१५, कात्तिक मेचीनगर : उद्योगी व्यवसायीहरुले आफ्नो नेता आफै चुन्छन् । वनका उपभोक्ताले पनि त्यसै गर्छन् । खानेपानी उपभोक्ताहरुले आफ्नो नेता आफै छान्छन्, अनि विभिन्न दलमा आवद्घ कार्यकर्ताहरुले आफ्नो नेतालाई आफै भोट हाल्छन् । हो सोमबार झापाको मेचीनगर –६ काँकरभिट्टामा रहेको अरुणोदय आवासीय माध्यमिक विद्यालयका कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले पनि आफ्नो नेता आफै छाने, अरुणोदय आवासीय माध्यमिक विद्यालयको कप्तान निर्वाचन –२०७८ ले आम निर्वाचनकै झल्को दिन्थ्यो ।
कोहि मतपत्र बोकेर मतदान गर्न लामबद्घ थिए, भने कोही मतपत्रमा आफुले रोजेका उम्मेद्वारलाई मतदान गरी मतपत्र पट्टयाएर मतपेटिकामा खसाउदैं गरेको दृश्यले साच्चै नै आम निर्वाचनकै झल्को दिन्थ्यो । उम्म्ेद्वारहरु आफ्नो नाम र पद झल्किने ठुल्ठुला पोस्टर घाँटीमा भिरेर हात जोड्दै भोट मागेको दृश्यले निर्वाचनतर्फ सर्वसाधारणको आर्कषण बढाएको थियो ।
मतदानलाई पारदर्शी र विवादरहित बनाउन मतदान स्थलमा मतदान अधिकृत कृष्णप्रसाद पोखरेल निक्कै सक्रियपूर्वक खटिनुभएको दृश्य त झनै लोभ लाग्दो थियो । उहाँलाइ साथ दिनुभएको थियो सहायक मतदान अधिकृतहरु सुनिता चौधरी, वर्षा सुवेदी र चिरञ्जिवी भट्टराईले । विद्यालयले निर्वाचनको प्रमुख आयुक्तको जिम्मेवारीमा राजकुमार विश्वकर्मालाई नियुक्ती गरेको थियो । अनि निर्वाचन सहित सबैको सुरक्षाको जिम्मेवारी लिइएको थियो सोही विद्यालयको अरुणोदय स्काउट दलले । स्काउट सविना ढुङ्गानाको नेतृत्वमा रहेको २० सदस्यीय स्काउट टोलीले मतदान स्थल, मतपेटिका, मतदाता सहित कर्मचारीहरुको सुरक्षा दिईरहेको थियो ।
मतदाताको नाम रुजु गर्ने जिम्मा विद्यालयका शिक्षक शिक्षिका वा सहायक मतदान अधिकृतहरुलाई दिएको थियो । छात्रतर्फ कप्तान र उप —कप्तान एक/एक तथा छात्रातर्फ उप —कप्तान एक गरी कुल तीन पदका लागि नौ जना चुनावी मैदानमा उत्रिएका थिए । प्रत्येक वर्ष ठुलै तामझाम र तयारीका साथ कप्तान छनौटका लागि सो विद्यालयले यसरी नै निर्वाचन गराउँदै आएको विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर लुइटेलले बताउनुभयो । उम्मेद्वारी दिनेदेखि भोट माग्नेसम्मका गतिविधिहरुमा उम्मेद्वार र मतदाता विद्यार्थीहरु सहभागी थिए ।
विद्यालयले विद्यार्थीहरुमा सानैदेखि नेतृत्वदायी भूमिकाको विकास गराउँन भन्दै कप्तान छनौटका लागि हरेक वर्ष निर्वाचन गराउँदै आएको प्रिन्सिपल लुइटेलको भनाई छ ।
निर्वाचन हुनु अघि विद्यालयले मतदाता शिक्षा कार्यक्रम सम्पन्न गर्छ । त्यसमा मतदान कसरी गर्ने ? कहाँ छाप लगाउने ? के गर्दा सदर हुन्छ ? के गर्दा बदर हुन्छ ? आदि सबै कुराका बारेमा विद्यालयले मतदाता शिक्षा कार्यक्रम गर्ने गर्दछ । राष्ट्रिय निर्वाचनकै सम्पूर्ण आचारसंहितासहित सबै किसिमका तयारीहरु गरिन्छ यो निर्वाचनमा पनि । यसले विद्यार्थीहरुलाई विभिन्न भूमिका र जिम्मेवारी त दिन्छ नै साथमा नैतिक पाठसमेत सिक्न मद्घत पुग्ने निर्वाचनको पर्यवेक्षकको भूमिकामा रहनु भएका इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालको प्रतिक्रिया थियो ।
