मेचीनगर, भदौ ३०: ‘जेन-जी’ आन्दोलनले तहसनहस बनाएको एक हप्तापछि मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरूले कार्यालय प्रवेश गरी अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेका छन्। आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा करिब ८० जना जनप्रतिनिधिको टोलीले कार्यालयमा प्रवेश गरी जनतालाई कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल गरेको हो।
छलफलमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरू कञ्चनकुमार तामाङ (वडा नं. ९), प्रलादमणि ओली (वडा नं. ७), कृष्णराज सिग्देल (वडा नं. १३), गुणराज भट्टराई ‘राजन’ (वडा नं. १५) लगायत सहभागी थिए।
कार्यालय र जनप्रतिनिधिका घरमा क्षति
आन्दोलनका क्रममा नगरपालिका भवन, वडा कार्यालय र जनप्रतिनिधि तथा कर्मचारीका घरहरूमा समेत ठूलो क्षति पुगेको छ। छलफलमा जनप्रतिनिधिहरूले भौतिक संरचना, विद्युतीय सामग्री र महत्त्वपूर्ण कागजातहरू नष्ट भएकोमा चिन्ता व्यक्त गरेका थिए।
‘देशमा कानुन छ, कानुनको उपाय खोज्छौँ,’ नगरप्रमुख बुढाथोकीले भने, ‘आन्दोलनको राप केही दिनमा हटेपछि पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गर्नेछौँ।’ उनले तत्कालका लागि क्यान्सर पीडित र स्वास्थ्य सेवासम्बन्धी अत्यावश्यक सिफारिसहरू उपलब्ध गराउने जानकारी दिए।
छानबिन र सुरक्षाको माग
उपप्रमुख उप्रेतीले आन्दोलनका नाममा भएको अराजक तोडफोड, आगजनी र लुटपाटका विषयमा छानबिन गर्न पहल गरिने बताइन्। वडाध्यक्षहरूले दिनरात जनताको काममा खटिने जनप्रतिनिधिहरूलाई ज्यान मार्ने धम्की दिनु गलत भएको बताएका छन्। यस क्रममा वडा नम्बर २, ४ र १० का वडाध्यक्षलाई ज्यान मार्ने धम्की आएको समेत जानकारी दिइएको थियो।
नगरपालिकामा भएको क्षति, तोडफोड र आगजनीका सामानहरूको आजैबाट मुचुल्का उठाउने काम सुरु भएको छ। छलफलको सहजीकरण वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए।






















