मेचीनगर, २४ बैशाख | हतारमा ऐन बनाउने तर, कार्यान्वयन पक्ष फितलो हुने गरेका कारण नेपालका थुप्रै ऐन कागतमामात्र सिमीत बनेका छन् । यस्तै कागतमा मात्र सिमीत बनेको एउटा ऐन हो, उपभोक्ता अधिकार ऐन । उपभोक्ता अधिकार ऐनमा हरेक व्यवसायीले उपभोग्य सामाग्रीको मूल्यसूची अनिवार्य राख्नु पर्ने उल्लेख छ ।
ऐनले यस्तो कुरा बोलेको भए पनि झापाको मेचीनगरमा चाँहि ठीक उल्टो छ । झापाको मेचीनगरको प्रमुख व्यपारिक केन्द्र काँकरभिट्टा, धुलावारी चारआली लगायतका अधिकाँश पसलमा यो ऐन कार्यान्वयनमा छैन् । वा अधिकााश पसलमा मूल्यसूची नराख्ने गरिएको अनुगमनका क्रममा फेला परेको छ । कोभिड १९ संक्रमणको समयमा बजारमा खाद्य सहित अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन र निषेधाज्ञाका समयमा बजारमा हुने कालोवजारी र खाद्य सामग्रीको मुल्य बृद्घि नियन्त्रण गर्न शुक्रबार मेचीनगरमा बजार अनुगमन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय झापाले नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण रोक्न र फैलिन नदिन आइतबार मध्यरातदेखि निषेधाज्ञा घोषणा गरेको छ । त्यस बखत हुनसक्ने काला बजारी, खाद्यसहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव र मुल्य बृद्घि नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको भनाई छ ।

टोलीले अनुगमनका क्रममा अधिकाँश पसलमा मूल्यसूची नभेटेपछि तत्काल मूल्यसुची राख्न र दैनिक ‘अपडेट’ गर्न र त्यसका सञ्चालकहरुलाई तत्काल सम्बन्धित कार्यालयमा सम्पर्कका लागि पत्र काटेको, प्रत्येक खाद्य पदार्थको उत्पादन मिति, ‘एक्सपायर डेट’ लेवल हेरेर खरीद विक्री गर्न , खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन सुझाँव दिइएको टोलीमा संलग्न मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

टोलीले पौडेल किराना पसल, विजय किराना पसल, शान्ति स्टोर्स मास भेराइटिज स्टोस, घिमिरे किराना पसललगायतको अनुगमन गरेको थियो ।
























