७ भदौ, बाहुनडाँगी : मानव सेवा आश्रमले वि.स. २०८२ साल भित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुको उद्धार गरी सडक मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य पुरा गर्न देशका विभिन्न ठाउँमा मानव सेवा आश्रम सञ्चालन गरिरहेको छ । यो लक्ष्य पुरा गर्न मानव सेवा आश्रमका अभियन्ताहरु तीब्ररुपमा लागिरहेका छन् ।
यसै,क्रममा सहयोगापेक्षी सडक आश्रित मानवलाई उद्धार गरेर आश्रय दिने उद्देश्यले मेचीनगर नगरपालिका–४ आमडाँगीमा मानव सेवा आश्रमले एक करोड रुपैयाँको लगानीमा निर्माण गरेको भवन अनौपचारिकरुपमा सञ्चालनमा ल्याएको मानव सेवा आश्रमका अभियन्ता होमनाथ तिम्सिनाले जानकारी दिनुभयो । आश्रमको केही दिनमा औपचारिकरुपमा समुदघाटन गर्ने तयारी छ । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवास गर्न भवन निर्माणका लागि मेचीनगर —४ आमडाँगीका मानवकारी दाता परिवार रामबहादुर प्रधान श्रीमतीहरु पूर्णमाया प्रधान र लक्ष्मी प्रधानले निःशुल्क प्रदान गरेको सवा दुई विगाह जमिनमध्ये दश कठ्ठा जमिनमा आश्रम भवन निर्माण गरिएको हो ।
आश्रम निर्माणका लागि मेचीनगर नगरपालिकाले २५ लाख रुपैया बजेट विनियोजन गरेको नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । मेचीनगर नगरपालिकाको संयोजनमा कनकाई नगरपालिकामा बसेको पालिकाका प्रमुख ÷अध्यक्षहरुको बैठकबाट जिल्लाका कनकाई, भद्रपुर, विर्तामोड, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालगायतले पनि यस कार्यमा सहकार्य गर्न केही बजेट समेत बिनियोजन गरिसकेको बताइएको छ ।
हाल आश्रममा २१ जना सडक आश्रित मानव राखिएको छ । विहिबारमात्र मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक आश्रित मानवको उद्धार गरीएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलीले मेचीनगर क्षेत्रमा बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा बस्दैं आएका सहयोगापेक्षी सडक आश्रित मानवलाई उद्धार गरेर आश्रम पुर्याईएको हो ।
मेचीनगर —७ मदनबस्तीका कृष्ण राजवंशी, इलाम बरबोटेका तुलसी गौतम र ठेगान नखुलेका चत्रुधन मिश्रालाई मदनबस्ती र काँकरभिट्टाबाट उद्धार गरी नगरप्रमुख, उपप्रमुखसहित मानव सेवा आश्रमका अभियन्ता होमनाथ तिमल्सिनासहितको नेतृत्वमा रहेको मानव सेवा आश्रमका टोलीले मानव सेवा आश्रम मेचीनगर —४ आमडाँगीमा ल्याईएको थियो । नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेतीसहितको टोलीले उद्धार गरिएका तीनैजनासहित २१ जनालाई रात्री भोजन गराएको थियो । नगर प्रमुख बुढाथोकीले मानव सेवा प्रवद्र्धन कार्य गरेकोमा दाता परिवारले पूण्यको काम गरेको चर्चा गर्दै छोरा छोरीले वृद्ध आमा—बुबालाई बृद्धाश्रममा पठाउने कार्य बन्द गर्न आग्रह समेत गर्नुभयो ।
