३० वटा अक्सिजन सिलिण्डरसहित तयार भयो मेचीनगरमा आइसोलेसन सेन्टर

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर , २४ बैशाख | झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । यसअघि ३० बेड क्षमताको आइसोलेशन केन्द्रमा १५ वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको भएपनि थप १५ वटा खरिद गरी ३० वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको छ ।

शुक्रबार नगरपालिका परिसरको कोभिड नियन्त्रण कार्यदलको सचिवलयमा आयोजित सञ्चारकर्मीहरुसँगको भेटघाटमा नगरस्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिका संयोजक एवम् नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले अहिले आइसोलेसन केन्द्रमा एक जना चिकित्सक, दुई जना स्टाफ नर्स र दुई जना सहयोगी स्वास्थ्यकर्मीको व्यवस्था गरेको जानकारी दिनुभयो ।

यदि यस केन्द्रका वेड अपुग भएमा मेचीनगर—१० स्थित आम्दा मेची अस्पताल धुलावारीको माथिल्लो तलामा समेत व्यवस्थितढंगले संक्रमितको उपचार गर्न सकिने गरी तयारी गरिरहेको बताउदैं वेडलगायत अन्य सामग्रीको खरिद प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । उहाँले कोभिड १९ नियन्त्रण तथा रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी कर्मचारीलाई ५० प्रतिशत सेवा सुविधा थप गरिएको स्पष्ट पार्नुभयो ।

स्थानीय सरकारले आफ्नो नगरका कोभिड संक्रमितहरुको सुविधाका लागि घरमै बसेरै अक्सिजन लगाउन मिल्ने सानो खाले अक्सिजनको ब्यवस्था गरेको छ । अहिले नगरपालिकामा एकसय थान सानो खालका अक्सिजन तयारी छ ।

नगरपालिकाले नगरभित्रका संक्रमितहरु जो होम आइसोलेसनमा बसेका उनीहरुका लागि तत्काल चाहिने औषधि तथा साना खाले अक्सिजन ग्यासको व्यवस्था मिलाएको छ । संक्रमितहरुका लागि आवश्यक औषधि नगरपालिकाले स्वास्थ्यकर्मीमार्फत घर घरमै पुर्याउने र श्वास फेर्न कसैलाई गाहे भए तत्काल सानो खालको अक्सिजन ग्यास समेत उपलब्ध गराउने कोभिड नियन्त्रण कार्यदलका संयोजक एवम् सामाजिक विकास समिति संयोजक नविन वरालले जानकारी दिनुभयो ।

उहाँले कोभिड १९ नियन्त्रण तथा संक्रमितहरुको उपचार छिटो र छरितोरुपमा होस भन्ने उद्घेश्यले लागि स्थानीय सरकारले नगरभरि नगरस्तरीय तथा १५ वटै वडामा सम्बन्धित वडाको वडाध्यक्षको संयोजकत्वमा वडा स्तरीय र हरेक टोल विकास संस्थासँग समन्वय र सहकार्य गरेर टोल टोलमा ‘र्यापिट रेस्पोन्स टिम’ खडा गरेको वडानम्बर ४ का वडाध्यक्ष समेत रहनु भएका वरालले जानकारी दिनुभयो । ‘होम आइसोलेशन’मा बसेका कोभिड १९ संक्रमितलाई नगरपालिकाले घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उहाँको भनाई छ । मेचीनगरका सबै वडा स्तरीय स्वास्थ्य चौकी प्रमुखलाई वडागत कोभिड फोकल पर्सन तोकेको मेचीनगर स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताउनुभयो ।

कुनै पनि नगरवासीलाई कोभिड १९ को लक्षण देखा परे उपचार गर्न अस्पताल लैजानु पर्ने भएकाले नगरपालिका परिसरमा दुईवटा एम्बुलेन्स तयारी अवस्था राखिएको र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, दिन विराएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्ने, कसैलाई कुनै अप्ठ्यारो परे तत्काल नगरपालिकामा सम्पर्क गर्न फोकल पर्सनको व्यवस्था गरी सम्पर्क नम्बर समेत सार्वजनिक गरेको, पीपीई सेट, सेनिटाईजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पर्याप्त खरिद गरी सकेको, ८ सय वटा जति भिटिएम मौज्दात राखेको लगायतका विषयमा प्रमुख प्रशाकीय अधिकृत ओझाले जानकारी दिनुभयो ।

कोभिड १९ को दोस्रो लहरले भयावह स्थित निम्तियाउन सक्ने कुरालाई मध्यनजर गरी नगरपालिकाले अत्यावश्यक बाहेकको सवै सेवा स्थगित गरेको सञ्चारकर्मीहरुलाई उहाँले जानकारी गराउनुभयो । कोभिड १९ संक्रमण समुदायस्तरमा देखिएका कारण संक्रमण नियन्त्रणका लागि नगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सम्बन्धी कार्य, क्वारेन्टाइन र उपचार सेवा सम्बन्धी कार्य, सरसफाई लगायत बाहेकका अन्य नियमित सेवाहरु बन्द गरिएको बताउनुभयो ।
‘स्थानीय सरकार कोभिड नियन्त्रण र संक्रमितहरुको उपचारका लागि वडा स्तरीय आपतकालिन उद्धार समिति निर्माण गर्न देखि आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियासम्मका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेका छ’ प्रमुख प्रशासकीय अधिकृत ओझाले भन्नुभयो—‘यसअघि ३० बेडको आइसोलेशन केन्द्रमा १५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा थियो अहिले पुनः १५ वटा सिलिण्डर खरिद गरीसकेको छ । ’

मेचीनगरको आइसोलेशन केन्द्रमा बस्ने सबै संक्रमितले सहजरुपमा अक्सिजन सुविधा प्राप्त गर्न सक्नेछन् । यतिले पनि नपुगे नगरपालिकाले थप खरीद गर्ने उहाँको भनाई छ । शुक्रबारै नगरपालिका भित्र सञ्चालनमा रहेको सबै एम्बुलेन्सका चालक, सर्पदंश उपचार केन्द्र र आम्दा मेची अस्पताल धुलावारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको छ । मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओझा, सामाजिक विकास समिति संयोजक वराल, नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीलगायतले ती सामग्री प्रदान गर्नुभएको थियो ।

यसैवीच झापा मेचीनगर नगरपालिका वडा नम्बर १५ का अध्यक्ष गुणराज भटट्ट्टराई (राजन) को पीसीआर परिणाम पोजेटिभ आएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा बुधबार साँझ भट्टराइ दम्पतिको स्वाव परीक्षण गरिएको थियो । तर, आफ्नो पीसीआर परिणाम पोजेटिभ आएको वडाध्यक्ष भट्टराईले बताउनुभयो । श्रीमतीको भने नेगेटिभ आएको वडाध्यक्ष भट्टराईले बताउनुभयो । वडाध्यक्ष भट्टराई अहिले होम आइसोलेशनमा बस्नुभएको छ । ‘श्रीमतीलाई रुघाखोकी धेरै लागेपछि पीसीआर परीक्षणका लागि बुधवार हामी दुवैजना मेची अस्पताल भद्रपुर गएका थियौँ’, वडाध्यक्ष भट्टराईले भन्नुभयो–‘विहीबार मेरोचाहिँ रिपोर्ट पोजेटिभ आएको थियो । तर, श्रीमतीजीको नेगेटिभ आयौँ ।’

मेचीनगरमा कोभिड १९ संक्रमितको संख्या १ सय ४ पुगेको र महिला र पुरुष एक/एक गरी दुईजनाको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.