प्रहरी नायव उपरीक्षक दाहालसहित सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टाका बिओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, प्रेस क्लब मेचीनगर अध्यक्ष लक्ष्मी उप्रेती, नेपाल एसोशिएसन अफ टुर एण्ट ट्राभल एजेण्ट्स नाटा १ नम्बर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ, महिला जनचेतना केन्द्रका अध्यक्ष भूवन सुब्बा, रोटरी क्लब अफ काँकरभिट्टा, वर्ष २०२२–२३ का अध्यक्ष सुजन प्रधान, अरुणोदय आवासीय माध्यमिक विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष एवम् काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुली पर्यवेक्षकको भूमिकामा हुनुहुन्थयो ।
मतदानमा कोभिड १९ को संक्रमण रोकथामको स्वास्थ्य सम्बन्धी प्रोटोकल र नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन ढाँचा २०७८ को नियममा रहेर निर्वाचन गराइएको प्रमुख मतदान अधिकृत पोखरेलले बताउनुभयो ।
मतदानको अन्तिम मत परिणाम अनुसार छात्रतर्फ कप्तानमा १ सय १४ मत प्राप्त गरी सुवर्ण लिम्बु निर्वाचित हुनुभयो । यसैगरी उप—कप्तानमा उत्सव पराजुली १ सय ११ मत प्राप्त गदैं विजयी हुनुभयो भने छात्रातर्फ उप—कप्तानमा अनुष्का पौंडेल ६३ मत सहित विजयी हुनुभएको सहायक मतदान अधिकृत सुनिता चौधरीले जानकारी दिनुभयो । एकवर्षे कार्यकालका लागि कप्तानले सम्पूर्ण विद्यार्थीहरुको नेतृत्व गर्ने अवसर पाउँछ । कुल मतदाता संख्या ४ सय १८ भए पनि ३ सय ८० जना मतदानमा सहभागी भएका थिए । १७ मत बदर भएको थियो ।
यो निर्वाचनले विद्यार्थीहरुमा प्रतिनिधि छनौट गर्ने लोकतान्त्रिक पद्दतिको अभ्यासको सन्देश प्रवाह गरेको पर्यवेक्षक सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टाका बिओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईको भनाई छ । विद्यालयले प्रत्येक वर्ष कप्तान छनौट गर्न चुनाव गर्दा अहिले मतदानमा सहभागीहरुलाई भविष्यमा हुने राष्ट्रिय निर्वाचनमा सहभागी हुन सजिलो हुने उहाँको भनाई छ । विद्यालयहरुले पढाईका अतिरिक्त व्यवहारिक ज्ञान र प्रयोगात्मक कार्यहरुमा आफुलाई उभ्याउँदै लैजानुपर्ने महिला जनचेतना केन्द्रका अध्यक्ष एवम् काँकरभिट्टा माविका पूर्व सहायक प्रधानध्यापक भूवन सुब्बाको सुझाँव छ ।
व्यवहारिक शिक्षामा जोड दिदैं युग सुहाउँदो शिक्षा पस्कन सक्नु हरेक विद्यालयका दायित्व भएको नेपाल एसोशिएसन अफ टुर एण्ट ट्राभल एजेण्ट्स नाटा १ नम्बर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ । विद्यालयहरुले नयाँनयाँ तरिका र नीति अवलम्बन गर्न थालेकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।






