प्राप्त जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक थप भवन निर्माण गर्न झापा जिल्लाका सवै पालिकाहरुसँग समन्वय गरीएको नगर प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । उहाँले आफ्नो नगरमा सडक मानवविहीन तुल्याई उनीहरुलाई ‘न्यानो ओछ्यानसहित भोको पेट विहीन’ बनाउन सरकार आफ्नो कर्तव्यमा अडिग रहेको धारणा व्यक्त गर्नुभयो ।
यस्तो महान कार्यमा स्थानीय सरकारको साथ सहयोग सधै रहने उहाँले प्रतिवद्घता समेत व्यक्त गर्नुभयो । उहाँले मेचीनगरलाई सडक मानवमुक्त बनाउने अभियानलाई निरन्तर सहयोग गरिने बताउनुभयो । अशक्त, असहाय मानिसको उद्धारले मानव सभ्यताको सकारात्मक सन्देश समाजमा फैंलिँदा सडकमा मागेर जीविकोपार्जन कार्यको अन्त्य हुने नगर प्रमुख बुढाथोकीले विश्वास व्यक्त गर्नुभयो ।
प्रधान परिवारले मानवीय कार्यको लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गरेको बताउँदै उपप्रमुख उप्रेतीले मानव सेवाले शुरु गरेको आश्रमका लागि स्थानीय सरकारको साथ सहयोग रहने बताउनुभयो । उहाँले पवित्र उद्धेश्यले मानव सेवाका लागि स्थापना गरिएको मेचीनगर आश्रममा खाद्यान्न, जिन्सी तथा नगद सहयोग गर्न सकिने बताउनुभयो । मानिसको सवैभन्दा ठूलो धर्म सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारिरीकरुपमा कमजोर) सडकआश्रित मानवहरुको सेवा नै भएको उपप्रमुख उप्रेतीले बताउनुभयो ।
महान कार्यमा जोडिन पाउँदा आफुलाई धेरै खुशी लागेको धारणा उहाँले व्यक्त गर्नुभयो । यस्तो महान कार्यमा सवैको हातेमालो आवश्यक रहेको, रोग र भोगसँग लडिरहेका मानवको उद्घार गरी नाना खाना दिनु मानवजातिको कर्तव्य भएको उहाँले औल्याउँनुभयो । सोही स्थानमै करिब दुई सय जना अटाउने क्षमताको भविष्यमा आश्रमका लागि भवन निर्माण गर्ने तयारी समेत रहेको छ । पहिलो चरणमा करिब ५० जना सहयोगापेक्षी तथा बेसहारा सडक मानवहरुलाई आश्रयका लागि आवास र भान्सा भवनको निर्माण गरेको छ । मेचीनगरमा आश्रम अनौपचारिकरुपमा सञ्चालनमा आएसँगै झापा, इलामबाट उद्धार गरिएका असहाय, बेसहारा सहयोगापेक्षी सडक आश्रित मानवलाई राखिने बताईएको छ ।
विगतमा जिल्लाबाट उद्धार गरिएकाहरुलाई विराटनगरस्थित आश्रममा राखिने गरिएको थियो । देशका विभिन्न स्थानमा सञ्चालन रहेका आश्रममध्ये मेचीनगरमा निर्मित २३ औं शाखा रहेको अभियन्ता तिम्सिनाले जानकारी दिनभुयो ।
झण्डै एकवर्षअघिमात्र मानव सेवा आश्रमले पूर्वीद्वार काँकरभिट्टा बाट ‘मेची महाकाली सडक मानव उद्धार यात्रा २०८० ’ समेत गरेको थियो । आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमको सहकार्यमा मुलुकका ४६ जिल्लामा यात्रामा गरेर सहयोगापेक्षी सडक मानवहरुको उद्धार गरेर विभिन्न आश्रममा राखिएको बताइएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्नु नपरोस् सडकपेटीमा’ भन्ने भावनाका साथ आयोजित सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारिरीकरुपमा कमजोर) सडकआश्रित मानवहरुको राष्ट्रिय उद्घारका लागि शुरु भएको मेची महाकाली यात्रा २०८० मंसिर ४ गते काठमाण्डौंमा समापन भएको थियो ।


























