
कुनै बेला एकजना युवा एउटा ढोकाबाट अर्को ढोकासम्म सामान बेच्ने काम गथ्र्यो । एकदिन उसको कुनै पनि सामान विक्री भएन, सामान विक्री नहुनाले ऊ भोकै पर्यो । त्यसपछि उसले मनमनै के सोच्यो भने अब जुन ढोकामा पग्छु, त्यहीं केही खानेकुरा माग्नेछु । एउटा घरमा पुग्यो र ढोका ढकढक्यायो । एउटी युवतीले ढोका खोलिन् । युवतीलाई देखेर युवा आत्तियो र तिर्खा लागेको जाहेर गर्यो । युवालाई देखेर युवतीले उसलाई भोक लागेको बुझिसकेकी थिइन् । त्यसैले उनले पानीको सट्टा एक गिलास दुध ल्याएर
दिइन् । युवाले विस्तारै सबै दुध तनक्क पार्यो र कति रुपियाँ दिउँ भनेर सोध्यो । युवतीले भनिन्, के को पैसा ? आमाले मलाई जब कुनै मानिसलाई सहयोग गर्नुपर्ने हुन्छ, त्यहाँ पैसाको कुनै मूल्य हुदैन भनेर सिकाउँनु भएको छ । “त्यसो भए म तपाईंलाई दिलैदेखि धन्यवाद दिन चाहन्छु,” युवाले भन्यो र घरबाट बाहिरियो ।
त्यसको केही वर्षपछि युवती निकै विरामी परिन् । स्थानीय डाक्टरले उनलाई सहरमा गएर उपचार गर्न सुझाव दिए । सहरमा उपचार चल्दै गर्दा उनको उपचार गर्न विशेषज्ञ डाक्टर होवार्ड केल्लीलाई बोलाइयो । जब उनले विरामी युवतीलाई हेरे उनको मुहारमा उज्यालोपन देखियो । डाक्टरले उनलाई चिन्न गाह्रो परेन । त्यसपछि डाक्टरले मनमा के अठोट गरे भने जसरी भएपनि युवतीलाई निको पार्नु पर्छ, नभन्दै उनले ती युवतीको उपचार गरेर निको पार्न सफल भए ।
डाक्टरले अस्पतालको रकम भुक्तानी गर्ने ठाउँमा गइ ती युवतीको उपचारमा लागेको खर्च लिएर त्यसको पछाडिको कुनामा एउटा नोट लेखिदिए र ती युवती समक्ष पठाइदिन आग्रह गरे । यवती अस्पतालको विल देखेर आत्तिइन्, उनलाई थाहा थियो कि रोगबाट त उनी जोगिइन् तर विल तिर्ने सामथ्र्य उनमा छैन । विस्तारै उनी त्यो सबै हेर्दै थिइन् कि पछाडि लेखिएको नोटमा लेखिएको थियो, ‘एक गिलास दुधद्वारा यो विलको भुक्तान गरिसकिएको छ ।’ तल डाक्टर केल्लीको हस्ताक्षर थियो । खुसी र अचम्मले युवतीका आँखा रसाए । अचानक उनको ओठ सलबलायो । उनी फुसफुसाइन् पृथ्वीमा अझै मानवता मरिसकेको छैन । मानवता कुनै न कुनै रुपमा तपाईको ढोकासम्म आइपुग्छ ।
(नेपाली साहित्यका विविध विधामा कलम चलाउने रिजाल पेशाले शिक्षक हुनुहुन्छ)


























