२४ साउन, मेचीनगर : शुरुदेखि नै आफ्ना नगरवासीलाई कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउदैं आएको मेचीनगर नगरपालिकाले आइतबार नगरभरिका उद्योगी व्यवसायी र साना सवारी चालकलाई ८ सय बढी कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराएको छ ।
नगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग वाणिज्य संघ मेचीनगरको संयोजनमा मेचीनगर नगरपालिकाद्वारा आयोजित नगरभरिका उद्योगी व्यवसायी र सिटी सफारी तथा अटोका चालकहरुलाई समेत लक्षित गरेर कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रममा ८ सय बढीले भ्याक्सिन लगाएको मेची उद्योग वाणिज्य संघका सदस्य उमेश सुवेदीले जानकारी दिनुभयो ।

नगरपालिका र मेची उद्योग वाणिज्य संघले भ्याक्सिन लगाउन आउनेका लागि सुविधा होस भने खोप परिसर मेचीनगर—१० धुलावारीस्थित आम्दा मेची अस्पतालको खुला ठाउँमा सुविधा सम्पन्न पालको व्यवस्था गरेको संघका सदस्य भूमि पौडेलले बताउनुभयो । सदस्य पौडेलका अनुसार खोप कार्यक्रममा अनावश्यक भीडभाड नहोस भनेर एकदिन अघि खोप लगाउन आउने व्यक्तिहरुको विवरण संकलन गरिएको थियो ।
संघको संयोजनमा मेचीनगर नगरपालिकाले नगरक्षेत्रका उद्योग , व्यवसायक्षेत्रको अग्रभागमा काम गर्ने उद्योगी, व्यवसायी, मजदुरहरुका लागि कोभिड १९ विरुद्घको अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन भ्याक्सिन खोप प्राप्त गर्न नगरपालिकाले तोकेको क्षेत्रगत मापदण्ड भित्रकालाई मात्र भ्याक्सिन लगाईएको संघका सचिव रविचन्द्र नेपालले बताउनुभयो ।
स्थानीय सरकार मेचीनगर नगरपालिकाले नगरभरिका उद्योगी व्यवसायी र साना सवारी चालकलाइ सहजरुपमा भ्याक्सिन उपलब्ध गराएको भन्दैं सर्वसाधारणले नगरपालिकाको प्रशंसा गरेका थिए । नगरप्रमुख विमल आचार्यले नगरभिका हरेक नगरवासीलाई सहजरुपमा भ्याक्सिन उपलब्ध गराउने बताउनुभएको छ । क्रमशः सवैलाई खोप लगाउने उहाँको भनाई छ । नेपाल सरकारले कोभिड १९ बिरुद्धको खोप लगाउने अभियान शुरु गरेदेखि नै स्थानीय सरकार मेचीनगर नगरपालिकाले खोपलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।
कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि आफै खोप ल्याउने तयारी गरेको थियो । कोभिड १९ का कारण कुनै पनि नगरवासीले मृत्युवरण गर्न बाँध्य हुनु नपरोस भनेर नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आफ्नै स्रोतबाट खोप किन्न स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमति माग समेत गरेको थियो । स्थानीय तहले खोप किन्न पाउने व्यवस्था संघीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले संघीय सरकारसँग यस्तो माग गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीको भनाई छ ।
नगरपालिकाबाट पहिलो डोज लिएका धेरैले दोस्रो डोज लिन नपाएका कारण नगरपालिकाले आफैं खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । सरकारले खोप खरिद गरेर दिन नसक्ने अवस्था सिर्जना हुने हो भने नगरपालिका स्थानीय सरकार खोप खरिद गर्न तयार रहेको नगरपालिकाले जनाएको थियो । अहिले पनि नगरमा खोपको कमि आउन नदिने नगरप्रमुख आचार्यको भनाई छ । अहिले कोभिसिल्ड, भेरोसिल र जन्सन एण्ड जन्सन भ्याक्सिन नगरवासीलाई लगाईरहेको छ ।