📌 मुख्य बुँदाहरू:
- प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा स्नान गरी नरक चतुर्दशी पर्व मनाइएको छ।
- स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन्।
- शास्त्रीय मान्यता अनुसार आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने विश्वास रहिआएको छ।
- तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान विधिपूर्वक गरिएको छ। यस पर्वलाई बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत चिनिने गरिन्छ।
स्नानपछि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाएका छन्। प्रा तोयराज नेपालका अनुसार आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ। आजै कुकुरको पूजा गरी मीठा कुरा खान दिने परम्परासमेत रहेको छ भने बेलुकीपछि औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिनेछ।
तिथिको घटबढले तेस्रो दिन परेको पर्व
कुकुर तिहार र नरक चतुर्दशी सामान्यतया यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको हो।
यसअघि गत कात्तिक २० गते शुक्रबारदेखि यमपञ्चक सुरु भएको थियो भने दोस्रो दिन शनिबार काग तिहार र धनवन्तरी जयन्ती पर्व मनाइएको थियो।




















