काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्डले आजै नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको हो।
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, आज राति ८ बजे पत्रकार सम्मेलन गरी नतिजाको औपचारिक घोषणा गरिनेछ भने विद्यार्थीहरूले राति ९ बजेदेखि आफ्नो नतिजा हेर्न सक्नेछन्। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले विगतका वर्षहरू भन्दा छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।
गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। लिङ्गका आधारमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य परीक्षार्थी सहभागी छन्।



















