरिएको छ। जसमध्ये, भूमिविहीन दलित १३ जना, भूमिविहीन सुकुम्बासी १६० जना र अव्यवस्थित बसोबासी ६३ जना रहेका छन्। आजबाट फुलबारी टोलका २२ वटा घरपरिवारको ७ कठ्ठा जग्गामा नापजाँच सुरु गरिएको छ। यद्यपि, ती २२ जनामध्ये ९ जनाको कागजात पूरा नभएको बताइएको छ।

नापजाँचका लागि भूमि समस्या समाधान आयोग शाखा प्रमुख सर्भेक्षक रामनारायण कुमार शर्मा, अमिनहरू सन्तोष रम्तेल र वेदकुमार यादव प्राविधिक रुपमा खटिएका छन्।

सर्भेक्षक शर्माका अनुसार, भूमिविहीन दलित र भूमिविहीन सुकुम्बासीका हकमा शहरी क्षेत्रमा १३० वर्गमिटर र ग्रामीण क्षेत्रमा ३४० वर्गमिटर क्षेत्रफल जग्गा उपलब्ध हुनेछ। अव्यवस्थित बसोबासीहरूले भने शहरी क्षेत्रमा १३० वर्गमिटर र ग्रामीण क्षेत्रमा एक हजार वर्गमिटर क्षेत्रफलसम्म पाउनेछन्। उनले आवासका लागि १३० र ३४० वर्गमिटरभन्दा बढी जग्गा ओगटेमा तथा १३० र १००० वर्गमिटर ओगटेकाले आवास वा कृषि सबैमा राजस्व तिर्नुपर्ने जानकारी दिए।

मेचीनगर नगरपालिकाभरि ५ हजार १७१ जना भूमिविहीन दलित, भूमिविहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको निवेदन प्रविष्ट भएको छ। यसमध्ये, भूमिविहीन दलित ३१० जना, भूमिविहीन सुकुम्बासी १८६८ जना र अव्यवस्थित बसोबासी २९९३ जना रहेका छन्। यस्तै, एक हजार १४ जनाको कागजात अपुरो रहेको नगरपालिकाले जनाएको छ, जसमा भूमिविहीन दलित १५६ जना, भूमिविहीन सुकुम्बासी २४१ जना र अव्यवस्थित बसोबासी ६१७ जना छन्।

यो अभियानले मेचीनगरका भूमिहीन र अव्यवस्थित बसोबासीहरूको लामो समयदेखिको जग्गाको स्वामित्वको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.