काठमाडौँ । प्रदेश १ का तीन मन्त्रीले राजिनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वासले राजिनामा दिएका हुन् ।
यस अघि शनिबार मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोलाई बर्खास्त गरेका थिए ।
केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेशहरुमा पनि देखिन थालेको छ ।
यस अघि बागमती प्रदेशमा नेकपा प्रचण्ड–नेपाल समुहले अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ ।
प्रदेश १ मा मुख्यमन्त्री रहेका शेरधन राई ओली पक्षका नेता हुन् । प्रदेश १ मा कुल ९३ प्रदेश सिट मध्ये नेकपाका ६७ सिट रहेका छन् । ६७ सिट मध्ये ४२ सिट प्रचण्ड-नेपाल पक्षका छन् भने ओली पक्षका केवल २१ सिट रहेका छन् । जसमा ४ जनाले आफ्नो पक्ष अझै खोलेका छैनन् ।
त्यस्तै यस प्रदेशमा काँग्रेसका २१ सांसद छन् भने जनता समाजवादीका ३, राप्रपाको एक र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मंचको एक सिट रहेको छ ।
